घरभाडादेखि अन्य सहुलियत घोषणा गर्न बाँकेका होटल व्यवसायीको माग


नेपालगन्ज ३१ जेठ : बाँकेका होटल व्यवसायीले होटल सञ्चालनको वातावरण बनाउन माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै होटल व्यवसायीहरुले असार १ गतेदेखि होटल, व्यवसाय सञ्चालनको वातावरण बनाउनका लागि आग्रह गरेका हुन् ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले भ्रमण बर्ष मनाउनका लागि होटल तथा पर्यटन क्षेत्रमा ठूलो लगानी भएको अवस्था र हालको प्रतिकुलताले बैंक ब्याज, घरभाडा नै बुझाउन नसक्ने अवस्थामा होटल व्यवसायी पुगेकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष कंडेल र सचिव प्रेम बहादुर शाहले बुझाएको ज्ञापनपत्रमा लकडाउन अवधीको विद्युतमा लगाउने डिमाण्ड चार्ज छुट गर्न माग गरिएको छ ।

घरबहाल सम्बन्धमा, कोरोना भाइरसका कारणले व्यापार व्यवसाय बन्द रहेकोले लकडाउन समय अवधि भर नेपाल सरकारले न्यायीक तरीकाले छलफल गरी घर बहाल पुर्ण छुट गर्न यथासिघ्र सम्बोधन गर्न ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्रमा पर्यटकीय क्षेत्रलाई पुन ताजाकीय बनाउन नेपाल सरकारले २ वर्षको बिशेष प्याकेज तयार पारी राहत उपलब्ध गराउन माग गरिएको छ । कृषि क्षेत्रमा गरिएको लगानी जस्तै पर्यटकीय क्षेत्रमा पनि अनुदानको व्यवस्था र निम्नतम व्याजमा ऋण प्रवाह गर्न माग गरिएको अध्यक्ष कंडेलले बताएका छन् ।

‘पर्यटकीय क्षेत्रका हामी हेटल व्यवसायीहरुको आर्थिक बर्ष २०७६/०७७ को आन्तरिक राजस्व कार्यालय र स्थानीय निकायमा दाखिला गर्नुपर्ने सबै प्रकारका करहरु छुट गरि प्रमाण पत्र नविकरणको व्यवस्था मिलाइयोस्’, संघले ज्ञापनपत्रमा भनेको छ ।

‘लकडाउनले अस्तव्यस्त पारिएका होटलहरु निश्चित निती निर्देशन नियमावली तर्जुमा गरि होटल सञ्चालनको वातावरण तयार गरियोस्’, संघले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । ‘कोभिड–१९ का कारण बाट होटल व्यवसाय पुर्ण रुपमा बन्द भएकोले धेरै मजदुर कर्मचारीको रोजीरोटी गुम्ने अवस्था सृजना भएकाले उनीहरुलाई सरकारले उचित व्यस्था मिलाउन माग गर्दछौ’, ज्ञापनपत्रमा भनिएको छ । व्यवसायीहरुले होटल, व्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी र सुरक्षाको उपायहरु अवलम्वन गरिने पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया

प्रकाशित मितिः     ३१ जेष्ठ २०७७, शनिबार १३:४९  |