उद्योग वाणिज्य महासंघको साधारणसभा साउन अन्तिम साता


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउनको अन्तिम साता गर्ने निर्णय भएको छ।

महासंघको आइतबार बसेको पदाधिकारी बैठकले सर्वसम्मत रूपमा साउन अन्तिम साता साधारणसभा गर्ने निर्णय गरेको हो। यो निर्णयलाई सोमबार बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ। महासंघका एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउनको अन्तिम साता साधारणसभा गर्ने निर्णय भएको जानकारी दिए।

बैठकले साधारणसभाको लागि ‘भेन्यु’ समेत तोकिसकेको छ। ललितपुरमा रहेको हेरिटेज गार्डेनमा साधारणसभा हुनेछ। महासंघ स्रोतका अनुसार साउन २५ गतेदेखि २८ गते बीचमा साधारणसभाको मिति तय हुनेछ। कोरोना संक्रमणसँगै चैत २८ र २९ गते हुने भनिएको साधारणसभा स्थगित भएको थियो।

सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन लगाएपछि साधारणसभाको मिति तोक्ने बारे महासंघमा विवाद समेत भएको थियो। पदाधिकारी बैठकले मिति तोक्ने बारे सहमति गर्न नसकेपछि अध्यक्ष भवानी राणाले कार्यसमिति बैठकबाट गराउने निर्णय गरेकी थिइन। तर अन्तिम समयमा दुवै पक्ष एक ठाउँमा बसेर साउन अन्तिम साता साधारणसभा गर्ने निर्णय भएको हो।

विवादकै कारण केही समय अघि भएको पदाधिकारीको भर्चुअल मिटिङमा समेत दुई खेमामा महासंघका पदाधिकारी विभाजित भएका थिए। यो साधारणसभा चुनावी भएकाले समेत समयमै गर्न दबाब परेको हो।

प्रकाशित मितिः     8:17:32 AM  |