नेपालगन्ज २७ असार : अघोषित रुपमा नेपालगन्जमा लकडाउन खुल्ला जस्तै छ । सार्वजनिक बाहेकका अन्य सवारीसधान पहिले जस्तै चलेका छन् ।
अनियन्त्रित भिडभाड यतिका छ की यहाँ लकडाउन छ भन्ने सबैले बिर्सिए । सामाजिक दुरी कायम नगरी ठूला-ठूला नारा जुलुस गर्नेलाई कारवाही छैन । प्रहरी, प्रशासनको ध्यान यतातिर छैन । बरु सर्वसाधारणलाई मास्क लगाउन रुखो र बलजफ्ती तरिका अपनाउन थालेका
छन् ।
बाँकेमा मास्क नलगाउने बिरुद्ध प्रहरीले आईतवारदेखि चोकचोकमा अभियान शुरु गरेको छ । चोकचोकमा बसेर प्रहरीले एकपटक गल्ती समेत सच्याउने मौका नदिई शुरुमा सर्वसाधारणलाई हप्काईदप्काई गरे । केहीबेर सडकमै उभ्याएपछि अपराधी जस्तै प्रहरीको भ्यान र पिकअप ट्रकमा कोचेर उनीहरुलाई चारवाहिनीस्थित पहिलेको वडा प्रहरी कार्यालयमा राखिएको छ ।
‘म भेरी हस्पिटलबाट आउँदै थिए । मास्कको डोरी चुटिएर लगाउनै नमिल्ने थियो । ठिक त्यहीबेला २ बजेतिर बिपीचोकमा प्रहरीको जाँचमा परे ।’–एक महिलाले भनिन्–‘अहिले नै किनेर लगाउँछु सर भन्दा भन्दै जीपमा कोचेर प्रहरीचौकी लगे ।’ मास्क लगाएर गल्ती गरेको महसुस गर्दा पनि प्रहरीले जर्वजस्ती गरेको ती महिलाको भनाई थियो ।
बिपीचोकबाट दर्जन बढिलाई प्रहरीले भ्यान र मिनि ट्रकमा सामाजिक दुरी समेत पालना नगराई जर्बजस्ती कोचेर चारवाहिनीस्थित पहिलेको वडा कार्यालयमा राखेको थियो । त्यहाँ रु सय रुपैया जरिवना तिराएर फर्काइएको छ ।
जरिवाना तिरेर फर्किएका एक सर्वसाधारणले भने,–‘कसैले नभने पनि आफ्नै लागि कोरोना बिरुद्धको स्वास्थ्य सुरक्षा उपाय अपाउनुपर्छ । यसमा प्रहरीले भन्नै नपर्ने हो । तर कहिले काही भुलवस त्यस्ता सुरक्षा उपाय नअपनाएको अवस्थामा एकपटकलाई माफी समेत नदिई ज्यादती गर्नु ठिक होइन ।’ उनले चर्को घाममा खटिएका प्रहरीलाई हतोत्साहित गर्ने आफुहरुको नियत नभए पनि उनीहरुले सर्वसाधारणप्रति गरेको व्यवहार ठिक नभएको बताए ।
भने,–‘प्रहरीले हाम्रै लागि यो सबै गरेको हो तर तरिका ठिक भएन ।’ एकपटकलाई माफी समेत नदिएर प्रहरीले अपराधी झैं व्यवहार गरेको सर्वसाधारणको भनाई छ । कोरोनाबाट जोगिन मास्क नलगाउँदा कारवाही गर्ने प्रहरीले त्यसरी समातेका सर्वसाधारणलाई भने जिप कोचेर लैजाने गरेको छ
यता प्रहरीले भने गृहमन्त्रालयको आदेश अनुसार काम गरिरहेको बताएका छन् । माथिल्लो आदेश अनुसार काम गरेकाले त्यसको पालना गरिरहेको उनीहरुको भनाई छ । जिल्ला प्रशासन कार्यालय बाँकेले गृहमन्त्रालयको सूचना अनुसार मास्कका विषयको निर्णय कार्यान्वयन गरिरहेको जनाएको छ । यसरी बलजफ्ती गर्नुको साटो जनस्वास्थ्य वा अन्य कार्यालयको सहयोगबाट सर्वसाधारणलाई मास्क दिने वा किन्न लगाई चेतावनी दिएर छाड्दा राम्रो सन्देश जाने सर्वसाधारणले सुझाव दिएका छन् । अनय जिल्लामा यस्तै काम भइरहेको उनीहरुको भनाई छ ।