तत्काल धेरै पैसा नहुनेको रोजाइमा पर्न सक्छन् यी ४ मोटरसाइकल


काठमाडौं । कोभिड १९ को कारण भएको लकडाउन खुकुलो भएको भएपनि पूर्णरुपमा लकडाउन सकिन अझै धेरै समय लाग्ने देखिएको छ । सार्वजनिक यातायात संचालन नहुँदा कामकाजी मानिसलाई काममा जान कठिन भइरहेको छ ।

अहिले विभिन्न कम्पनीले ल्याएको अफरमा मोटरसाइकल किन्नेर आफ्नो दैनिक काममा आवतजावत गर्ने मानिसले कम रकम जम्मा गरेर मोटरसाइकल किन्न अफरहरु पाइरहेका छन् ।

यसरी अफर ल्याउनेमा यामाहा, बजाज, टीभीएस र होन्डा रहेका छन् । यी कम्पनीले बिक्री गर्दै आएका १२५ सीसीसम्मका मोटरसाइकल किन्न चाहने मानिसले कम रकम जम्मा गरेर आफ्नो काममा जान सक्ने छन् ।

कम्पनीहरुले ल्याएको अफरमा ३ वर्ष भित्र ग्राहकले मोटरसाइकलको सबै रकम चुक्ता गर्ने अवशर पाउने छन् । तर, यसरी लामो समयमा तिर्नेगरि किन्ने मोटरसाइकलमा ग्राहकले व्याज भने धेरै तिर्नु पर्ने हुन्छ ।

कम्पनीहरुले ल्याएको अफर अनुसार बजारमा बिक्री हुने उत्कृष्ट मोटरसाइकलमा होन्डा सिबी साइन, टीभीएस स्टाइकर, बजाज पल्सर १२५ र यामाहा सलुटो रहेको छ ।

ग्राहकले यी ४ मोटरसाइकल किन्दा न्यूनतम २० प्रतिशतदेखि कुनैपनि रकम डाउन पेमेन्टको रुपमा बुझाउनु नपर्ने योजना सार्वजनिक गरेका छन् ।

बजाजले २० प्रतिशत न्यूनतम डाउन पेमेन्ट गर्नु पर्ने व्यवस्था गरेको छ भने यामाहा र टीभीएसले सून्य डाउन पेमेन्टमा मोटरसाइकल दिने स्कीम दिएका छन् । होन्डाले भने १ रुपैयाँ डाउन पेमेन्टमा मोटरसाइकल दिने अफर गरेको छ ।

होन्डा साइन

होन्डा साइन १ रुपैयाँ डाउन पेमेन्ट गरेर किन्ने ग्राहकले सुरुमा तीन वर्षको बीमा शुल्क र नामसारी गर्न लाग्ने शुल्क अग्रिम तिर्नु पर्ने हुन्छ । यी शुल्क तिरेपछि ग्राहकले मासिक होन्डा साइन एसपी खरिद गर्न सक्ने छन् ।

स्याकार ट्रेडिङले होन्डा साइन एसपीको मूल्य २ लाख ३१ हजार ९०० रुपैयाँ रहेको छ । नियमित किस्ता तिर्ने ग्राहकले १३ प्रतिशत व्याजमा नै कर्जा पाउने छन् । यदी किस्ता नियमित नभएको खण्डमा भने ग्राहकले १६ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ ।

यी सर्तमा साइन एसपी किन्न ग्राहकले मासिक ७ हजार ८१३ रुपैयाँ तिरे पुग्ने छ ।

यामाहा सलुटो

यामाहाको कम्यूटर सेग्मेन्टको सलूटो डिस्क ब्रेक भएको मोटरसाइकल किन्न चाहने ग्राहकले सून्य प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सक्ने छन् ।

यामाहाको आधिकारीक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले सलूटोको बिक्री मूल्य २ लाख ११ हजार ९०० रुपैयाँ तोकेको छ । सून्य प्रतिशत डाउन पेमेन्टमा तीन वर्षे किस्तामा सलूटो किन्नेले मासिक ७ हजार ५५५ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।

कम्पनीले ल्याउको अफर अनुसार बीमा वापतको रकम, नामसारी शुल्क र सर्भिस चार्ज अग्रिम तिर्नु पर्ने हुन्छ ।

टीभीएस स्टाइकर

टीभीएसको कम्यूटर सेग्मेन्टको मोटरसाइकल स्टाइकर पनि सून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध रहेको छ । जगदम्बा मोटर्सले यसको मूल्य १ लाख ९६ हजार ९०० रुपैयाँ तोकेर बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले ल्याएको अफरमा स्टाइकर किन्न चाहने ग्राहकले मासिक ७ हजार २० रुपैयाँ तिर्नेगरि खरिद गर्न सक्ने छन् । यो मोटरसाइकल किन्ने ग्राहकले पनि बीमा, नामसारी शुल्क र सर्भिस चार्ज भने अग्रिम तिर्नु पर्ने हुन्छ ।

पल्सर १२५

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले मासिक ६ हजार २५५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने अफर गरेको छ ।

पल्सर १२५ मोडलको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यसमा कम्पनीले दुई वर्ष भित्र किस्ता तिरिसक्नु पर्ने व्यवस्था गरेको छ । यो मोटरसाइकल किन्दा ग्राहकले सुरुमा २० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्छ भने बीमा र नामसारी वापत लाग्ने शुल्क अग्रिम तिर्नु पर्ने हुन्छ । यो योजनमा १७ प्रतिशत व्याज लाग्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः     १९ असार २०७७, शुक्रबार ०७:५५  |