एजेन्सी । सन् २००२ मा जब मुकेश अम्बानी र अनिल अम्बानीका बुवा धिरुभाई अम्बानीको मृत्यु भयो त्यस बेलादेखि यी दुई दाजुभाईबीच झगडा उत्पन्न हुन सुरु भएको हो । धेरैपटक त यी दुईको झगडा सार्वजनिक रुपमा बाहिर पनि आएको छ । अन्ततः उनीहरुकी आमा कोकिलाबेन अगाडी आएर दुई दाजुभाईबीच सम्बन्ध सुधार गर्न मध्यस्तता गरिन् ।
दुई दाजुभाईबीच झगडा मिलाउने एउटै उपाय भनेको पारिवारिक व्यवसायलाई बाँडफाँड गर्नु थियो । मुकेशले तेल, ग्याँस, पेट्रो क्यामिकल, रिफाइनिङ तथा मेनिफ्याक्चरिङको भाग पाए भने अनिलले विद्यूत, टेलिकम तथा वित्तिय सेवाको भाग पाए । तर आज एकजना भाई एशियाकै धनाढ्य व्यक्ति बन्न पुगेका छन् भने अर्को भाईको कूल नाफा नै शून्यमा पुगेको छ । आज हामी दुई अम्बानी दाजुभाईको सम्पत्तिको तुलना गर्नेछौं ।
हिरोदेखि जिरो
सन् २००८ मा अनील अम्बानी फोब्र्सको छैठौं धनाढ्य व्यक्तिको सूचीमा थिए । त्यसबेला उनको कूल सम्पत्तिले ४२ अर्ब डलर नाघ्ने आँकलन गरिएको थियो । तर १२ वर्ष पछि आईपुग्दा कुनै बेलाका धनाढ्य अनिल मूल्यहिन बन्न पुगे ।
के भएको थियो ?
अनील कानुनी मुद्दाहरुको जटिल जन्जालमा फँसेका थिए । डिलहरु असफल हुन थालेको थियो भने कम्पनी पनि अव्यवस्थित बन्दै गइरहेको थियो । छोटकरीमा भन्नुपर्दा, अनीलको नियन्त्रण रहेको त्यसबेलाको रिलायन्स कम्युनिकेसनले बढ्दो टेलिकम उद्योगको गतिमा आफूलाई दौडाउन सकेन । कम्पनीलाई अघि बढाउन ऋणहरु लिईयो र मूल्य युद्धको उदय भयो । जसले गर्दा रिलायन्स कम्युनिकेसनमा थप ऋणभार बढ्यो र बैंक्रप्ट भयो । यो विषयसँग जानकारहरुका अनुसार जब मुकेस टेलिकम उद्योगमा छिरे तब गेमओभर भयो ।
सहयोगको लागि बोलाएर पछि दाजु भित्र आए
स्विडेनको टेलिकम कम्पनी इरिक्सनलाई ८ करोड अमेरिकी डलरको ऋण तिरिदिन दाजु मुकेश अम्बानी अघि आए पछि दाजुभाईबीच शान्तिको संकेत देखिन सुरु भयो । सो ऋण नतिरेको खण्डमा अनिललाई जेल हुनेसम्मका सम्भावित खतरा अगाडी थिए । दाजुले बचाए पछि उनले मुकेशलाई धन्यवाद दिएका थिए ।
गरिब भनी परिभाषित भएको क्षण
एक वर्षकै अवधिमा अनिल अम्बानी मातहत रहेका छवटै कम्पनीको संयुक्त बजार पूँजी मूल्य आधामा झर्यो । तिर्न नसकेका ऋणका कारण लागेका मूद्दाका कारण विश्व सिंगो विजनेस जगतमा उनको परिभाषा छुट्टै बन्यो । गत फेब्रवरीमा उनले लण्डन अदालतमा आफ्नो कूल मूल्य शून्य भएको जवाफ दिएका थिए । उनीमा तरलता भएता पनि उनको सम्पत्ति फेरी सम्पत्ति कमाउनलाई अर्थपूर्ण थिएन । उनी हिरोदेखि जिरो भए ।
मुकेशको सम्पत्तिमा अकल्पनीय वृद्धि
धिरुभाई अम्बानीको कम्पनीमा नराम्रो विभाजन पछि मुकेशले भने सफलताको शिखर लगातार चढ्दै गइरहे । यसै क्रममा उनी एशियाकै धनाढ्य व्यक्ति समेत बने २०१८ मा । यससँगै उनी विश्वकै एक धनाढ्य व्यक्ति पनि बने । फोरजी सर्भिस जियोलाई भारतमा सार्वजनिक गरेर देशका महत्वपूर्ण टेलिकम कम्पनीहरुबीच मूल्य युद्ध नै सृजना गर्ने जस्तो उनको आक्रमक व्यवसायिक रणनीतिका कारण उनले आफ्नो विजनेस मित्र तथा शत्रूबाट समेत इज्जत कमाए ।
हालैको केही महिनामा फेसबुक, गूगल, केकेआर, साउदी अरबको स्वाधिन वेल्थ फण्ड जस्ता ठूला ब्राण्ड र नामहरुले जियो प्लेटफर्ममा लगानी गरेपछि मुकेशको कूल मूल्यले रकेटको गति पकडेको छ । जियोको ३४ करोडभन्दा धेरै प्रयोगकर्तालाई निशूल्क डोमेस्टिक कल तथा सस्तो डाटा सेवा दिने जियोको निर्णयले मुकेश अम्बानीलाई यो बजारकै नेता बनाएको छ ।
ह्वाट्सएप पछि फेसबुकको समेत ठूलो डिल भनेको मुकेश अम्बानीको जियो प्लेटफर्मसँग नै हो । उसले पाँच अर्ब ७० करोड डलरको डिल सम्पन्न गरेको हो । यसको उद्देश् भनेको नेटवर्कको इ कमर्श प्लेटफर्म प्रयोग गर्ने स्थानीय पसलेलाई जोड्नु हो ।
२०२० मा मुकेशको कूल आय साढे ६४ अर्ब डलर रहेको थियो । यसपश्चात उनी विश्वको शिर्ष दशौैं धनाढ्य व्यक्तिको सूचीमा परेका छन् । गत वर्ष रिलायन्सको शेयरहोल्डर वैठकमा उनले गर्वका साथ रिलायन्सको लागि सुनौंलो दशक भनेर घोषणा गरेका थिए ।
एससीएमपीबाट