मौद्रिक नीति प्रभावकारीरुपमा कार्यान्वयन हुनुपर्छ : अब्दुल वाहिद मन्सुरीसंगको कुराकानी


उद्योगी, व्यवसायीको छातासंगठन नेपालगन्ज उद्योग वाणिज्य संघले नयाँ नेतृत्व प्राप्त गरेलगत्तै कोरोनाको महामारी शुरु भयो । उद्योगी, व्यवसायीको हकहितका लागि कार्ययोजना ल्याउन नपाउँदै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेतृत्वको नयाँ कार्यसमिति कोरोना कहरका बिरुद्ध निजीक्षेत्रले गर्नुपर्ने काममा सक्रिय हुनुपर्यो । समग्र आर्थिक अवस्था र कोरोना कहरले व्यवसायीलाई पारेको प्रभावका बारेमा अध्यक्ष मन्सुरीसंग गरिएको कुराकानी यहाँ प्रस्तुत छ,

कोरोनाले निजीक्षेत्रलाई कति प्रभावित बनायो ?

मानव इतिहासका लागि अहिलेको समय निकै त्रासदीपूर्ण छ । मानव सभ्यता माथि नै चुनौती उत्पन्न भएका बेला यो सङ्कटले विश्व अर्थतन्त्रको नै थलिएको छ । सामान्य व्यवसायीदेखि ठुला ठुला व्यवसायीसम्म कसैलाई पनि कोरोनाले छाडेन । कोरोनाका कारण पश्चिम नेपालको आर्थिक राजधानी नेपालगन्ज लगायत बाँकेको निजीक्षेत्र त्रसित र धरासायी बनेको छ । पश्चिम क्षेत्रमा नेतृत्वदायी भूमिका निभाउने यहाँको निजीक्षेत्र यतिबेला चरम संकटबाट गुज्रिरहेको छ । कहिले पार पाउने हो निश्चित छैन् ।

अर्थतन्त्र यतिबेला नराम्रो गरी प्रभावित भएको छ । मानिसका लागि अर्थतन्त्र नभई नहुने कुरा हो । तर कोरोनाले मान्छेको स्वास्थ्य र अर्थतन्त्र थला पारिदिएको छ । मुलुकमा आर्थिक गतिविधि ठप्प भएकाले अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ । लकडाउन घोषणापछि उद्योग कलकारखाना, व्यापारिक प्रतिष्ठान, बजार सबै बन्द भएको छन् । आयात–निर्यात दुवै प्रभावित भएको छ । औद्योगिक प्रतिष्ठान, सेवा क्षेत्र, वैदेशिक रोजगारी, निर्माण क्षेत्रमा लाखौंको रोजगारी प्रभावित भएको छ । होटल, रेस्टुरेन्ट, यातायात, पर्यटनसहित केही व्यापारिक प्रतिष्ठानले कर्मचारीलाई बेतलबी बिदा दिएका छन् । दैनिक ज्यालादारीमा काम गर्नेमात्र नभएर वैदेशिक रोजगारीमा गएका समेत प्रभावित भएका छन् । स्वदेशी तथा विदेशी नयाँ लगानी रोकिएको छ । यो अवस्था लम्बिए अर्थतनन्त्र थप भयावह अवस्थामा पुग्नेछ ।

यसरी प्रभावित बनेको अर्थतन्त्र उकास्न राहतका कार्यक्रम माग भइरहेका छन् । यस सम्बन्धमा नेपालगन्ज उद्योग वाणिज्य संघले कसरी पहल गरिरहेको छ । मौद्रिक नीति पनि आयो । यसलाई कसरी हेर्नुभएको छ ?

कोरोनाले प्रभावित बनेको अर्थतन्त्र उकास्न राहतका कार्यक्रम आउनै पर्ने थियो । तर अह † राहत दिने तर्फ सरकारले कुनै ध्यान दिएन । जसले गर्दा हाम्रो धैर्यताको बाँध टुटेको अवस्था हो । कोरोना नियन्त्रण गर्न तीन महिनादेखि निरन्तर लागु गरेको लकडाउनका कारण अर्थतन्त्र नराम्रोसंग प्रभावित बन्यो । यसरी प्रभावित बनेको अर्थतन्त्र उकास्न सरकारका तर्फबाट कुनै राहतका कार्यक्रम प्राप्त हुन सकेको छैन । यद्यपी मौद्रिक नीतिले केही सकारात्मक आशा जगाएको छ । त्यो पनि कार्यान्वयन के हुन्छ हेर्न बाँकी छ । कोभिडबाट थलिएका उद्योगीलाई मौद्रिक नीतिले ठूलो राहत दिने गरी नीति बनाएको आभास दिएको छ । मौद्रिक नीतिले उद्योगीमाथि आशाको किरण छरेको छ । हामीले उठाएका मध्ये अधिकांस सुझाव मौद्रिक नीतिमा समेटिएको महसुस भएको छ । अब कार्यालन्वयन राम्रो हुनुपर्छ । प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई २०७७ पुस मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । कोभिड–१९ बाट मध्यम रुपमा प्रभावित पेशारव्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवाको किस्ता र ब्याज रकमलाई २०७७ चैत मसान्तसम्ममा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइने कुरा सकारात्मक हो । खासगरी बैंक ब्याजदर घटाउने विषयमा मौद्रिक नीति मौन रहेको छ । स्प्रेड घटाउनुपर्छ भन्ने निजी क्षेत्रको माग थियो । त्यसैगरी निजी क्षेत्रले बेसरेटमाथि २ प्रतिशत थपेर ऋणको ब्याज तय गर्न पनि केन्द्रीय बैंकलाई सुझाइएको थियो ।

कोरोना संक्रमणका बिरुद्ध यहाँहरुले के गर्नुभयो ।

कोरोना संक्रमण रोक्न र यस क्रममा उत्पन्न भएका समस्या समाधानका लागि हामीले सक्रियतापूर्वक भूमिका निभाएको महसुस गरेका छौ । बजारमा कुनै प्रकारका कृत्रिम कालोबजारी, अभाव नहोस् भन्ने उदेश्यले निरन्तर काम गर्यौ । उपभोक्ता सामाग्रीको अभाव हुन नदिन जोखिमका बीच संघले घुम्ती पसल सन्चालन गर्यो । सेना, प्रहरी, स्वास्थ्यकर्मी, पत्रकारलाई पूर्वाधार निर्माणदेखि कोरोनाबाट जोगिने आवश्यक सामाग्रीसम्म प्रदान गरेका थियौं । एउटा आपत्तकालिन कोष नै बनाएर काम गरेका थियौं ।

कोरोना कहर भन्दा फरक प्रसंगमा कुरा गरौं । प्रदेशको विभाजन पछि नेपालगन्जमा एक प्रकारको चिन्ता र असन्तुष्टि जस्तो देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?

नेपालगन्ज साविकको मध्य र सुदूरपश्चिमको आर्थिक राजधानीका रुपमा स्थापित छ । अहिले मात्र होइन सदियौंदेखि नै यो शहर पश्चिम नेपालको सबैभन्दा ठूलो आर्थिक केन्द्र हो । हाटबजारदेखि अहिलेको सुपरमार्केटको जमानासम्म आईपुग्दा यो शहर देशभर स्थापित छ । यति हुँदाहुँदै पनि राज्यका तर्फबाट भने हेयको नजरले हेरेको यहाँका जनताको बुझाई रहेको छ । पंचायतकालदेखि नै नजरअन्दाज गर्ने काम हुँदै आयो । पछिल्लो राजनीतिक परिवर्तनले पुरानो त्यो सोंचमा फेर्ने बिश्वास गरिएको थियो । तर झन् निरास बनाएको अवस्था छ । परिवर्तनका लागि नेपालगन्जले पटक पटक ठूलो मुल्य चुकाएको छ ।अहिलेको परिवर्तन आउनमा हामी उद्योगी, व्यवसायीको भूमिका पनि उत्तिकै महत्वपूर्ण भूमिका रह्यो । परिवर्तनमा भूमिका खेलेको नेपालगन्जले ले निरासा बाहेक केही पाएन ।

बिभिन्न आन्दोलन पश्चात देशमा नयाँ संविधान जारी भई तीन तहका सरकार बनेर राज्य पुर्नसंरचनामा परिवर्तन भएको अवस्था छ । यसले देशमा बेग्लै उत्साह थपेको छ,तर बद्लिएको परिस्थितीले नेपालगन्जलाई सन्तुष्ट पार्न सकिरहेको छैन । राज्यपुर्नसंरचनाले बाँकेलाई पछि धकेली रहेको भन्दै बिभिन्न क्षेत्रबाट चिन्ता र चासो व्यक्त भइरहेका छन् । यो चासो र चिन्ता जायज पनि छ ।

यो ऐतिहासिक शहरको महत्व बेग्लै छ । के अहिले व्यक्त भएको निरासा सत्य सावित होला त ?

निरासा छ तर त्यही निरासामा रुमल्लिएर नेपालगन्ज बस्दैन । आफ्नै गतिमा अगाडी बढ्ने बिश्वास छ । नेपालगन्जलाई बिगतमा पनि अनेक बहानामा पछि पार्ने प्रयास भएकै हो । यो शहरको महत्व बेग्लै छ । कसैले चाहाँदैमा पछि पर्दैन । तर यसको विकासको गति भने कम भएकै छ । यद्यपी हामी हाम्रो विकासको गति कम हुन नदिने प्रयत्नमा लागेका छौं । तीनवटै तहका सरकारलाई सचेत गराउँदै यहाँको विकासका लागि कम्मर कसेर लागेका छौं । निजीक्षेत्र त्यसमा हातेमालो गरेर अगाडी बढ्छ । ऐतिहासिक शहरको चमक कम हुन नदिन काम गछौं ।

 

तपाईका योजना के छन् ?

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा सारथी बनेका उद्योगी, व्यवसायीहरुको आस्थाको केन्द्र नेपालगन्ज उद्योगी वाणिज्य संघ अहिले देशकै नमूना उद्योग वाणिज्य संघका रुपमा स्थापित छ । वर्षौदेखि यस संघले व्यवसायीक हित र सामाजिक आन्दोलनको अगुवाई गर्दै आएको कुरा सर्वविदितै छ । उद्योगी, व्यवसायीको हकहित मात्र होइन सामाजिक परिवर्तनका मुद्दामा समेत हामी निरन्तर सक्रिय छौं । राज्यको पुर्नसंरचनासंगै बनेका स्थानीय, प्रदेश र केन्द्रीय तहसम्मका नीति निर्माताहरुलाई व्यवसायीक र बाँकेबासीको हितमा सदैव झक्झक्याउने काम गर्दै आएका छौं ।
देशमा राजनीतिक स्थिरता आएता पनि उद्योग, व्यवसाय क्षेत्रका धेरै मुद्दाहरु सम्बोधन हुन सकेका छैनन् । उद्योगी, व्यवसायीका थुप्रै समस्या सतहमा देखिएका छन् । लगानीमैत्री वातावरणका लागि कानुनी झण्झट झेल्नुपरिरहेको अवस्था छ । व्यवसायीलाई बिभिन्न बाहनामा राज्यका निकायबाट दुःख दिने काम भइरहेको छ । बैंकको अस्थिर ब्याजदरले उद्योगी, व्यवसायीको उठिबास भएको छ । त्यसको प्रत्यक्ष प्रभाव रोजगारीमा परेको छ भने हजारौ युवाहरु कामको खोजिमा बिदेश भौतारि रहनुपरेको छ ।
खुल्ला सिमाका कारण नेपालगन्जको व्यवसाय धरमर भइरहेको अवस्था छ । यो हाम्रा लागि सबैभन्दा ठूलो चुनौतीका रुपमा देखा परेको छ भने अर्कोतर्फ सरकारले ल्याएका नयाँ कर प्रणालीहरु अव्यवहारिक र झञ्झटिलो बन्दा उद्योगी, व्यवसायी मर्कामा परेका छन् । यस्तो परिस्थितीमा सिङ्गो बाँके र यहाँका उद्योगी, व्यवसायीको सारथी बन्ने जिम्मेवारी दिनुभएकोमा सर्बप्रथम सम्पूर्ण मतदाता उद्योगी, व्यवसायीमा अनुरोध छ । उद्योगी, व्यवसायीले हामीलाई दिनुभएको जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्दैनौं ।

नेपालगन्जलाई आर्थिक हब बनाउन के गर्नुहुन्छ ?

नेपालगन्ज पश्चिम नेपालको आर्थिक ‘हब’का रुपमा स्थापित हुँदा हुँदै पनिअपेक्षाकृत उद्योगको संख्या बढ्नसकेको छैन । यद्यपी अहिले बाँकेका लगानीकर्ताको आर्कषण बढेको छ । यो खुःसीको कुरा हो । नेपाल र भारत व्यापारको ढोका खोल्ने, एकिकृत भन्सार चेकपोष्ट रेलमार्ग बिस्तार, नौवस्ता औद्योगक क्षेत्र, बिशेष आर्थिक क्षेत्र ‘सेज’ जस्ता योजना कार्यान्वयनको चरणमा रहेका बेला आगामी दिनमा यहाँ सानादेखि ठूला लगानीका उद्योग, करकारखाना स्थापना हुने प्रशस्त सम्भावना छ । यसका लागि लगानीकर्तालाई आर्कषित गर्न हाम्रो पहलकदमी पनि आवश्यक देखिन्छ । तसर्थ देश÷बिदेशका लगानीकर्तालाई बाँकेमा आकर्षित गर्नस्पष्ट योजना सहित ‘लगानी सम्मेलन’, अन्र्तराष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी जस्ता बिषयगत मेला आयोजना गर्ने प्रतिवद्धता जनाउँदछौं । लगानी बोर्डलाई आह्वान गरी बिज्ञ समूह मार्फत त्यसको स्पष्ट खाका निकट भविष्यमै निर्धारण गर्नेछौं । लगानीसम्मेलन र कृषि तथा औद्योगिक प्रदर्शनीले बाँकेमा लगानी गर्नका लागि राज्य र लगानीकर्ताको ध्यानयसतर्फ खिच्ने छौं ।

जिल्लाको पर्यटनको विकासमा कस्तो भूमिका खेल्नुहुन्छ ?

पछिल्लो समय बाँकेको पर्यटन उद्योगमा पनि ठूलो लगानी भित्रिएको छ ।तारे होटल , चिल्डे«न पार्क, होमस्टे जस्ता क्षेत्रमा उत्साह जनक लगानी भए पनि पर्यटन क्षेत्रको स्पष्ट रणनीति नहुँदा लगानीकर्ता आफ्नो भविष्य अनिश्चित बन्ने हो की भन्ने निरासा व्यक्त गरिरहेका छन् ।व्यवसायीहरुकोनिरासालाई आशामा बदल्न र पर्यटन क्षेत्रमा उत्साह जगाउन निजी क्षेत्रको तर्फबाट प्रभावकारी काम गराउन पहल गरिने छ । नेपालभ्रमण वर्ष २०२० शुरु भइसकेको अवस्थामा पर्यटन क्षेत्रको प्रचार प्रसारमा ध्यान दिने, पूर्वाधारहरु जस्तै नेपालगन्ज– दिल्ली उडान, नेपालगन्ज पोखरा उडान, नेपालगन्ज–मुगु नियमित उडान गराउन, मानसरोवर जाने रुटलाई स्थायी बनाउन नेपालगन्ज हिल्सा सडक मार्गलाईस्तरोन्नती गर्न सम्बन्धित निकायमा पहल गर्दै नेपालगन्जलाई पश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा स्थापितगराउन सम्बन्धित निकायसंग पहल गर्नेछौं ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?

निरास भएर मात्र भएर यो शहरलाई अगाडी बढाउनका लागि हामी सबै जुट्नुपर्ने बेला आएको छ । यसका लागि सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज, बाँकेबासी दाजुभाई एक भएर अगाडी बढ्नुपर्छ । त्यसका लागि निजीक्षेत्रको तर्फबाट हामी निरन्तर लागिपर्छौ ।

नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा प्रकाशित अर्थ सम्बृद्धि त्रैमासिक बुलेटिनबाट ।

प्रकाशित मितिः     3:11:01 PM  |