आजभोली विभिन्न समाचार माध्यममा विविध किसिमका मनै लोभ्याउने खालको बैंकले ८.२५ प्रतिशत ब्याजदरमै कर्जा, १० बर्ष सम्म किस्तामा गाडी खरिद गर्ने कर्जा , २४ घन्टामा कर्जा जस्ता अनेकन खबर सुन्न पाइन्छ । यसले बजारमा चर्चा खुबै पाएको छ । अझ यसलार्इ सहुलियतको बाढिनै आउन लागेको, व्यापार ब्यबसायका राम्रा दिन आउन लागेको जस्तो भान हुन थालेको छ ।
यो परिस्थितिमा बैंक वा उनका संचालकले कुनैपनि बहानामा आहिले रहेको तरलता सक्ने र पुनः ब्याज बढाउने बाहेक अरु केही पनि होइन । यसको एक इतिहास भारतीय सिमा नाकाबन्दी र त्यसपछि बैंकमा आएको ठूलो तरलता र त्यस संगै आएको ५.९९ प्रतिशत सम्मको बार्षिक ब्याज योजनाका मनै लोभ्याउने विभिन्न कर्जा योजना, सो योजनामा खुसिका साथ कर्जा लिएका हरुको ब्याज बृद्दी, तेस्रो त्रैमाससम्म तिर्दै जादा ब्याज/सावाँ भुक्तानी गर्दा ह्वात्तै बढेर तिरेको १४ प्रतिशत- १६ प्रतिशत ब्याजको किस्ता, अनि मुटु फुट्ने गरि झरेको आँशु, सोही योजनाले सडकमा आएका परिवारहरु सम्झे पुग्छ ।
बन्दाबन्दिले थलो थलो परेका ब्यबसायलाइ तथा निरन्तर सोही बैंकसंग राम्रो कारोबार गरिरहेका ब्यबसायमा बैंकले खासै छुट नदिइ नयाँ आउने ग्राहकको लागि मात्र यस्तो लोभ्याउने योजना ल्याउनु नै बल्छिमा चारो सरहको योजना हुन भनी स्पस्ट हुन जरुरी छ । पटक पटक हाम्रो ब्यबसायमा आउनेर हामिलाई बोलाउने तथा विभिन्न प्रलोभनमा पारी कर्जालिन उक्साउने बैंकका कर्मचारिकार्इ प्रश्न गरौं कि तपार्इको पुराना ग्राहकलार्इ कस्तो सुबिधा छ ?
जवाफ हुनेछ तपाईं तथा नया कर्जाको लागि यस्तो सुबिधा हो । अब यहाँनेर बुझ्न के जरुरी छ भने नयाँ कर्जा पुरानो हुन कति समय लाग्छ र पुरानो भएर बल्छि मुख भित्र परिसकेपछी के कति गर्न सकिन्छ ?
कतिपय बैंक त झन फाइनान्सियल रिपोर्टनै घटेको ब्याजका आधारमा किस्ता सम्म तोक्दै हिडेको पाइएको छ । यस्तो क्रियाकलापले आउने दिनमा कर्जा लिनेहरुलाइ ठूलो समस्यामा पर्ने निश्चित जस्तै छ । उत्पन्न परिस्थितिमा आफ्ना रहिआएका ग्राहकको सुबिधा तथा सहजता तर्फ नलागी नयाँ ग्राहक तर्फलाग्दा आफ्नो रहि आएका ग्राहक कम हुँदै जाने र थप आउने ग्राहकले बैंकहरुको पनि खासै कारोबार पनि बढ्न सक्दैन । बैंकहरु एक अर्काको लडाइले पुन ब्यपारिनै अचानो हुनेहोकी भन्ने खतरा आउन लागेको भान हुन लागेको छ ।
सचेत रहि परिस्थिको सहि आकलन गरि बैंक सार्दा होस् या नया कर्जा लिदा होस् कम्तिमा १२ प्रतिशत या बढी बार्षिक ब्याज अनुसारको री पेमेन्ट तालिका अनुसार र सो अनुसारको भुक्तानी क्षमता आकलन गरि बैंक जानुपर्ने आवस्यकता छ । अन्यथा पुन बैंक तथा व्यापार धरापमा जाने निश्चित छ । सवैलार्इ सचेत रहन आग्रह गर्दछु ।
- जिआर भुसाल
महासचिव
नेपाल घरेलु तथा सान उद्योग महासंघ,
जिल्ला शाखा बाँके