नेपालगन्ज २४ साउन : तीन महिने लकडाउनपछि खुलेको बजारमा व्यापारीहरूले उधारो कारोबार बन्द गरेका छन्। बजारमा स्वदेशी सामान मात्र विक्री वितरण भइरहेका छन् ।
लकडाउनअघि व्यावसायिक साझेदारबीच हुने गरेको उधारो कारोबार अहिले पूर्णरूपपमा बन्द भएको हो। “सामान आयात हुन सकेको छैन। आफ्नो गोदाममा भएको सामान उधारोमा दिनुभन्दा नगद दिएरै बेचौं भन्ने मनसायले उधारो कारोबार बन्द गरेको हुँ,” -नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले भने ।
खासगरी, कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र महामारी कहिलेसम्म लम्बिने भन्ने एकिन नहुँदा व्यवसायीहरूमा अन्योलता छाएको छ। “लकडाउनपछि खुलेको बजारमा धेरै कारोबार हुँदैन। सबैजसो व्यापारीसँग तीन महिने लकडाउनमा पैसा सकिएको छ। उधारो दिएर त कसरी चल्न सकिन्छ र,” अध्यक्ष मन्सुरीले भने ।
अहिले उधारो कारोबारलाई व्यापारीहरूले नै निरुत्साहित गरिरहेका छन्।
“रोग लागेर केही भएको अवस्थामा उधारो रकम उठाउन नसक्ने स्थिति आउन सक्छ। त्यसैले नगदमै कारोबार गर्न थालिएको हो”, संघका महासचिव चिरञ्जीवी ओलीले भने । कोरोना महामारीले आगामी दिनमा कस्तो रूप लिन्छ भन्ने अनुमान गर्न नसक्दा व्यवसायीहरूले लेनदेनमा उधारो कारोबार नगर्ने मनस्थिति बनाएका हुन्।
कोरोनाका कारण पछिल्ला दिन सानो परिमाणमा व्यापार भइरहेकाले पनि नगदमै कारोबार गर्न सहज भएको व्यापारीहरूको भनाइ छ।
कोरोनो महामारी शुरू हुनुअघि र पछि खुलेको बजारमा हुने कारोबारमा धेरै भिन्नता आएको अनुभव व्यवसायीको छ । महामारी अघि व्यापारीहरू उधारोमा कारोबार गर्दै विस्तारै पैसा जम्मा गर्ने गर्थे भने महामारीपछि त्यो अवस्था छैन।