अटोमोबाइल व्यवसाय कता जान्छ अहिल्यै भन्न सकिँदैन : आकाश गोल्छाको अन्तर्वार्ता


लकडाउन केही खुकुलो भएसँगै असार १ गतेबाट गाडीका शोरुमहरु खुल्न थालेका छन् । अधिकांश दुई पाङ्ग्रे सवारीसाधनको विक्रेता कम्पनीहरुले ग्राहकलाई आकर्षित गर्न विभिन्न किसिमका अफरहरु ल्याइरहेका छन् । यस्तोमा केही कार विक्रेता कम्पनीले पनि अफर ल्याउन सुरु गरेका छन् । यद्यपि गाडीका शोरुममा खरिदकर्ताको उपस्थिति न्यून रहेको देखिन्छ । यसै सन्दर्भमा नाडा अटोमोबाइल एसोशिएसन अफ नेपालका उपाध्यक्ष तथा फोर्डको आधिकारीक विक्रेता जियो फोर्डका कार्यकारी निर्देशक आकाश गोल्छासँग अबको अटोमोबाइल व्यवसाय, सरकारी नीति र ग्राहकको अपेक्षा लगायतका विषयमा मेरोअटोले गरेको कुराकानीको सम्पादित अंश:

कोभिड १९ को असर देखिएपछि लामो लकडाउन भयो । अहिले बजार पुनः सुचारु हुन खोज्दै छ । यस्तोमा गाडीका शोरुममा ग्राहकको आवतजावत कस्तो पाउनुभएको छ ?

अहिलेपनि बजार पूर्णरुपमा खुलेको छैन । मानिसमा त्रास कायमै छ । अहिले गाडीे सर्भिसको लागि ग्राहकहरु आउन थालेका छन् । तर, नयाँ गाडी किन्न चाहने ग्राहक गाडीको बारेमा जानकारी मागिरहेको भए पनि ‘पर्ख र हेर’को रणनीतिमा रहेका छन् । अहिले केही गाडी बुकिङ सुरु भएको छ । तर, ती ग्राहक नयाँ होइनन् । जसले लकडाउन अघि लगभग गाडी किन्ने फैसला गरेका थिए उनीहरु नै अहिले बुकिङ गर्न आएको हामीले पाएका छौं ।

विद्युतीय गाडी प्रयोगलाई बढवादिने कुरा गर्ने अनि कर बढाउने सरकारी नीतिका कारण व्यवसायी फसेका छन् । बढाउनै पर्दा पनि विस्तारै बढाउन सकिन्थ्यो ।

आफूले पहिला चढिरहेको गाडी विक्री गरिसकेको र नयाँ गाडी किन्न रकम जम्मा गरिसकेका ग्राहक शोरुममा आएर गाडीको बुकिङ गरेको देखिन्छ । अहिले मानिसको पहिलो प्राथमिकता बाँच्नका लागि आवस्यक वस्तुको बन्दोबस्त गर्न तरि केन्द्रित भएको छ । किनभन्दा अहिलेको यो अवस्थामा मानिसको आय घटेको छ । लामो समयसम्म रोजगारी तथा आयको अस्थिरताले गर्दा गाडी खरिद गर्ने इच्छा देखिदैन ।

अर्को, गाडीका मुख्य ग्राहकहरु आफ्नै उद्यम गर्ने मानिसहरु हुन् । लामो लकडाउनले पुनः आफ्नो व्यवसाय कसरी सुरु गर्ने भन्ने चिन्तामा उहाँहरु रहेको हामीले देखेका छौं । यद्यपि कोभिडको असर आउने महिनाहरुमा कसरी जान्छ भन्ने विषयले गाडीको विक्रीमा फरक पार्छ । साथै, आगामी मौद्रिक नीति लोनको रेसियोमा केही परिमार्जन गर्ने हो भने केही सकारात्मक प्रभाव पार्ला । अहिले ५० प्रतिशत माथि कर्जा लिन पाइँदैन । यदि यो रेसियो ७०र८० प्रतिशतसम्म पुग्ने हो भने बजारमा सकारात्मक प्रभाव आउँछ होला ।

पछिल्लो तीन वर्षमा आटोमोबाइल खास गरेर कारको विक्रीमा गिरावट आएको छ । तपाईं यही व्यवसायमा लामो समयदेखि हुनुहुन्छ । किन कारको विक्री हरेक वर्ष घटिरहेको छ ?

आयात तथ्यांकले घटेको देखाएको छ । फेरि लामो समयदेखि गाडी विक्री नहुँदा अहिले विक्रेतासँग स्टकमा पनि रहेका छन् । डाउन पेमेन्टमा कडाई र आम्दानीको ५० प्रतिशतभन्दा माथि मासिक किस्ता भएमा कर्जा लिन नपाउने व्यवस्थाले मानिसले सहजै कर्जा पाउने अवस्था रहेन ।

जुन यसवर्षको आयात तथ्यांक छ, त्यो विगतको वर्षभन्दा करिब ३५ प्रतिशतले कम छ । त्यसो हुनुमा कोभिड १९ को संक्रमण र लकडाउन पनि मुख्य कारण हो । अर्थतन्त्रमा केही सकारात्मक प्रभाव पर्दा गाडीको विक्री बढ्छ भने नकारात्मक अवस्था आउँदा घट्छ । सरकारले आयात घटाउने नीति अनुरुप गाडीको विक्रीलाई निरुत्साही गरेको कसैबाट छिपेको छैन । यस्तोमा निरन्तर विक्रीमा ओरालो लाग्नु स्वभाविक हो । नागरिकमा खुसी, व्यवसायमा वृद्धि जस्ता कारण मानिसले गाडी किन्ने हुन् । यस्तोमा कोरोनाको कारण झनै संकटतर्फ गयो ।

हरेक संकटपछि बजारमा केही सकारात्मक संकेत पनि देखिने विगतलाई हेर्दा गाडी विक्रेता कम्पनीको अबको रणनीति के हुन्छ ?

अबको रणनीति के हुन्छ भन्ने विषयमा कुरा गर्नु अहिल्यै अल्लि चाँडो होला । कोभिड १९ का बिमारी बढ्दो क्रममा रहेको छ । भोली कसरी बजार अगाडि बढ्छ भन्ने अहिल्यै भन्नु कठिन हुन्छ ।

२०१९ मा बनेका गाडी धेरै कम्पनीसँग स्टकमा छ । हाम्रो फोर्डसँग भन्ने हो भने मुस्किलले केही यूनिटमात्र छ । जोसँग धेरै स्टक छ उनीहरुले अफरहरु पनि ल्याउन थालिसकेका छन् । जो जोसँग नयाँ २०२० का बीएस ६ मोडल आएका छन् उनीहरुले अफर ल्याउन सक्ने अवस्था छैन, किनभने त्यसको खरिद मूल्य बढी छ । यद्यपि अहिलेको अवस्थालाई आँकलन गर्दै कम्पनीहरुले केही अफर पक्कै गर्ने छन् ।

सर्भिसमा कम्पनीहरुले ग्राहक संतुष्ट बनाउन नसकेका विषयहरु पनि बाहिर आउने गरेका छन् । पछिल्ला दिनमा केही गाडी विक्रेता कम्पनीले उत्कृष्ट सर्भिस दिँदै आएका छन् । यस्तोमा गाडी किन्ने ग्राहकले सर्भिस बाहेक अन्य कुन कुन कुरा हेर्नुपर्छ ?

सर्भिस सेन्टरमा पार्टस कति छन् । देशभरको नेटवर्क कस्तो छ । स्पेयर पार्टसको मूल्य, वारेन्टी कति र के केमा वारेन्टी छ त्यो बुझन आवश्यक छ । बेला बखतमा गाडीको सर्भिस गर्दा कति चार्ज लाग्छ भन्ने विषयमा जानकारी लिएर मात्रै गाडी किन्दा ठीक हुन्छ । यी विषयका अलावा रिसेल भ्यालुले पनि धेरै महत्व राख्छ ।

गाडीमा स्कीम ल्याउनु अन्तर्राष्ट्रिय प्रचलन हो । तर, यसले ग्राहकलाई अन्योलमा पारिरहेको पनि देखिन्छ । यसलाई छनोट गर्दा ग्राहकले के कुरामा ध्यान दिने ?

ग्राहकले सबैभन्दा पहिले सीधै पाउने छुटमा ध्यान दिने गरेका छन् । त्यो ठीक हो । ठूलो लक्की ड्र केही मानिसले मात्रै पाउने हुँदा नगद छुट महत्वपूर्णहुन्छ । ब्याज छुट र किस्ता छुट पाउँदा त्यसको मनिटरी भ्यालु बुझनु पर्छ । हामीले जहिल्यै ग्राहकलाई गाडी किन्दा डिस्काउन्टभन्दा त्यसको अन्तर्राष्ट्रिय बजारको मूल्य र यहाँ पाउने मूल्यलाई हेर्न भन्ने गरेका छौं ।

रफ्तारमा ग्राहकले छनोट गर्न थालेपछि सरकारले इलेक्ट्रीक कारमा करका दर बढायो । यसलाई नाडाको उपाध्यक्ष र एउटा अटोमोबाइल व्यवसायीका रुपमा तपाईंले कसरी हेर्नु भएको छ ?

सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेटले इभीमा लगाएको कर चर्को भयो । हामीले केही मात्रै तलमाथि होला भन्ने सोचेका थियौं । तर, यस्तो किसिमले बढ्छ भन्ने सोचेका थिएनौं । अहिले यसको मार आयातकर्तालाई ठूलो मात्रामा परेको छ । नेपाल आएका गाडीमा त्यसको समस्या भएन । तर, बाटोमा रहेका र एलसी खोलेर आयात हुनबाँकी गाडीमा ठूलो समस्या सृजना भएको छ ।

विदेशमा रिसाइकल कम्पनीहरु खुलेका छन् । उनीहरुले यसको डिस्पोज गर्ने कम्पनीहरु स्थापना भएका छन् । यस्तोमा हाम्रो जस्तो देशमा गाडी आउँदा यसको व्यवस्थापनको विषयमा गहनरुपले सोच्नु पर्ने हुन्छ ।

विद्युतीय गाडी प्रयोगलाई बढवादिने कुरा गर्ने अनि कर बढाउने सरकारी नीतिका कारण व्यवसायी फसेका छन् । बढाउनै पर्दा पनि विस्तारै बढाउन सकिन्थ्यो । तर एकै पटक धेरै बढाउँदा निकै समस्या सृजना भएको छ । केही यूनिट लग्जरी इलेक्ट्रीक कार नेपाल आएको नजिर बनाएर सरकारले करको दर बढाएको देखिन्छ ।

यसलाई करेक्सन गरेर अगाडि जानुपर्ने अवस्था छ ।

अबको अटोमोबाइल क्षेत्र इलेक्ट्रीक, कम्बस्चन वा अल्टरनेटिभ फ्यूल सेल कता जान्छ जस्तो लाग्छ ?

यसमा हामीले दुई कुरा विचार गर्नु पर्छ । कम्बस्चन, हाइब्रिड, इलेक्ट्रीक र हाइड्रोजन फ्यूलसेल कारको विषयमा संसारभरका गाडी उत्पादकले लगानी गरिरहेका छन् । पछिल्लो दिनमा हाइब्रिड र इलेक्ट्रीकको विषयले चर्चा पाइरहेको छ । यद्यपि इन्टरनल कम्बस्चन इन्जिन युक्त गाडी चाँडै बन्द हुने अवस्था छैन । कम्बस्चन इन्जिनको विकल्पमा केही देशले हाइब्रिडलाई प्राथमिकता दिँदै गएका छन् । अहिले जापान लगायतका देश हाइब्रिडमा फोकस भएका छन् भन्ने युरोपमा इलेक्ट्रीक गाडीलाई प्रोत्साहन दिएको छ ।

यस्तोमा भोलि कम्बस्चन इन्जिनको मार्केट सेयर घट्ने हो यसमा शंका छैन । तर पनि अबको धेरै वर्षसम्म यसको बजार कायम रहने देखिन्छ । इलेक्ट्रीक कारमा अहिले पनि ब्याट्री व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । पुराना ब्याट्रीलाई जथाभावि फ्याक्नु खतरा हुने र रिसाइकल प्लान्टमा ठूलो लगानी गर्नुपर्ने हुँदा यो चुनौतीको व्यवस्थापन साना देशहरुलाई जटिल रहेको मानिन्छ ।

ब्याट्री व्यवस्थापनमा कसरी काम गर्न सकिन्छ ?

विदेशमा रिसाइकल कम्पनीहरु खुलेका छन् । उनीहरुले यसको डिस्पोज गर्ने कम्पनीहरु स्थापना भएका छन् । यस्तोमा हाम्रो जस्तो देशमा गाडी आउँदा यसको व्यवस्थापनको विषयमा गहनरुपले सोच्नु पर्ने हुन्छ । यसको लागि यात नेपाल मै डिस्पोज गर्ने कम्पनी खोल्नु पर्यो यात ती ब्याट्रीहरु विदेशमा फर्काउने व्यवस्था गर्नुपर्यो ।

यसवर्षको चाडपर्व नजिक आइसकेका छन् । नाडा अटो शो २०२० नहुने लगभग पक्का जस्तै छ । यस्तोमा कम्पनीहरुले कस्ता योजना बनाएका होलान् ?

अहिल्यै कस्तो होला भन्ने सोच्न सकिने अवस्था छैन । भारतमै पनि केही राज्यमा भाइरस संक्रमण बढेर पुनः लकडाउन सुरु भएको छ । हामीले पनि शोरुम खोल्दा निकै सजगता अपनाएर काम गरिरहेका छौं । केही कम्पनीले अनलाइनबाट पनि गाडी विक्री गर्ने काम सुरु गरेका छन् । नाडा अटोशो दशैंलाई लक्षित गरी गरिन्थ्यो, तर यो सालको कोभिडको असर तथा सरकारी निर्देशनले गर्दा अटोशो गर्न सम्भव देखिएन । अहिलेको अवस्थाले गर्दा यसपालि कम्पनिहरुले आफ्नो व्यावसायिक सोचलाई ग्राहकहरुको सहजीकरणका लागि डिजिटलमा परिणत गर्नुपर्ने देखिन्छ । त्यसैले अहिले हाम्रो फोकस सुरक्षित व्यवसाय कसरी संचालन गर्ने भन्ने हो ।

प्रकाशित मितिः     7:31:38 AM  |