इतिहासकै पहिलो पटक बेलायतको अर्थतन्त्र गम्भीर मोडमा पुग्यो


बेलायतको अर्थतन्त्रले गम्भीर मोड लिएको छ । कोरोना भाइरसका कारण त्यहाँको अर्थतन्त्र अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २० दशमलव ४ प्रतिशतले खुम्चिएको छ । बेलायतको अर्थतन्त्र यतिठूलो स्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो । राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो तीन महीनामा अघिल्लो वर्षको सोही अवधिको तुलनमा महीनैपिच्छे २ दशमलव २ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको बताएको छ ।

यस्तो परिस्थितिमा बेलायतको अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको देखाएको छ । यूरोपका अरु मुलुकहरु खासगरी जर्मनी र फ्रान्स वा संयुक्तराज्य अमेरिकाको तुलनामा बेलायतको अथतन्त्र बढी नै संकुचित भएको छ ।

तर तथ्याँक कार्यालयले लकडाउनमा सहजीकरण गर्न थालेयता जुन महीनामा अर्थतन्त्रमा निकै सुधार आएको बताएको छ । कार्यालयका अनुसार जुन महीनामा बेलायती अर्थतन्त्र ८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । तथ्याँकशास्त्री जोनाथन अथोले जुनमा बेलायतका पसलहरु खुलेका, कारखानामा उत्पादन हुन थालेको तथा घर निर्माणका कार्यहरु पुनः शुरु भएको बताए ।

बेलायत सरकारले हाल बन्द अवस्थामा रहेका पब, रेष्टुराँहरु खोल्न थालिए अर्थतन्त्रमा व्यापक सुधार आउने बताएको छ । बेलायती अर्थमन्त्री रिशी सुनाकले कोरोना भाइरसको प्रभाव अझै देखिएकाले कठिन समय अझै बाँकी रहेको बताउँदै अहिल्यै १० औं हजारले रोजगारी गुमाएका र आगामी महीनामा त्यो संख्या अझ बढ्न सक्ने जानकारी दिए ।

जहाँसम्म, बेलायत सरकारले मजदूरको ज्याला भुक्तानीमा कम्पनीहरुलाई आर्थिक सहायता गरिरहेकाले पनि अर्थतन्त्रलाई पुनर्जीवन दिन सहज हुने बेलायती अर्थविज्ञहरुको ठम्याई छ । सरकारले झण्डै १२ लाख रोजगारदाताले कामबाट विदा दिएका झण्डै ९६ लाख मजदुरलाई तलबी आर्थिक सहायता दिइरहेको छ, र यो सहायता अंक करीब ४४ अर्ब डलर छ । एजेन्सीको सहयोगमा

प्रकाशित मितिः     ३० श्रावण २०७७, शुक्रबार ०७:२१  |