बुद्ध एयरको नेपालगन्ज-काठमाण्डौ भाडादर ४२ सय, कहिले होला उडान ?


काठमाडौं । बुद्ध एयरले सात क्षेत्रको हवाई भाडा सार्वजनिक गरेको छ । जुन भाडा अत्यन्त न्यून रहेको छ । चार महिना लामो लकडाउनपछि भदौ १ गतेबाट आन्तरिक उडान गर्ने सरकारी निर्णयसँगै बुद्धले भाडादर सार्वजनिक गरेको हो ।

सार्वजनिक यातायात भन्दा स्वास्थ्य सुरक्षाको हिसावले एयरलाइन्सहरुमा सुरक्षित हुने दाबी सहित बुद्धले नयाँ भाडादर सार्वजनिक गरेको हो । सबै यात्रुको पहुँच जहाजसम्म पुगोस भन्ने उद्धेश्यले भाडादर सार्वजनिक गरिएको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

‘संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौं , यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको छौं ,प्रबन्ध निर्देशक बस्नेतले भने, विदेशमा पनि यसैगरि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सुचारु भइसकेको छ ’।

कोभिड–१९ को महामारीको अवस्थामा पनि अति आवश्यक कारणले सर्वसाधारणहरु काठमाडौं तथा अन्यत्र आउजाउ तरकारी भ्यान, एम्बुलेन्स, ट्रक, बसमा कोचिएर मात्रै हैन, दशौं हजार रुपियाँ खर्च गर्न बाध्य छन ।


बुद्ध एयरले कोभिड–१९ विरुद्ध सुरक्षा निर्देशिका बनाई पूर्व अभ्यास गरिरहेको छ । हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाई, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ ।

यस्तो छ एकतर्फि हवाई भाडादर

विराटनगर ३ हजार, भैरहवा २ हजार ७००, नेपालगञ्ज ४ हजार २००, पोखरा १ हजार ९०० भद्रपुर ३ हजार ४००, जनकपुर २ हजार ७०० र धनगडी ५ हजार ४०० रहेको छ ।

हवाई यात्रामा हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाई कम्प्युटर सिस्टम पनि अपडेट गरिएको बताइएको छ । यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मितिः     7:41:02 AM  |