पश्चिममा भाटभटेनीको अबको योजना : दाङ्ग, विरेन्द्रनगर र धनगढी पुग्ने


नेपालगन्ज २९ साउन : स्थापनाको लामो समयपछि पश्चिममा नेपालगन्जबाट पाइला टेकेको देशकै प्रमुख सुपरमार्केट भाटभटेनीले निकट भविष्यमै दाङ्ग, सुर्खेत र धनगढीमा आफ्नो शाखा बिस्तार गर्ने तयारी गरेको छ ।

गत फागुन १६ मा नेपालगन्जमा शुभारम्भ भएको भाटभटेनीले यहाँका सेवाग्राहीको मन जितेको छ । पश्चिमका कयौं सेवाग्राही यहाँ आउने गरेका छन् ।

हालको कर्णाली र सुदूरपश्चिमको राजधानीमा समेत चाँडै पुग्ने गरी भाटभटेनीले योजना बनाइरहेको छ ।

प्रदेश ५ को भैरहवा, बुटवल र नेपालगन्ज पछि दाङ्गमा शाखा बिस्तार गर्ने गरी आन्तरिक तयारी गरेको भाटभटेनी स्रोतले जनाएको छ । दांगको तुलसीपुर र घोराहीमा अध्ययन भइरहेको छ । तर प्राथमिकतामा तुलसीपुर छ । भाटभटेनीको स्थापनाले रोजगारीसंगै स्थानीय उत्पादनको बजारीकरण समेत गर्न सहयोग पुर्याउने छ ।


नेपालगन्ज शाखा उद्घाटनका क्रममा आएका अध्यक्ष मिनबहादुर गुरुङ्गले समेत पश्चिमका प्रमुख शहरमा शाखा बिस्तार गर्ने लक्ष्य रहेको सुनाएका थिए ।

‘दाङ्गको तुलसीपुर, बिरेन्द्रनगरको एयरपोर्ट र धनगढीमा जग्गा हेर्ने काम भइरहेको छ ।’ भाटभटेनी स्रोतले भन्यो –‘जग्गा खरिदको प्रक्रिया शुरु सम्पन्न केही समयमै हुन्छ ।’ लकडाउन लगायतका समस्या समाधान भए बाँकी काम शुरु हुने जानकारी दिदै स्रोतले भने–‘निकट भविष्यमै पहिला धनगढी, दाङ्ग अनि सुर्खेतमा भाटभटेनीको निर्माणको काम शुरु हुन्छ ।’

पश्चिममा थप शाखा बन्नु अघि काठमाण्डौ लगायत पूर्वी जिल्लामा अझै केही शाखा भने बन्ने छन् ।  त्यसपछि मात्र पश्चिमका शाखाहरुमा क्रमैसंग काम शुरु हुने छ ।  नेपालगन्जमा करिब एक लाख ४६ हजार वर्ग्फिफट क्षेत्रफलमा फैलिएको भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको व्यावस्थापनले जनाएको छ ।

यो स्टोर पछिल्लो पटक प्रदेश ५मै सञ्चालनमा आएका बुटवल र भैरहवा स्थित स्टोर भन्दा ठूलो रहेको स्टोरका रुपमा रहेको छ ।

प्रकाशित मितिः     8:41:54 AM  |