नौवस्ता औद्योगिक क्षेत्रको इआइए स्वीकृत


नेपालगन्ज २ साउन :  बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको छ । औद्योगिक क्षेत्र स्थापना प्रक्रिया चालेको तीन वर्षपछि बुधवार वन तथा वातावरण मन्त्रालयले इआइए स्वीकृत गरेको हो ।

इआइए स्वीकृतीसंगै प्रदेश ५ को प्रदेशस्तरीय ओद्योगिक क्षेत्र निर्माणको कामले गति लिने बिश्वास लिएको नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए ।

इआए स्वीकृत नहुँदा काम अगाडी बढ्न सकेको थिएन । पूर्वाधार निर्माणकोे लागि नभई नहुने काम सम्पन्न भए पछि नौवस्था ओद्योगिक क्षेत्रको सपना पुरा हुने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताएका छन् ।

नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने यस क्षेत्रका उद्योगीसँग नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयले आशयपत्र माग गरेकोमा  २०० बढि आशयपत्र प्राप्त भइसकेको छ ।

करीब ३३८ बिघा क्षेत्रफलमा स्थापना हुने औद्योगिक क्षेत्रमा नेपाल सरकारको योजनाअनुसार प्रत्यक्ष रोजगारको अवस्था सिर्जना हुने करीब २०० बढि ठूला र मझौला उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ । यद्यपी त्यहाँ बसोबास गर्ने सुकुम्बासीलाई जग्गा दिदा औद्योगिक क्षेत्रको क्षेत्रफल घटेको छ ।

अहिले नेपालगञ्ज बजारको मध्यभागमा सञ्चालनमा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रका कारण प्रतिकूल वातावरणीय प्रभाव परेका कारण पनि शहर बाहिर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बाध्यतात्मक परिस्थिति सिर्जना भएको हो । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेको उद्योगबाट निस्कने धँुवा र मेशिनको चर्को आवाजका कारण औद्योगिक क्षेत्र सार्नुपर्ने माग वर्षौंदेखि उठ्दै आएको थियो ।

बाँकेको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र स्थापना भएपछि नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योग आवश्यकताअनुसार त्यहाँ स्थानान्तरण गर्न सकिन्छ । नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भयो भने यसले प्रदेश नं ५, ७ र कर्णाली प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने र वस्तु उत्पादनमा मुलुक केही हदसम्म आत्मनिर्भर पनि हुने विश्वास गरिएको छ ।

प्रकाशित मितिः     २ श्रावण २०७७, शुक्रबार १२:००  |