खजुरामा बन्ने प्रादेशिक बिश्वबिद्यालयको नाम के राख्ने ?


नेपालगन्ज ९ असार :  प्रदेश नं. ५ सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेट मार्फत बाँकेको खजुरामा प्रादेशिक बिश्वबिद्यालय बनाउने घोषणा गरेको छ । त्यसका लागि रु ७ करोड समेत बिनियोजन गरेसंगै बिश्वबिद्यालयको काम शुरु हुने छ ।

बिश्वबिद्यालय प्राप्ती बाँकेका लागि ठुलो विषय हो । अब भने बिश्वबिद्यालयको नाम के राख्ने भन्ने विषयमा बहस शुरु भएको छ । बिश्वबिद्यालय ऐन आउन बाँकी छ । कस्तो बिश्वबिद्यालय बन्ने र नाम के राख्ने भन्ने बारेमा बिस्तृतरुपमा छलफल हुन बाँकी नै छ ।

तर सार्वजनिक बहसमा खजुरामा बन्ने प्रादेशिक बिश्वबिद्यालयको नाममा नेपालगन्ज बिश्वबिद्यालय राख्नुपर्ने आवाज उठेको छ । यद्यपी खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति यस विषयमा बृहद छलफल र बहसका आधारमा सबैलाई मान्य हुने नाम राख्न आफुहरु अग्रसर हुने बताउँछन् ।

नेपालगन्ज बिश्वबिद्यालय माग गर्दै भएका आन्दोलनको पृष्ठभुमीबाट प्रादेशिक बिश्वबिद्यालय आएका कारण त्यसको नाम पनि नेपालगन्ज राख्दा सबैले अपनत्व महसुस गर्ने बताउँछन्, पशुपति दयाल मिश्र । उनी नेपालगन्ज बिश्वबिद्यालय निर्माणका लागि भएको आन्दोलनका अगुवा हुन ।

मिश्र भन्छन्- हामीले त्यतिबेला गरेको आन्दोलनकै पृष्ठभुमीका आधारमा प्रदेश बिश्वबिद्यालय आएको हो । ठाउँ जहाँ भए पनि नाम नेपालगन्ज राख्दा सबैलाई मान्य हुन्छ जस्तो लाग्छ । नेपालगन्ज शहर बिशेष मात्र नभई पश्चिमकै ठुलो र ऐतिहासिक शहर भएकाले कसैलाई आपत्ती हुँदैन होला ।

बाँकेका सर्वदलिय टोलीसंगको भेटघाटमा मुख्यमन्त्री पोखरेलले बाँकेमा प्रदेश बिश्वबिद्यालय बनाउन आफु सकारात्मक भएको तर पूर्वाधार तयार गर्न कम्तिमा सय बिगाह जग्गा चाहिने बताए । त्यस लगत्तै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले उक्त जग्गाको जोहो गरेपछि बिश्वबिद्यालयको काम अगाडी बढेको हो ।

बजेटमै प्रदेशलाई आवश्यक वन, कृषि, सूचना प्रविधि र इन्जिनियरिङ क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा जोड दिइने उल्लेख गर्दै प्रदेश विश्वविद्यालय ऐन प्रदेश सभाबाट पारित हुनासाथ बाँकेको खजुरामा प्रदेश विश्वविद्यालय स्थापना गरिने उल्लेख छ । यसका लागि रू। ७ करोड विनियोजन गरिएको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपति किस्मत कक्षपति भन्छन्–‘प्रदेशले बाँकेवासीका लागि ठुलो मल्हम लगाएको छ । अब हामी बिश्वबिद्यालय बनाउनतर्फ पुरै ध्यान केन्द्रीत गर्छौ ।’ सर्वस्वीकार्य नामको खोजी हुने उनी बताउँछन् । कक्षपतिले भने-हामी केही दिन भित्रमा नै यस्को गतिबिधी लाई अगाडि बढाउने प्रयास गरिरहेका छौ । अहिले पालिका सभाको तैयारी मा रहेकोले यस्को गतिबिधिहरु सबै पक्षका साथिहरु को राय सल्लाह र सुझाव लिएर हामी एकमना एकता कासाथ अगाडि बढनेछौ ।

पश्चिमको ऐतिहासिक शहर नेपालगन्ज पछि परेको महसुस गरिएको छ । यस्तो बेला प्राप्त भएको प्रादेशिक बिश्वबिद्यालयमा नेपालगन्जले कतै न कतै अपनत्व खोजिरहेको छ । मिश्रले त्यसका लागि निरन्तर पहल गरिरहेका छन् । विकासका सवालमा नेपालगन्ज, कोहलपुर र खजुरा भनेर बिभाजित हुने गरिएको भए पनि यसपटक त्यस्तो देखिएन । खजुरामा प्रादेशिक बिश्वबिद्यालय बन्ने घोषणाले नेपालगन्ज दुःखी भएन । अब नाममा नेपालगन्जले अपनत्व खोजिरहेको छ ।

प्रकाशित मितिः     ९ असार २०७७, मंगलवार ०९:०४  |