चिनियाँ उत्पादन बहिस्कार अभियान, तर भारतलाई सहज छैन


काठमाडौं। गलवानमा भएको झडपपछि एशियाका दुई महाशक्ति राष्ट्र चीन र भारतबीच तनाव बढ्ने आशंका भइरहेको छ।

सीमाको विवादमा भएको झडपमा भारतलाई क्षति भएपछि चीन विरोधी भावना बढेको छ। भारतीय टेलिभिजन च्यानलहरू हेर्ने हो भने अब भारत पूरै चीनविरोधी भएर जान्छ भन्नेमा केन्द्रित छ। उसका उत्पादन बहिस्कार गर्नुपर्छ भन्ने समाचारलाई बढावा दिइएको छ।

दुई दसकयता भारतको उत्पादनमूलक उद्योगका लागि चिनियाँ कच्चा पदार्थमाथिको निर्भरताको अवस्था केलाउने हो भने जसले जतिसुकै भड्काए पनि भारत चीनसँगको व्यापार घटाउन सक्ने अवस्थामा छैन।

डोनाल्ड ट्रम्प सत्तामा आएयता नै अमेरिकी नीति चीनको विपक्षमा छ। अमेरिकाले चिनियाँ सामानमा कर बढाउनेदेखि आपसी व्यापारमा चीनलाई सजिलो बाटो नदिन अनेक यत्न गरेको छ। तर चीनलाई व्यापार नीतिमा अमेरिकाले पछि पार्न सकेको छैन। कोभिड-१९ चीनबाट सुरु भएको देखियो। लामो समय नबित्दै संक्रमण र मृत्युदर संसारमै सबैभन्दा बढी अमेरिकाका रह्यो।

उत्पादनमूलक व्यापारमा लगानीकर्ता कम लगानीमा धेरै नाफा लिन चाहन्छन्। संसारका अधिकांश मुलुकको बजारमा आफ्ना उत्पादन पुर्‍याएका बहुराष्ट्रिय कम्पनी अमेरिकाका छन्। उनीहरू जहाँ कच्चा पदार्थ सजिलै पाइन्छन्, उत्पादन लागत कम हुन्छ र बजारमा पुर्‍याउन छिटो हुन्छ, त्यहाँ आफ्ना प्लान्ट विस्तार गर्छन्। डेढ सयवटा भन्दा बढी त्यस्ता बहुराष्ट्रिय कम्पनीका प्लान्ट चीनमा छन्। तिनमा सर्वाधिक संख्या अमेरिकी लगानीकै कम्पनी छन्।

उनीहरू चीनमा गर्ने उत्पादन अमेरिकासँगै संसारका प्रमुख व्यापारिक बजारमा पुर्‍याउँछन्। संसारमै चीन कच्चा पदार्थ सहज, सस्तो पाइनेमात्रै होइन, उत्पादन लागत नै कम पर्ने मुलुकमा अग्रणी छ।

संसारभरिका बिभिन्न उत्पादनमूलक कम्पनीले कच्चा पदार्थ चीनबाटै आयात गर्छन्। कतिपयले चिनियाँ कम्पनीले उत्पादन गरेका सामान लगेर आफ्नो ब्राण्डको लोगो हाल्दै बजारमा पठाउने गरेका छन्।

ट्रम्पले कुनै पनि मौकामा चीनलाई कटाक्ष गर्न छाडेका छैनन्। कोभिड-१९ को बढ्दो संक्रमणको अवस्थामा पछिल्लो पटक अमेरिकी संसदमा चीनबाट अमेरिकी लगानीका कम्पनीलाई फिर्ता ल्याउन प्रस्ताव नै दर्ता भएको छ। अमेरिका यतिबेला राष्ट्रपतीय निर्वाचनको चटारोमा छ। उक्त विधेयक कालान्तरमा के हुन्छ भन्ने टुंगो छैन। तर, न त्यस्ता कम्पनीले चीनबाट प्लान्ट फिर्ता लैजाने घोषणा गरेका छन्, न त चीनले उक्त विधेयकबारे प्रतिक्रिया सार्वजनिक गरेको छ।

यता भारतमा गलवान घटनापछि चीन विरोधी मानसिकता बनाउन भारतीय सञ्चार माध्यममा पनि टेलिभिजन च्यानलहरूको प्रस्तुति उत्तेजक छ। चीनले संसारभरि इलेक्ट्रोनिक्स उपकरण, फेसन, औषधिका तयारी वस्तुमात्रै होइन कच्चा पदार्थ पनि निर्यात गर्छ। कतिपय विद्युतीय उपकरणदेखि मोबाइल सेटसम्म चीनकै कारखानामा तयार पारेर भारतीय ब्रान्ड लेबलिङ भएर बजारसम्म पुग्ने गरेका छन्।

भारतले रडार, टेलिभिजन, क्यामेरा, ट्रान्समिसन उपकरण चीनबाट आयात गर्छ। इलेक्ट्रिक ट्रान्सफर्मर, माइक्रोफोन, हेडफोन र लाउडस्पीकर पनि चीनबाटै भारत पुग्छ। सन् २०१९ मा भारतमा बाहिरबाट भएको आयातमा चिनियाँ इलेक्ट्रोनिक्स मेसिनरी सामानको हिस्सा ३४ प्रतिशत रहेको तथ्यांक छ।

अन्तर्राष्ट्रिय व्यापारमा संयुक्त राष्ट्र संघको कमर्स-ट्रेड आँकडाअनुसार भारतले सन् २०१९ मा चीनबाट १३.८७ अर्ब डलरको त न्युक्लियर रियाक्टर र बोइलरमात्रै आयात गरेको छ। रासायनिक मल उत्पादनमा प्रयोग हुने डाइएमोनियम फस्फेट पनि भारतीय कम्पनीले चीनबाटै झिकाउछन्। युरिया चीनबाटै भारत पुग्छ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको आयात-निर्यात डाटा बैंकका अनुसार सन् २०१८ र २०१९ मा भारतले २०.६३ अर्ब डलरको इलेक्ट्रिक उपकरण, १३.४ अर्ब डलरको परमाणु रियाक्टर र ८.६ अर्ब डलरको रसायन चीनबाट आयात गरेको छ। सन् २०१९ मा भारतले करिब ७५ अर्ब डलरको आयात गर्दा चीनमा १८ अर्ब डलर बराबरका वस्तु निर्यात गरेको डाटा बैंकको तथ्यांक छ। यो हिसाबले भारत गत वर्ष चीनसँगको कारोबारमा ५६.७७ अर्ब डलरको व्यापार घाटामा रह्यो।

भारतमा सोलार प्यानल ७५ प्रतिशत चीनबाटै झिकाइन्छ। भारतीय कम्पनीले औषधिका कच्चा पदार्थ ७०, प्लाष्टिक ४४ र छालाका वस्तु ३८ प्रतिशत चीनबाटै आयात गर्दै आएका छन्।

चिनियाँ सामान बहिष्कारलाई भारतले बढावा दिने हो भने औषधि, मोबाइल तथा इलेक्ट्रोनिक्स उपकरण र सवारी साधनको मूल्यमा प्रतिकूल प्रभाव पर्नेछ। यी सबै वस्तु महंगो हुनेछन्। स्वास्थ्य सेवा पनि महंगो हुनेछ।

कोभिड(१९ को संक्रमणको दर बढ्दै जाँदा भारतले आन्तरिक खाँचो टार्न गाह्रो हुने भन्दै २६ प्रकारका औषधि निर्यातमा आफ्ना कम्पनीहरूलाई रोक लगाएको थियो। जबकी भारतमा औषधि उत्पादन गर्ने कम्पनीले वार्षिक खपत गर्ने कच्चा पदार्थमा आधाभन्दा बढी चीनबाटै बल्कमा आयात गरिआएका हुन्।

यतिबेला धेरै खपत भइरहेका मास्क र अन्य मेडिकल किट्स उत्पादनमा चिनियाँ कम्पनीसँग भारतका कम्पनीले प्रतिष्पर्धा गर्न सक्ने अवस्था नै छैन। यद्यपि केही भारतीय कम्पनीले मास्क र आवश्यक मेडिकल किट्स उत्पादन बढाएको समाचारहरूमा आएका छन्।

अटोमोबाइल कारोबारका लागि भारत उर्वर बजार हो। डेढ दसकमा इकोनोमी भेहिकल उत्पादन गर्ने संसारका अधिकांश अटोमोबाइल कम्पनीले आफ्ना प्लान्ट भारतमा खोलिसकेका छन्। भारतमा एसेम्बल र उत्पादन हुने सवारीका लागि चाहिने सामान भने चीनबाट लगिन्छ। चिनियाँ कम्पनीहरू भारतमा ड्राइभ ट्रान्समिसन, स्टेरिङ, इलेक्ट्रिकल-इन्टेरियर सामान, ब्रेक सिस्टम र इञ्जिनका लागि चाहिने सामान आपूर्ति गर्छन् । यो व्यापारको परिमाण निकै उच्च छ।

भारतीय बजार विश्लेषकहरू वैकल्पिक आपूर्ति व्यवस्था बिना चीनसँग भारतले व्यापारिक कारोबार बन्द गर्नै नसक्ने बताउँछन्। एक दसकयता भारतले जति सामान चीन निर्यात गर्छ, त्यसको चार गुणाभन्दा बढी नै आयात गरिरहेको छ। कच्चा पदार्थ, श्रम लागत र ढुवानी प्रणालीमा चिनियाँ कम्पनी धेरै अगाडि छन्।

प्रकाशित मितिः     7:39:25 AM  |