चारवटा विकास बैंक छिट्टै विलयको संघारमा


नेपालगन्ज १८ असार:  विकास बैंकहरु गाभिने क्रममा चारवटा विकास बैंकहरु छिट्टै विलयको संघारमा छन् । राष्ट्रिय स्तरको गण्डकी विकास बैंक असार २१ गतेदेखि मेगा बैंकमा औपचारिक रुपमै गाभिँदै छ । असार २१ गतेबाट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुँदै छ । एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ । गण्डकीलाई प्राप्तिपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड हुनेछ ।

त्यसैगरी राष्ट्रिय स्तरको अर्को विकास बैंक देव विकास बैंक पनि कुमारी बैंकमा विलय हुँदै छ । देव विकास बैंक गाभिएपछि कुमारी बैंकको नामबाट असार २८ गतेबाट एकीकृत कारोबार सुरु हुने छ । एकीकृतपछि कुमारी बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोड हुनेछ । विकास बैंकहरु मर्जरपछि विलय हुने क्रम जारी रहेका बेला यी दुई राष्ट्रिय स्तरका विकास बैंक वाणिज्य स्तरका बैंकमा विलय हुन लागेका हुन् ।

यस्तै सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेसनलमा गाभिँदै छ । यही असार २० गतेबाट सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेसनलमा गाभिएपछि एकीकृत कारोबार हुने छ । सिटिजन्स बैंक इन्टरनेसनलले गत जेठ २७ गते बिशेष साधारणसभा गरी प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरेको थियो । सहयोगीको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९१।७५ कित्ता सेयरमा सहयोगी विकास बैंक सिटिजन्स बैंक इन्टरनेसनलमा गाभिएको हो । बैंकको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्ने तथा ऋण लगानी ७९ अर्ब ६२ करोड पुग्ने छ । सहयोगि गाभिएपछि सिटिजन्स बैंक इन्टरनेसनल चुक्ता पुँजी ९ अर्ब ८ करोड पुग्ने भएको छ ।

यसैगरी महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंक पनि एनएमबी बैंकमा गाभिँदै छ । कञ्चन एनएमबी बैंकमा गाभिएपछि एनएमबी बैंककै नामबाट संयुक्त कारोबार हुने छ । संयुक्त कारोबारको मिति भने तय भइसकेको छैन ।

प्रकाशित मितिः     १८ असार २०७७, बिहीबार ०९:५३  |