बैंकले दवाव दिएको भन्दै सुर्खेतमा आर्थिक कारोबार पूर्णरुपमा बहिस्कार गर्दै उद्योग वाणिज्य संघ


 

सुर्खेत। सुर्खेतमा सोमवारदेखि सम्पूर्ण पसल, बजार, यातायातलगायत सबै निजी क्षेत्र अनिश्चित कालका लागि बन्द हुने भएको छ। सुर्खेत उद्योग वाणिज्य संघले विज्ञप्ति निकाल्दै सबै आर्थिक कारोबार पूर्ण रुपमा बहिष्कार गर्दै आन्दोलनका कार्यक्रम अघि सारेको छ।

दैनिक जीवनयापनकै समस्या टड्कारो बन्दै गएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिनै लागेको नाममा मानसिक तनाव हुने गरी ब्याज तथा किस्ताका लागि दबाब दिइरहेको भन्दै व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन्।

विकल्पविहीन बनेको निजी क्षेत्र पलायन हुन लागेको भन्दै राज्यले आश्वस्त पार्न नसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले दबाब दिइरहेको भन्दै आर्थिक अभाव र मानसिक यातनाको मनस्थिति बोकेर व्यापार व्यवसाय गर्न नसकिने जनाएको छ।

कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउनले पहिलो र प्रत्यक्ष असर निजी क्षेत्रलाई परेको तर सरकारले बजेटमार्फत कुनै पनि सहुलियतका कार्यक्रम नल्याएर निजी क्षेत्रलाई बेवास्ता गर्दै निराश बनाएको व्यापारीको आरोप छ। सरकार वा बैंक तथा वित्तीय संस्थाहरुले व्यापारीको माग सुनुवाई नगरे सम्पूर्ण उद्योग, व्यापार व्यवसाय, सार्वजनिक यातायात, शिक्षण संस्थाका चाबी लिएर सरकारलाई बुझाई अनिश्चितकालिन निजी क्षेत्र बन्द गरेर आन्दोलनमा उत्रने घोषणा गरेका छन्।

प्रकाशित मितिः     २९ असार २०७७, सोमबार ०८:३६  |