बाँकेका होटल व्यवसायीले बिद्युत महसुलका विषयमा सरकार गुहारे


बाँके १४ साउन : बन्द अवस्थामा पनि नेपाल बिद्युत प्राधिकरणले बिद्युत महसुल बुझाउन ताकेता गरेपछि बाँकेका तारेदेखि साना तथा मझौतासम्म होटल रुष्ट बनेका छन् ।

होटल एशोसिएसन नेपालगन्ज च्याप्टर र होटल व्यवसायी संघ बाँकेले आईतवार बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपाल बिद्युत प्राधिकरण लगायतका बिभिन्न निकाय र उनीहरु मार्फत केन्द्रीय कार्यालयमा गम्भीर ध्यानार्कषण गराउँदै बिद्युत महसुल तिराउन गरिएको ताकेताको बिरोध जनाएका छन् ।

त्यस्तै डिमान्ड शुल्कदेखि नयाँ बिद्युत दर कायम गर्दा होटललाई अन्या गरिएको भन्दै खारेजीको माग गरेका छन् । व्यवसायीहरुले लकडाउन खोलेर होटल सन्चालन भएको एक महिना पछि मात्र बिद्युत महसुल तिर्ने व्यवस्थाका लागि सरकारसंग माग गरेका छन् ।

होटल व्यवसायीको ज्ञापनपत्र

बिश्वभर फैलिएको कोरोना (कोभिड–१९) महामारीले आमनागरिकको जनजिवनमा गम्भीर असर पारेको छ भने अर्थतन्त्र धरासायी बनाएको छ । नेपालमा चैत ११ गतेबाट लागू भएको लकडाउन अझै जारी छ भने कहिले खुल्छ भन्ने निश्चित छैन । भ्रमण वर्ष २०२० को पूर्वसन्ध्याबाट शुरु भएको कोरोना महामारीले होटल एवं पर्यटन क्षेत्रलाई बर्षौपछि धकेलिदिएको छ । अन्य उद्योग, प्रतिष्ठान पुरानै लयमा फर्किदै गर्दा होटलका गेटमा भने ताला झुण्डिएका छन् ।

होटल क्षेत्र प्रभावित हुँदा संयौको रोजगारी गुम्ने अवस्था सिर्जना भएको छ भने स्थानीय उत्पादनको खपतमा गम्भीर धम्का लागेको छ । होेटल नखुल्दा हरेक क्षेत्र प्रभावित हुन्छ भन्ने विषयमा सरकार स्वयं जानकारी रहेको छ नै । यस्तो अवस्थामा होटल क्षेत्रलाई उकास्न हरप्रयत्न आवश्यक हुने हुँदा सरकारले बजेट मार्फत कुनै न कुनै राहत दिने बिश्वासमा थियौं । तर बजेटले हाम्रा पीडामा मल्हम लगाउने काम गरेन् । उल्टो गेटमा ताला झुण्ड्याएर बन्द रहेका होटललाई बिद्युत महसुस तिराउन पटक पटक ताकेता गर्नेदेखि बिद्युत महसुल बृद्धि गर्ने कार्यले हामीलाई हतोत्साहीत बनाएको छ । स्वदेशमा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने होटल क्षेत्रलाई माथि उकास्ने कार्य गर्नुको साटो उल्टो प्रताडित गर्ने गरी तत्काल बिद्युत महसुल बुझाउन ताकेता गर्नेदेखि, डिमान्ड शुल्क बृद्धि गर्ने कार्यप्रति हामी पूर्णत असहमति प्रकट गर्दछौं । साथै तत्काल बिद्युत महसुल बुझाउन नसक्ने प्रष्ट पार्दर्छौ ।
पश्चिमको केन्द्र भएयता पनि राजनीतिक कोपभाजनले गर्दा पछिल्लो समय बाँकेका होटल व्यवसाय बिभिन्न कारणले धरासायी हुँदै आएकोमा लकडाउनले व्यवसायीलाई घर न घाटको अवस्थामा ल्याईपुर्याएको छ । यस्तो अवस्थामा बिद्युत महसुलका विषयमा सरकारका तर्फबाट भइरहेका बिभेदप्रति खेद प्रकट गर्दछौं । साथै लकडाउन अवधिको डिमान्ड शुल्क पूर्णरुपमा छुट दिन र नयाँ निर्धारण भएको महसुल दर एवं डिमान्ड शुल्क अन्य उद्योग सरह छुट र सहुलियत प्रदानका लागि सरोकारवाला निकायको गम्भीर ध्यानार्कषण गराउँछौं ।

तपसिल
१. होटल खोल्ने अनुमति सहित लकडाउन पूर्णरुपमा खुलेको एक महिना पछि बिद्युत महसुल बुझाउने व्यवस्था गर्नुपर्ने ।
२. होटल पूर्णरुपमा बन्द रहेकाले लकडाउन अवधिभरको डिमान्ड शुल्क पूर्णरुपमा छुट दिनुपर्ने ।
३ं नयाँ निर्धारण भएको डिमान्ड, बिद्युत यूनिट शुल्क बिभेदकारी र होटल क्षेत्रलाई थप मर्माहत बनाउने किसिमले आएको छ । तसर्थ पर्यटन उद्योगका हकमा बिभेदकारी रहेको नयाँ निर्धारण गरिएको डिमान्ड र बिद्युत यूनिटल शुल्क खारेज गरी अन्य उद्योग सरह दिनुपर्ने ।

प्रकाशित मितिः     १४ असार २०७७, आईतवार २०:००  |