सरकारको स्थायित्व र नेकपा पार्टी एकताको पक्षमा धर्ना


नेपालगन्ज २३ असार :  सरकारको स्थायीत्व र पार्टी एकताका पक्षमा नेकपाको पार्टी कार्यालय नेपालगन्जमा कार्यकर्ताहरुले धर्ना दिएका
छन् । सोमबार ११ बजे पार्टी कार्यकर्ता उपस्थित भई स्थीरताका लागि सरकार परिवर्तन गर्न नहुने र पार्टी एकताबाट कोही भाग्न नहुने माग गर्दै धर्ना दिइएको हो ।

बर्तमान सरकारलाई निरन्तरता दिऔं, पार्टी एकता कायम गरौं भन्ने  नाराका साथ कार्यक्रम गरिएको नगर कमिटीका सचिव दत्तप्रसाद आचार्यले जानकारी दिए । सभालाई सम्बोधन गर्दै नेकपा बाँकेका कार्यालय सदस्य निरक गुरुङ, प्रमोद धिताल, अशोक कर्माचार्य, सुर्य ढकाल, पुजन बिश्वकर्मा, किस्मत कक्षपति  लगायतका नेता कार्यकर्ताले पार्टी एकताबाट कोही पनि भाग्न नहुनेमा जोड दिए । धर्ना कार्यक्रमका बिषयमा नेकपा बाँकेमा भने विवाद देखिएको छ ।

अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइरालाले धर्ना कार्यक्रममा पार्टीको असहमित रहेको टिप्पणी गरेका छन् । उनीहरुले यस्ता कार्यक्रमले अनुशासनहिनता बढाउने बताएका छन् । नेकपा बाँकेले केही दिन अघि प्रेस बिज्ञप्ती जारी गरी पार्टी एकताका पक्षमा बोलिसकेको छ ।

धर्नाको विषयलाई लिएर नेकपाका कार्यकर्ताहरुले सामाजिक सन्जालमा एकअर्का बिरुद्ध हिलो छ्यापाछ्याप गरिरहेका छन् । केन्द्रीय तहमा देखिएको विवाद तल्लोस्तरसम्म पुगेको छ । यता धर्ना कार्यक्रममा आयोजकहरुले केन्द्र तहमा पार्टी एकताको दवावका कार्यक्रम आयोजना भइरहेकाले जिल्ला तहमा गरिएका यस्ता कार्यक्रम बन्देज गर्न नहुने दावी गरेका छन् ।

प्रकाशित मितिः     २३ असार २०७७, मंगलवार ०७:२६  |