बाँकेमा मासुको मुल्य बृद्धि र स्वस्फुर्त होटल सन्चालन विवादमा


नेपालगन्ज १२ असार :  मासुको मुल्य बृद्धि र होटल सन्चालनका विषयमा बाँकेका उद्योगी, व्यवसायी र जिल्ला प्रशासन कार्यालय बाँके आमने-सामने भएका छन् । मासुको अनियन्त्रित बजार भाउ रोक्न प्रशासनले कदल चालेको छ भने स्वस्फुर्तरुपमा खुलेका होटल कोरोना महामारीको जोखिम नघटेको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले बन्द गराएको छ ।

मासुको मुल्य अत्याधिक बढेको पाइएपछि बिहिवार बाँकेका प्रमुख जिल्ला अधिकारीले मासु व्यवसायी एवं सरोकारवाला निकायसंग छलफल गरेका थिए । छलफलबाट एउटा समिति गठन गरिएको छ, जसले तीन दिन भित्र मासुको मुल्य बृद्धि आवश्यक होकी अनावश्यक हो भन्ने प्रतिवेदन दिने छ ।

प्रतिवेदन नआउँदासम्म मासुको मुल्य कुखुरा प्रति केजि ३ सय ५० र खसीको मासु प्रति केजि ८ सयमा विक्री गर्न प्रशासनले मौखिक निर्देशन दिएको छ । उक्त निर्देशनप्रति मासु व्यवसायी असन्तुष्ट छन् । लडकाउन पूर्व ठुला कुखुरा उत्पादक फार्मले चल्ला खाल्डोमा गाडेर मारेका थिए । त्यसैका आधारमा अहिले कुखुराको अभाव भएको र लागत समेत बढेको अवस्थाका कारण कुखुराको भाउ बढेको व्यवसायीको तर्क छ ।

यस्तै लकडाउन खुकुलो भएको मौकामा बाँकेमा साना मात्र होइन ठुला होटल समेत स्वस्फुर्तरुपमा होटल सन्चालन हुन थालेका थिए । सरकारले होटल सन्चालनको अनुमति नदिएको भएपनि स्वस्फुर्तरुपमा होटल सन्चालन भएको पाइएपछि प्रशासनले बन्द गराएको छ । यि दुबै विषय समाधानका लागि व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ गुहारेका थिए ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतको टिमले शुक्रवार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई भेटेर समस्या समाधानको पहल गर्न आग्रह गरेको छ । प्रशासनले होटल पूर्णरुपमा खोल्दा कोरोनाको जोखिम बढ्ने भन्दै होमडेलिभरी जस्ता काममा लाग्न आग्रह गरेको छ ।

प्रकाशित मितिः     १२ असार २०७७, शुक्रबार १२:२८  |