नक्कली धितोबाट १ करोड २५ लाख ऋण, नेपालगन्जका सुनचाँदी व्यवसायी समातिए


नेपालगन्ज १० असार :  बिभिन्न सरकारी कागजात किर्ते गरी नक्कली धितो मार्फत राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखाबाट रु १ करोड २५ लाख ऋण लिएको आरोपमा नेपालगन्जका एकजना सुनचाँदी व्यवसायीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

पक्राउ पर्नेमा  नेपालगन्ज –११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ छन् । नेपालगन्ज उपमहानगरपालिका र मालपोत जस्ता सरकारी कार्यालयका कागजात, सहीछाप किर्ते गरेर जसगढले बैंकबाट रु २ करोड ऋण स्वीकृत गराउन सकेका थिए । तर बाँकी ऋण पाउनु अघि नै उनी प्रहरी हिरासतमा पुगेका छन् । सरकारी कागतजात किर्ते गरी बैंक ठगी गरेको आरोपमा जसगढलाई जेठ २७ गते घरबाटै पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुवास खड्काले जानकारी दिए ।

‘प्रारम्भीक अनुसन्धानबाट जसगढले कयौं सरकारी कागजात र छाप किर्ते गरेर बैंकबाट ऋण लिएको पाइएको छ । अनुसन्धानकै चरणमा रहेकाले थप विषयहरु खुल्दैन जालान् ।’–अर्थपेजसंगको कुराकानीमा डिएसपी खड्काले भने । प्रहरीले जसगढ मात्र होइन यति धेरै किर्ते कागजातका आधारमा ऋण दिने बैंकका कर्मचारीलाई समेत अनुसन्धानको दायरमा राखेको छ । डिएसपी खड्का भन्छन्–‘अनुसन्धानको दायरामा जोजो आउँछन् , हामी छाड्दैनौ ।’

जिप्रका बाँकेका अनुसार, जसगढले भवानीयापुर /उदयपुरमा १९ र १५ धुर र नेपालगन्ज–११ मा ४/ ४ धुरका गरी चारवटा कित्ता धितो राखेका थिए । त्यसमध्ये नेपालगन्ज–११ को दुईवटा कित्ताको धितो भेटिएको छैन । त्यसको नक्कली कागजात खडा गरिएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ । यता बाँकी भवानीयापुर र उदयपुर ग्रामिणक्षेत्रका जग्गाको मुल्य दुई कुरोड हुने कुनै सम्भावना छैन् ।

नेपालगन्ज उपमहानगरपालिकाबाट यति ठुलो बैंक ठगीको मुद्दा उजागर भएको थियो । स्रोतका अनुसार बैंक ठगी गर्न जसगढले उपमहानगरको कागजात किर्ते गरेको सूचना पुगेको थियो । सोही सूचना पाएपछि उपमहानगरपालिकाले छानविनका लागि जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्यो ।

जिल्ला हालसम्मको अनुसन्धानबाट जसगढले जग्गाको लालपुर्जा,तिरो तिरेको रसिददेखि नक्सापाससम्म किर्ते गरेको पाइएको छ । त्यसका लागि मालपोत कार्यालदेखि नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसम्म किर्ते गरेका छन् । त्यसैबाट नक्कली धितो बनाएर उनले दुई पटक बैंकबाट ऋण लिएको पाइएको छ । जसगढले २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख ऋण लिए ।

जसगढले ऋण लिदा पेश गरेको धितो नेपालगन्ज उपमहानगरपालिकामा रुजु गर्ने क्रममा नक्कली भेटिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाका अनुसार, कागजात किर्ते र नक्कली भेटिएपछि छानविनका लागि प्रहरीलाई अनुरोध गरिएको थियो । मेयर राणाले भने,–‘ऋणका लागि जे जति प्रमाण आवश्यक पर्छ, त्यो सबै नक्कली खडा गरेको देखियो ।’

सुनचाँदी व्यवसायी संघ, नेपालगन्जका अध्यक्ष सलाउद्धिन जसगढले पत्रकारसंगको कुराकानीमा किर्ते प्रकरणमा आफ्ना एकजना सदस्य परेको बताए । उनले भने,–‘पक्राउ परेकाको नजिकका मान्छेको कुरा सुन्दा खेरी यसमा अरु पनि छ भन्छन् । आफै त्यस्तो गर्ने मान्छे त होइन भनेका छन् ।’

प्रकाशित मितिः     १० असार २०७७, बुधबार १७:०४  |