कोरोनाबाट कसरी सुरक्षित हुने ? बुद्ध एयरद्धारा अभ्यास उडान


तस्विर : स्कन्द गौतम

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड -१९ पछिको सुरक्षित व्यावसायिक उडानका लागि प्रोटोकल तयार पारेको छ। यात्रुदेखि एयरलाइन्ससम्मले पालना गर्नपर्ने त्यस्ता नियमहरुसहितव उक्त प्रोटकलअनुसारको उडान गर्नका लागि एयरलाइन्सहरुले तयारी गरिरहेका छन्।

प्राधिकरणले प्रोटोकल ल्याएपछि नेपालको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले सोहीअनुसारको अभ्यास गरिरहेको छ। सरकारले प्रोटोकल ल्याउनअघि नै आफै प्रोटोकल बनाएर आफूहरुले काम गरेको भएपनि अहिले सरकारले ल्याएपछि अभ्यास सुरु गरिएको बुद्धका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले जानकारी दिए।

बुद्धले आज कोभिड १९ पछिको व्यावसायिक उडानका लागि अभ्यास उडान गरेको छ। बुद्ध एयरकै कर्मचारी, सञ्चारकर्मी, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुको संलग्नतामा बुद्धले आज अभ्यास उडान प्रदर्शन गरेको छ।

कोभिड १९ पछिको अवस्थामा सुरक्षित उडानका लागि गेटपासदेखि बोर्डिसम्मका विभिन्न नियमहरु बनाएर सोहीअनुसारको उडान अभ्यास आज गरिएको बस्नेतले जानकारी दिए।

नयाँ अवस्थामा सुरुमा टर्मिनल भवनभित्र प्रवेश गर्नेवित्तिकै यात्रुले तापक्रम जाँच गराउनुपर्छ। त्यसपछि यात्रुले आफ्नो स्वयम स्वास्थ्य घोषणा गर्नुपर्छ। सो घोषणा गरिकएको पत्र यात्रुले काउन्टरमा देखाएर बोर्डिङ पास लिनुपर्छ।

यहाँनेर तापक्रम जाँच गर्ने र स्वयम् घोषणा गर्ने नयाँ प्रक्रिया थपिने छ अब। यी हरेक प्रक्रियामा यात्रुले निश्चित दुरी कामय गरेर लाइन लाग्नुपर्ने छ।

कुनैपनि यात्रुले मास्क तथा स्यानिटाइजर साथमा राख्नुपर्ने छ। मास्क नलगाएको यात्रुले गेटपास पाउने छैनन्।

यी सबै प्रक्रिया पुरा गरेर यात्रु जहाजभित्र गएपछि सकभर आफ्नो सिट नछाडी उठ्न पाउने छैनन्। नियमित डिसइन्फेक्सन गरिने तथा फेसशिल्ड पनि एयरलाइन्स आफैले उपलब्ध गराउने छ। तर यस्तो शिल्डको मूल्य टिकटमै जोडिने छ।

जहाज चढिसकेपछि यात्रुले एउटा नयाँ फर्म भर्नुपर्ने छ। जसमा आफ्नो परिचय, उडानको डिटेल तथा गन्तव्यको जानकारी गराउनुपर्ने छ। यसरी भरिएको फर्म उडान दलका सदस्य वा गन्तव्य विमानस्थलको डेस्कमा यात्रुले बुझाउनुपर्ने छ।

प्रकाशित मितिः     ११ असार २०७७, बिहीबार १६:१९  |