कुनै बेला बाँके र बर्दियाको चामल बङ्गलादेशसम्म विक्री हुन्थ्यो…


धान दिवशमा खजुरामा धान रोपाई गर्दै गाउँपालिका प्रमुख किस्मत कक्षपति, नेकपा नेता भिम ओली लगायत । खजुराले कृषि उत्पादन बृद्धिका लागि हरित खजुरा कार्यक्रम सन्चालन गर्दैछ ।

नेपालगन्ज १५ असार :  आज धान दिवश । अन्नको भण्डार बाँके र बर्दियामा बिभिन्न कार्यक्रम गरी धान दिवश मनाइदैछ । यि दुई जिल्लाका लागि धान दिवश किन पनि महत्वपूर्ण छ भने यहाँ देशकै सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।

पञ्चायत कालसम्म नेपालबाट भारततर्फ चामल निर्यात हुन्थ्यो । धेरै धान फल्ने बाँके र बर्दियामा ठूला राइस मिल सञ्चालनमा थिए । धानरचामल निर्यातका लागि ठूला गोला र मन्डी बनाइएको हुन्थ्यो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् १९७० को दशकसम्म नेपाल धान, चामल निर्यात गर्नेमा विश्वकै चौथो ठूलो मुलुकमा दहरिएको जानकारी दिए ।

नेपालगन्जमा रहेको पुरानो महाकाली मिलबाट बंंगलादेशसम्म चामल विक्री हुने गरेको कुरा उक्त मिलका सन्चालक नेपालगन्जका मेयर धवल शम्सेर राणा बताउँछन् । उनका बुवाले सन्चालन गर्ने सो मिल अहिले भने इतिहास बनेको छ ।
धान उत्पादनमा बाँके, बर्दिया, कञ्चनपुर, झापा, मोरङ अग्रणी मानिन्थे । बाँके र बर्दियामा फलेको धान भारतको कोचीसम्म पुग्थ्यो । अरु जिल्लाबाट पनि उत्तिकै निर्यात गरिन्थ्यो । ‘मुसुरो र रहरको दाल, तोरीको तेल, बनस्पती घिउ पनि भारत, बंगलादेश हुँदै खाडीसम्म पुग्थ्यो’, नेपालगन्जका पुराना व्यवसायी सतिशचन्द्र अग्रवाल भन्छन्, ‘अहिले धान÷चामल निर्यात त परै जाओस्, भारतबाट दैनिक चामल नभित्रिए नेपालगन्जमै खान नपाउने अवस्था आइसकेको छ ।’

कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । यी दुई जिल्ला पश्चिम नेपालमा अन्न भण्डारकै रूपमा दरिन्थे । सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो ।

महाकाली राइस मिल, पूजा दाल मिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए । बजार विस्तार भयो, जनसङ्ख्या बढ्दै गयो । मौसम परिवर्तन हुँदै गएपछि धान उत्पादन पनि घट्दै जान थाल्यो । अहिले यहाँ उत्पादित चामलले यहीँका जनसङ्ख्यालाई पनि खान पुग्दैन । भारतबाट दुई÷चार टन चामल नभित्रिए खान नपाउने अवस्था आइसकेको व्यवसायी बताउँछन् ।

विगतमा धानमात्र होइन मुसुरो र रहरको दाल पनि बङ्गलादेशका साथै अन्य खाडी मुलुकसम्म पुग्थ्यो । तर अहिले भने यो अवस्था ठ्याक्कै बदलिएको छ । गत आर्थिक वर्ष २०७५र०७६ को तथ्याङ्कलाई मात्रै हेर्ने हो भने नेपालगञ्ज भन्सार नाका हुँदै रु छ अर्ब ४७ करोड मूल्य बराबरको चामल आयात भएको छ ।
केही दशकयता वर्षेनी करोडौँ मूल्यको चामल भारतबाट आयात हुँदै आएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा सबैभन्दा धेरै वस्तु आयात हुनेमा चामल तेस्रो नम्बरमा छ । पहिलो र दोस्रो नम्बरमा इन्धन, ग्याँस रहेको छ । गत आर्थिक वर्षमा एक लाख २४ हजार २७० मेट्रिक टन चामल आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताएका छन् ।

उक्त परिमाणको चामल आयात गर्दा रु छ अर्ब ४७ करोड रकम नेपालगञ्ज नाकाबाट मात्र बाहिरिँदा सरकारको खातामा रु पाँच करोड भन्सार राजश्व सङ्कलन भएको छ । नेपालगञ्ज नाका हुँदै आयात गरिएको चामल बाँके, बर्दियाको स्थानीय बजारसँगै पहाडी जिल्लामा खपत हुने गरेको निर्यातकर्ता बताउँछन् ।

बाँके र बर्दिया जिल्लामा उत्पादन हुने ठूलो मात्राको धानकै कारण ठूलो लगानीमा सञ्चालनमा रहेका चामल मिल पनि अहिले बन्द भएका छन् । धान उत्पादन घटेसँगै मिल बन्द भएको व्यवसायी बताउँछन् । चामलको विदेश निर्यात पनि ठप्प छ । अहिले भारतबाट यहाँ चामल आयात भइरहेको छ । पहिला नेपालगञ्जबाट धान निर्यात हुन्थ्यो । त्यसो हुँदा ग्रामीण क्षेत्रबाट धान नेपालगञ्ज आउँथ्यो । सडक सञ्जाल विस्तारसँगै साना मिल गाउँगाउँ पुगेका छन् । नेपालगञ्जमा धान आउन छाडेकाले यहाँका मिल बन्द भएको मिल व्यवसायी प्रदीप भट्टराई बताउँछन् ।
हाल तराईका धेरैजसो खाद्यन्न मिल बन्द भइसकेका छन्, अलिअलि भएका पनि मृत अवस्थामा छन् । आयातीत कृषि वस्तुमा परनिर्भरता बढ्दै गइरहेको छ । नेपालमा खाने मुख बढ्दै गए पनि सोहीअनुपातमा उत्पादकत्व बढाउन नसक्दा भारतसहित विदेशी परिनिर्भरता बढेको व्यवसायी अग्रवाल बताउँछन् । अहिले मुलुक कृषि वस्तुमा भारतकै भर परिरहेको छ ।

नेपालमा भारतबाट ठूलो परिमाणमा चामल भित्रिन थालेको धेरै भएको छैन । आर्थिक वर्ष २०६६÷०६७ मा एक अर्ब ८० करोडको चामल नेपाल भित्रिएको थियो । आठ वर्षको अवधिमा चामलको आयात यसरी चुलियो, आव २०७३÷०७४ सम्म आइपुग्दा १३ गुणा बढेर २४ अर्ब रुपैयाँको भित्रिएको छ । बर्सेनि चामलको आयात उछालिँदै गइरहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । कुनै समय व्यापार सन्तुलनको मुख्य वस्तु धान, चामल हुने गरेकामा अहिले बढ्दो व्यापार घाटाको मुख्य हिस्सेदार नै चामल बन्न पुगेको छ ।

नेपालबाट तोरीको तेल विभिन्न मुलुकमा पुग्थ्यो । बनस्पती घिउ पनि उत्तिकै निर्यात हुन्थ्यो । तोरी उत्पादनको प्रख्यात जिल्लामै अहिले आयातीत तेलको भर रहेको व्यवसायी अग्रवाल बताउँछन् । गत वर्ष खाने तेल र तेल उत्पादन गर्ने कच्चा पदार्थ सवा २२ अर्ब रुपैयाँको भित्रिएको छ । नेपालमा सञ्चालित ठूला तेल उद्योगले पनि भारतबाट कच्चा पदार्थ नल्याई सुखै छैन । व्यावसायिक घराना दुगड समूहले धारा तेल उत्पादनका लागि भारतबाट तोरी ल्याउने गरेको छ । अरु प्रकारको तेल उत्पादनका लागि पनि बाहिरबाटै कच्चा पदार्थ ल्याउन थालिएको छ ।

प्रकाशित मितिः     १५ असार २०७७, सोमबार १२:५७  |