नरैनापुरका सबै कोरोना जितेर घर फर्किए


तस्विर : सिराज खान

नेपालगन्ज ३१ जेठ :  कोरोनाको हटस्पट बनेको बाँकेको नरैनापुरका सबै संक्रमित निको भएर घर फर्किएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार, १ सय १८ जना संक्रमित नेगेटिभ रिजल्ट आएपछि घर फर्किएका हुन ।

नरैनापुरमा कोरोनाका कारण एक युवकले क्वारेन्टाइनमै ज्यान गुमाउनुपरेको थियो । कोरोनाले समस्याग्रस्त बनेको गाउँमा खुसियाली छाएको छ । संक्रमण निको भएर युवा गाउँमा फर्कदा भने स्थानीयमा नयाँ उत्साह थियो ।

भारतबाट धेरै नागरिक गाउँ फर्किएपछि त्यहाँ कोरोनाको कहर शुरु भएको थियो । भारतको महाराष्ट्रमा पुगेका धेरै जना नेपालीहरु धमाधम घर फर्किएपछि नरैनापुरमा कोरोनाको हटस्पट बनेको हो।
राज्यको ठूलो शक्ति नेपालगञ्जको मुख्य नाकामा केन्द्रित भएका बेला जिल्लाको भूगोल बुझेका मानिसहरुले पूर्वको यो नाका प्रयोग गरिरहेका थिए ।

नरैनापुरको छोटी नाकाबाट भित्रिन सहज माने । बाँके प्रहरीले रातीमा गस्तीसमेत बढाएर भारतबाट आउनेलाई चोरी नाकाबाट आउन नदिने रणनीति त बनाएको छ। तर, ‘आँगन’ नै दशगजा रहेको यो पालिकाको धेरै गाउँबाट मानिसहरु प्रवेश गरे । धेरै गाउँहरु पारी भारतीय गाउँ, वारी नेपाली गाउँ छन्। बीचको आँगनले देश छुट्याएको छ। त्यसमा भारतीय प्रहरीले सहजै आउन दिएपछि नेपालीलाई घर फर्किन सजिलो भएको थियो ।

गाउँपालिकाले लुकिछिपी गाउँमा कोही नबसून्, पहिला क्वारेन्टाइनमा बसुन् भन्ने नीति लिएर भारतबाट आएकालाई भ्याएसम्म क्वारेन्टाइनमा राखेको थियो ।

जिल्लाको पूर्वी दक्षिण यो पालिकाबाट ठूलो संख्याका मानिस भारतमा रोजीरोटीका लागि पुग्ने गर्दछन्। प्रायः कारोबार भारतीय बजारमा नै हुन्छ। कोरोनाको शुरुवाती चरणमा नेपालगञ्जको वडा नं. ८ हटस्पट बनेपनि अहिले आएर यो पालिका अगाडि आएको छ।

प्रकाशित मितिः     ३१ जेष्ठ २०७७, शनिबार ११:५७  |