विश्वभर फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमणकै कारण सही, नेपालको वित्तीय क्षेत्र प्रविधिमैत्री बन्दै गएको छ । विगतदेखि नै प्रविधिको विकास र प्रयोगमा जोड दिँदै आएका बैंक तथा बिमा कम्पनीहरूले कोभिड -१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बीच पनि नयाँ‑नयाँ प्रविधिको प्रयोगमा जोड दिएका हुन् ।
वित्तीय संस्थाहरु सेवाग्राहीलाई इन्टरनेटको प्रयोगबाट अधिक बैंकिङ सेवा प्रवाह गर्न कम्मर कसेर लागेका छन् । उनीहरूले नयाँ‑नयाँ अफरसमेत ल्याएर सेवाग्राहीलाई प्रविधिको प्रयोग गर्न अभिप्रेरित गरिरहेका छन् ।
सानिमा बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले साउन १३ गतेदेखि डिजिटल काउन्टर सञ्चालनमा ल्याएको हो । डिजिटल काउन्टरमार्फत सानिमा बैंकका ग्राहकले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई बैंकिङ’ बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्युआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए । प्रधान कार्यालय नक्सालबाट सुरु गरिएको यो सेवा समयअनुसार थप सुविधा समायोजन गरी देशभर विस्तार गरिने सानिमा बैंकले जनाएको छ ।
एनआईसी एसिया बैंकले आफैँ खाता खोल्न सकिने सुविधा सुरु गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ बैंकिङ अभ्यास गर्दै आएको एनआईसी एसियाले सेवाग्राही आफैँ बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीको सुरुवात गरेको हो ।
ग्राहकले ‘डिजिटल अकाउन्ट ओपनिङ’ प्रणालीमार्फत भौतिक फारामको सट्टा खाता खोल्नका लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षरलगायतका विवरण डिजिटल प्रणालीबाटै भरेर बचत खाता सहज तरिकाले खोल्न सक्नेछन् । कम्प्युटरमा दक्षता नभएका ग्राहकका लागि बैंककै कर्मचारीको सहयोगमा डिजिटल रुपमा खाता खोल्न सकिने व्यवस्था मिलाइएको छ । बैंकले देशभरका शाखा कार्यालयमा छुट्टै डिजिटल लबीको पनि व्यवस्था गरेको छ ।
नयाँ‑नयाँ प्रविधिलाई तत्काल आत्मसात् गर्दै आएको एनआईसी एसियाले आईसर्भ प्रणालीमार्फत सेवाग्राहीले घर वा अफिसबाट आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफूले चाहेको बैंकको खातामा नगद रकम जम्मा गर्ने भौचर भर्न मिल्ने अनलाइन प्रणाली पनि सुरु गरेको छ । यसबाहेक बैंकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई‑कमर्स दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि पनि अनलाइन प्रणाली आईसर्भमार्फत सेवा दिइरहेको छ ।
डिजिटल सर्भिसहरु डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता २२ लाख रहेको बैंकले जनाएको छ । सोही कारण पनि विद्युतीय भुक्तानी र डिजिटल सेवालाई परिष्कृत बनाउँदै लगिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए । बैंकले मोबाइल बैंकिङ वा कार्डहरूमार्फत कारोबार गर्दा छुट दिने गरी देशभरका २ हजार ५०० भन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतसँग सम्झौता गरेको छ ।
‘डिजिटल फर्स्ट’ बैंक बन्ने दीर्घकालीन लक्ष्य लिएको एनआईसी एसिया बैंकले कर्मचारी सञ्चय कोषसँग पनि समझदारी गरेको छ । कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले समझदारी गरिएको बैंकले जनाएको छ । यससँगै नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिएका ऋणीलाई सुविधाको निमित्त कर्जाबमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने भएको छ । जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन गरेका कर्मचारी सञ्चय कोषका ऋणीले नेपाल क्लियरिङ हाउसको वेबसाइट लगइन गरेपछि गभर्मेन्ट पेमेन्टमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।
त्यस्तै माछापुच्छ्रे बैंकले पनि कर्मचारी सञ्चय कोषका ऋणीले लिएको ऋणको साँवा तथा ब्याज कनेक्ट आईपीएसमार्फत भुक्तानीको व्यवस्था मिलाएको छ । सम्झौतासँगै जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीले कनेक्ट आईपीएस अनलाइन पोर्टलमा लग इन गरेपछि गभर्मेन्ट पेमेन्टअन्तर्गत सञ्चय कोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले स्थापना कालदेखि नै नयाँ‑नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याइरहेको छ ।
नेपालमा उन्नत बैंकिङ अभ्यास गरिरहेको नबिल बैंकले चेकबिना नै एक लाख रुपैयाँसम्म रकम झिक्न सकिने व्यवस्था मिलाएको छ । ग्राहकलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउन बैंकले ‘स्क्यान एन्ड विड्र’ सुविधा सुरु गरेको हो । यो सुविधाअन्तर्गत ग्राहकले चेक प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाखसम्म रकम झिक्न सक्नेछन् । काठमाडौं उपत्यकाका यो सेवा सुरु गरेको नविल बैंकले चाँडै देशभर सेवा विस्तार गर्ने प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनीकरण गर्न नयाँ सुविधा ल्याइएको उनले बताएका छन् ।
त्यस्तै लुम्बिनी विकास बैंकले पनि कोभिड–१९ को प्रभाव बढ्दै गएकाले सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न आग्रह गरेको छ । अन्य बैंकहरूले पनि इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकको प्रयोग गर्न, डेबिटरक्रेडिट कार्ड लिन तथा सुरक्षित कारोबारका लागि डिजिटल माध्यमहरू उपयोगमा ल्याउन ग्राहकलाई विभिन्न सुविधा दिएर आकर्षित गरिरहेका छन् ।
त्यसैगरी बिमा कम्पनीहरूले पनि विभिन्न बैंकहरूसँग सहकार्य गर्दै प्रिमियम तिर्नका लागि कार्यालयसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गरेका छन् । सेलकम प्रालिको सेलपे सेवासँग सहमति गरी महालक्ष्मी लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्सले घरबाटै प्रिमियमको डिजिटल भुक्तानी गर्न सकिने सुविधा दिएका छन् । सेलपे एप वा वेब एप्लिकेसन प्रयोग गरी दुवै कम्पनीका बिमितले प्रिमियम डिजिटल भुक्तानी गर्न सक्नेछन् । बैंक र बिमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता गरेर पनि ग्राहकलाई प्रविधिमैत्री सेवा सुविधा दिइँदै आएको छ ।
शाश्वत आचार्य काठमाडौं साउन १५, २०७७,न्यूजकारोबार