बर्दिया २ साउन : ठाकुरबाबा नगरपालिका९ १ भुरिगाउँकी शुभेच्छा नेपालले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रबार पुस्तक सार्वजनिक गरेकी छन् ।
शुभेक्षा कर्णाली आवासिय माध्यमिक विद्यालय भुरिगाउँवाट गतवर्ष एसईई उत्तीर्ण गरि हाल बुढानिलकण्ठ स्कुल काठमाडौंमा कक्षा १२ मा अध्ययनरत छिन् ।
उनले लेखेको बाल चित्रकथा खपटे र पङ्खे आफ्नो जन्मदिनको अवसर पारि ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठलाई हस्तान्तरण गर्दै सार्वजनिक गरिन ।
सो अवसरमा नगरप्रमुख श्रेष्ठले सानै उमेरमा पुस्तक प्रकाशन गरेकोमा बधाई ज्ञापन गर्दै लेखन यात्राको निरन्तरताको शुभकामना व्यक्त गरे । नगरपालिकाका उपप्रमुख कृष्णा कुश्मा थारू,प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजाल,सामाजिक विकास समितिका संयोजक राधा चौधरी,नेपाल शिक्षक महासंघ,प्रदेश नं. ५ का उपमहासचिव नवराज ढुंगाना लगायतका महानुभावहरूले पुस्तक लेखनका लागि बधाई दिए ।
सेन्स नेपाल, डब्लुडब्लुएफ र परिचय पव्लिकेशनद्वारा आयोजित कार्यशाला मार्फत सिकेको सिपवाट तयार पारिएको कथाको लेखन शुभेक्षा नेपाल,चित्राङ्कन किशोर कनौजियारहेको पुस्तकको प्रकाशन परिचय पव्लिकेशन,काठमाडौंले गरेको हो ।
यसरी सानो उमेरमा पुस्तक प्रकाशन गरि आफ्नो जन्मदिनमा सार्वजनिक गर्ने अवसर मिलेकोमा आफुलाई अत्यन्त खुशी लागेको वताउंदै पुस्तकका लेखक नेपालले कथा लेखनको अवसर प्रदान गर्ने सेन्स नेपाल र परिचय पव्लिकेशन काठमाडौं लगायत सहयोग र उत्प्रेरणा प्रदान गर्नु हुने सम्पूर्ण गुरूजन लगायत सबैमा धन्यवाद ज्ञापन गरिन ।
ठाकुरवावा नगरपालिका वडा नं.९ मा रहेको खौराहा खोलाको परिवेश जोडेर लेखिएको बालचित्र कथामा खोलानालामा मानिसहरूले विष हालेर माछा मार्ने,जलीय जन्तुलाई असर पुर्याउने खालका विषादी पानीमा मिसाउदा पर्ने असर बारे जानकारी गराई यस्ता कार्य नगर्न बालबालिकाहरूमा सन्देश दिने प्रयास गरिएको पुस्तकका लेखक नेपालले बताइन ।
सानैदेखि कथा,कविता निबन्ध लेखनमा रूची राख्ने नेपालले विद्यालय स्तरमा आयोजित जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम,मध्यपश्चिम क्षेत्रीय कविता प्रतियोगितामा तृतीय हुनुका साथै वक्तृत्वकला,हाजिरी जवाफ लगायतका जिल्ला,स्रोतकेन्द्र स्तरीय र नगरपालिका स्तरीय प्रतियोगितामा पुरस्कृत भइसकेकी छन् । विभिन्न अनलाइन तथा पत्रपत्रिकामा लेख रचना र कविता लेख्ने नेपालको कृति यसक्षेत्रका बालवालिकाहरूवाट प्रकाशित पहिलो प्रकाशित हुन सक्ने देखिन्छ ।