१० महिनामा २७ करोड ९५ लाख ११ हजार बराबरको बेसार आयात


बेसारको चर्चा चलिरहदा नेपाल बेसारमा पनि परनिर्भर रहेको देखिएको छ । कृषि प्रधान देशको रुपमा चिनिने नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ ।

यसले करोडौ रुपियाँको बेसार नेपाली भान्सामा विदेशबाट आयात भएको तथ्य खुलेको हो ।

भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, यस्तै तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको एक अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको छ ।

व्यापार तथा निकासी प्रर्वधन केन्द्रको तथ्याकंअनुसार पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँ भन्दा धेरैको काचो बेसार नेपाल भित्रिएको थियो ।


नेपाली बजारमा बेसारको औषत प्रतिकिलो मूल्य तीन सय रुपैयाँ छ ।
नेपाली कृषकले नै फलाएको बेसारको बजार हिस्सा धेरै भएपनि भारत तथा म्यानमार लगायतका मुलुकबाट चानाको रुपमा बेसार नेपाल भित्रिने गरेको छ । चालु आवको १० महिनामा मात्रै ७९ हजार किलो बेसारजन्य पदार्थ म्यानमारबाट नेपालमा भित्रिएको छ ।

नेपालमा बेसार खेती
नेपालमा कपुरकोट हलेदो र कपुरकोट हलेदो दुई नामको बेसार खेती गरिन्छ । कृषि व्यषिव्यस्थापन सूचना प्रणालीले केही वर्ष अगाडि गरेको अध्ययन अनुसार नेपालमा रोपाइँ गरेको ९ महिनापछि बेसारको फसल प्रयोग योग्य रहन्छ । नेपालको हावापानी अनुसार औषत एक रोपनीमा दुई देखि साढे दुई मेटिक टन काँचो बेसार उत्पादन गर्न सकिने अध्ययनमा देखिएको छ ।

नेपालमा बेसार मात्रै कति उत्पादन हुन्छ भन्ने यकिन अध्ययन नभएपनि बेसार लगायतको मसला बालीको उत्पादन आव ७५/७६ को तुलनामा ९।५ प्रतिशतले बृद्धि भएर ५ लाख ५० हजार २८१ मेट्रिक टन पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालले जनाएको छ ।
नेपालमा अलैँची, अदूवा, बेसार र खुर्सानी लगायतको मसलाबालीको खेती ७० हजार ३ सय ७१ हेक्टरमा हुने मन्त्रालयको तथ्यांक छ । मसला बालीको प्रतिहेक्टर उत्पादन ७.८ मेट्रिक टन रहने अनुमान छ ।

 

प्रकाशित मितिः     8:08:59 AM  |