काठमाडौं। तोकिएको भन्दा बढी मूल्य लिने व्यवसायीहरुलाई वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले कारवाही गरेको छ।
लाजिम्पाटस्थित मुगल एम्पाएर मल्टी कुजिन रेष्टुरेन्टले तोकेभन्दा बढी मूल्य लिएको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
अनुगमन टोलीले लाजिम्पाटमा रहेको उक्त रेष्टुरेन्टले बढी मूल्य लिएको फेला पारेपछि कारवाही गरेको हो।
यसैगरी विभागले व्यवसाय दर्ता नगरी कारोबार गर्दा मदन कार्कीको खाद्यान पसललाई पनि ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
ठिमीको गुडमर्निङ स्टोरलाई खरिद बिल प्रयोग नगरी कारोबार गर्दा २० हजार जरिवाना गरेको छ। बुढानिलकण्ठमा रहेको बुढानिलकण्ठ मिनरल वाटर प्रालिलाई व्यवसाय दर्ता नगर्दा ५० हजार जरिवाना गरेको जनाएको छ।
साथै बिलबिजक जारी नगरी सामान बिक्री गर्दा भक्तपुरमा रहेको झिगु फार्मेसी २ लाख रूपैयाँ जरिवानाको कारवाहीमा परेको छ।
केही दिनयता विभागले व्यवसाय दर्ता नगरी कारोबार गरिरहेको थाहा पाएपछि दैनिक बजार अनुगमनलाई निरन्तरता दिएको छ। विभागले बुधबारदेखि वाणिज्य दर्ता तथा नियमनको कार्यविधिलाई व्यवस्थित गर्न अनलाइनमार्फत सेवा प्रवाह सुरु गरेको छ।