नेपालगन्ज २५ साउन : नेपालगन्ज उपमहानगरपालिकाको मुख्य बाक्लो बस्ती क्षेत्र चारै किल्ला शनिबार राती देखि सील गरिएको छ । आज विहाननै सिल गरिएको क्षेत्रमा सर्वसाधारणको पूर्ण रुपमा आवत जावत र घर बाहिर निस्कन रोक लगाइएको छ ।
बजार क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय प्रशासन मात्रै देखिन्छन । बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा व्याप्त देखिए पछि उपमहानगरपालिका क्षेत्रको घनाबस्ती क्षेत्रलाई सिल गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले श्राउन २४ गते राती १२ बजेदेखी श्रावण २७ गते राती १२ बजेसम्मका लागि नेपालगन्जका उपमहानगरका चारै किल्ला सील गर्ने निर्णय गरेको हो । त्यस अवधिमा नेपालगन्ज नगरभित्र स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शवबहान र दमकल बाहेकका सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाईएको छ । साथै हिडडुल तथा ब्यवसाय संचालनमा समेत पूर्णतया निषेध गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले सामाजिक सञ्जाल फेसबुकमा नागरिकको सुरक्षार्थ २४ घण्टा समय दिएर प्रशासन तथा सुरक्षाकर्मीले काम गरिरहेको उल्लेख गर्नु भएको छ । उहाँले अति आवश्यक काम परे आफ्नो र सुरक्षाकर्मीको फोन नम्बरमा नागरिकले सम्पर्क गर्न सक्ने समेत जानकारी दिनु भएको छ ।
सील गरिको क्षेत्र नेपालगन्जको सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखी गणेशमान चोक, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँकेगाँउ, बाँकेगाँउबाट रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म र नहरपुरुवा चोकदेखी बसपार्क हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको रहेको छ ।