प्रदेश ५ मा सलहको प्रवेश


बुटवल– रुपन्देहीमा सलह कीराजस्तै देखिने कीराहरुको समूह देखिएको छ।

शनिबार बिहान एक–दुईवटा कीराहरु देखिएको खबर सरकारी अधिकारीहरुसम्म पुगेपनि दिउँसो ठूलो संख्यामा कीराहरु उड्दै गरेको अवस्थामा देखिएको छ।

रुपन्देहीको भैरहवा र बुटवल क्षेत्र, कपिलवस्तुको वाणगंगामा पनि फट्याङ्ग्रा आकारका कीराहरु देखिएका छन्।

यी कीराहरु सलह नै हुन् या हैनन् भन्ने सरकारी स्तरबाट पुष्टि हुन सकेको छैन। प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले सलहकै जस्तो देखिने कीरा फेला परेको जानकारी किसान र सर्वसाधारणबाट आएकोले त्यसको अनुसन्धानमा लागेको बताए।

‘विज्ञहरुसँग बसेर हामीले यो कीरा सलह हो वा हैन भन्ने अध्ययन गरिरहेका छौं’, उनले भने, ‘सलहको झुण्ड धेरै ठूलो हुने र १० किलोमिटरसम्म ढाक्नेगरी उड्ने हुन्छ, हामीकहाँ त्यस्तो ठूलो झुण्ड देखिएको छैन।’

उनले रुपन्देहीको आकाशमा देखिएको सलह भएमा निरन्तर भइरहेको वर्षाका कारण ठूलो झुण्ड टुक्रिएर आएको हुनसक्ने बताए। ‘सलह कीरा नै हो भने यो झुण्डबाट टुक्रिएर आएको हुनुपर्छ’, उनले भने।

कीराका बारेमा अध्ययन र अनुसन्धान तथा यसलाई नियन्त्रण गर्नका लागि के उपाय अपनाउने भन्नेबारे निर्णय गर्न प्रदेश ५ को कृषि मन्त्रालयमा बैठक बसिरहेको छ।

प्रकाशित मितिः     १३ असार २०७७, शनिबार १६:०४  |