कोरोना बिरुद्ध जनचेतनामुलक कार्यक्रम


बाँकेमा सुरक्षा निकायको अग्रसरतामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको आयोजनामा बुधबार साँझ धम्बोझी चौकमा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।
सो अवसरमा सर्वसाधारण लगायतलाई मास्क वितरण गरिएको थियो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामवहादुर कुरुम्बाङले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि प्रत्येक ब्यक्ति आफैमा सचेत र सजग हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालगञ्जमा पछिल्लो समय भईरहेको परीक्षणमा सरकारी कर्मचारी तथा सामान्य ब्यक्तिलाई समेत कोरोना संक्रमण देखिएपछि प्रशासनको अग्रसरतामा प्रचारात्मक जनचेतनामुलक कार्यक्रम सुरु भएको हो ।
कार्यक्रममा प्रजिअ कुरुम्बाङ,नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर,जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमवहादुर रानाले सर्बसाधारणलाई मास्क वितरण गर्नुभयो ।
उहाहरुले मास्कको नियमित प्रयोग गर्न आग्रह गर्नुभयो । पछिल्लो समय बाँकेमा प्रहरीले केही दिनअघिदेखि नै अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गर्दै आएको छ ।
प्रकाशित मितिः     8:20:25 PM  |