योजना ल्याउनुहोस्, कार्यान्वयनको जिम्मा मेरो भयो-प्रदेश सांसद ठम्मर विष्ट


गुर्भाकोट(सुर्खेत) २२ साउन :  कर्णाली प्रदेशका प्रदेश सांसद ठम्मर विष्टले जनताले ल्याएका योजना कुनै पनि हालतमा कार्यान्वयन गराई छाड्ने प्रतिवद्धता जनाएका छन् ।

गत आर्थिक वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास पूर्वाधारका योजना अनुगमन तथा उद्घाटन गर्न गुर्भाकोट पुगेका सांसद विष्टले भने,-तपाई योजना ल्याउनुहोस्, म कार्यान्वयन गराउँछु । जनता सर्वोपरी भएकाले उनीहरुले ल्याउने योजनालाई नजर अन्दाज गर्न नदिने पनि विष्टले स्पष्ट पारेका छन् ।

गुर्भाकोटको पारेखेतमा सडक उद्घाटन गर्दै विष्टले भने, यदि कसैले जनताको योजना कार्यान्वयन गर्न नदिने सोच्छ भने म त्यसका बिरुद्ध लाग्छु । सांसद विष्टले पूर्वाधार विकासले आमनागरिकको जीवनशैलीमा परिवर्तन ल्याउने बताए ।


जनताको आर्थिक स्थिती परिवर्तन गर्नका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउँदै सांसद विष्टले ती योजनाहरु कुनै पनि खोट बिना पुरा गर्नुपर्ने बताए । योजना कार्यान्वयनमा दायाबाया गरेको थाहा पाए ठिक नहुने पनि उनले बताए ।

सांसद विष्टले पातीहाल्ना,पारेखेत, पोखरा लगायतका सडक उद्घाटन गरे भने राजीगाउँ ड्याम उद्घाटन सम्पन्न गरेका छन् । सांसद विष्टले अहिले तयार भएका सडक लगायतका पूर्वाधार क्रमश स्तरोन्नती गरिने प्रतिवद्धता जनाए । उनले ग्राभेल सडक पिच गर्ने कार्यमा जोड दिइने बताए ।

वडा कार्यालयदेखि पारेखेतसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रोमहर्ष ओलीका अनुसार, सांसद विष्टले जनताले ल्याएका योजना कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मितिः     9:32:11 AM  |