हाट आउँदाका ती दिनहरु


समय कति बलवान छ हगि !
कैयौं दिनहरूसम्म ढाकरमा गह्रौ भारी बोकेर जीवन चलाउनु पर्दाका ती पीडाहरू सम्झदा आफैंलाई सपनाजस्तो लाग्छ । अहिले समय निकै बदलिएको छ । वास्तवमा यसरी द्रुत गतिमा परिवर्तन भएको करिवकरिव १५ वर्ष जतिमात्र भयो ।
सामाजिक सञ्जालमा कहिंकतैको हटारुहरूको जीवन्त तस्वीर देख्दा निकै भावुक बन्न पुगें र नियाली नियाली हरें । हो यस्तो जीवन्त अनुभवको केही ससाना झिल्का मसँग पनि छन् ।
मेरो जन्मघर रुकुम पूर्व भुमे -९ चुन्वाङसम्म दाङको घोराहीदेखि मैले पनि ३ पटक पक्का हटारुकोरुपमा नुन बोक्ने स्थितिको सामना मैले पनि गरेको थिएँ । पटक पटक रोल्पाको लिवाङ्गबाट पनि नुन बोकेको थिएँ ।
हरेक पटक हटारु हुँदाका आ–आफ्नै विशिष्ट अनुभव छन् जसले बार बार पीडाबोध, आत्मगौरव, उत्साह, सङ्घर्षबोध र आत्मतुष्टी गर्ने आधार प्रदान गरिरहन्छन् । मेरा बुबा, हजुरबुबा, जिजुबुवाहरूको सङ्घर्षको कथा त कति थियो होला कति !
एक्काइसौं शदाब्दीको बच्चो मै फुच्चे नाथेको हटारु जीवनको जीवन्त अनुभव त कहालिलाग्दो झै लाग्छ भने उहाँहरूको पीडाको बारेमा आजका नवयुवालाई एकादेशको दन्त्यकथा झैं लाग्नसक्छ । हटारु जीवनका केही अनुभवमध्ये पहिलो अनुभवबारे कही लेख्न मन लाग्यो ।
कुरो २०५१ सालतिरको हो । त्यस समयमा पुसमाघको महिना पारेर पुरै गाउँका मानिसहरू मिलेर अलि बलिया, निरोगी, महिला पुरुष दाङमा आएर नुन, मट्टीतेल, सिध्रामाछा, परिवारका लागि लत्ता कपडा, कापिकिताव, कलम, चिनी, गुड लगायत अन्य आवश्यक सामग्री लैजाने चलन थियो । त्यसै गरी मृत्युमा बनाइने कात्रो, लामो बाटोलागि सेतो कपडाका थानहरू, विवाहका लागि आवश्यक लत्ताकपडा लगायतका यावत कुराहरू पनि यसै समयमा लगिन्थ्यो ।
पहिलो चोटीको नुन बोकाइ करले भन्दा पनि दाङ हेर्ने, बिजुली हेर्ने, बस, ट्याक्टर,साइकिल आदि कुराहरू हेर्ने रहरले म १४ वर्षकै उमेरमा गाउँटोलका अग्रजहरूसँग हटारु आएको थिएँ । बाबा र दाइहरूको सल्लाह अनुसार बोल्लो बाँधे र बाक्लो जुम्ली पटुका बाधें । कता कता आफूँलाई जवान भएको अनुभवले खुब कुत्कुत्यायो ।
आफ्नो पोषाक र जवानी देखेर आफैं मख्ख परें । भारी बोक्दा डोकोले ढाड नखुइल्याओस् भन्नका लागि बोल्लो र पटुका बाँध्नु परेको थियो । हाटमा आउँदा १० दिन जतिलाई पुग्ने गरी मकै भिजाएर भटमास मिसाई भुटेका खाजा प्रतिव्यक्ति करिव २ पाथी, आवश्यक मात्रामा मकैको पीठो, जौंको सातु, नुन, घिउ, बेसार, लसुन, सुकेकागाभा,सिन्की,करेला,केही ताजा मुला, साग आलु, दुखेको ठाउँमा लगाउने तेल आदि कुराहरू लिएर हाट आउनुपथ्र्यौ । त्यसै गरी पकाउने, खाने, पानी बोक्ने, चलाउने सबै सामग्री र ओढ्ने ओछ्याउने कपडा पनि सँगै लिएर आउनु पथ्र्यो ।
छिमेकीसँग सल्लाह गरेर ककसको सँगै भान्सा हुने, एउटै आछ्यानमा सुताइहुने आदि कुराको टुङ्गो लगाई सहकार्यमा सबै प्रकारका सामग्रीको तालमेल मिलाइन्थ्यो । हटारुले बोक्ने डोको पनि व्यवस्थित हुनुपथ्र्यो । काँध र टाउकोमा सँगै भार पर्ने गरी भारी बोक्न काँधका लागि डोकोमा खकन्नाको ब्यवस्था हुन्थ्यो अनि सामान नखसोस् भन्नका लागि जालीको व्यवस्था हुन्थ्यो र भारीलाई हलचन नहुने गरी बाँधेर राख्न डोकोको भित्रपट्टी काठका लामा लामा पाता पनि राखिएको हुन्थ्यो ।
बाटो लाग्नु भन्दा अगाडि नै राम्रो साइत हेरेर टेक्ने लट्ठी बाहिर आउने बाटोतिर राखिएको थियो । बाबाले हामीलाई आफ्ना विगतका अनुभव बताउँदै हर तवरले चुनौतीको सामना गर्नु पर्ने हिम्मत दिनुभयो ।
बाबाले विगतका दिनमा महिनौ सम्म सैयौं जङ्घार तर्दै, पहाड र भिरमा झुण्डिदै भोट, पाल्पा, बुटवल, नेपालगन्ज, कोइलाबास आदि ठाउँ बाट ठुला-ठुला भारी बोक्दाका जीवन्त अनुभव सुनाउनुु भयो र दाङबाट केवल ९/ १० दिनको अवधिमा सजिला बाटाहरूमा समूहमा नुन बोक्न पाउनु अहोभाग्य भएको बताउँदै आफुलाई संयमित राख्न सुझाव दिनुभयो । आवश्यक सबै कुराहरूको बन्दोबस्त गरेर हामी १९ जनाको हटारु समूह कलसबाट पानी मुखमा हाल्दै दाङतिर यात्रा ग¥यौं ।
पहिलो पटकको हटारु अनुभव साँच्चिकै निकै उत्साहपूर्ण थियो । पहिलो दिनको बसाइ घर्तीगाउँको एक रित्तो गाइगोठमा भयो । केही खाने आटोपीठो त्यहींको एउटा घरमा राख्यौं । त्यस समयमा दाङमा आइपुगुन्जेल खान पुग्ने खाद्यसामग्री मात्र लिने अरु बाटोमा पर्ने घरहरूमा फर्कदा लैजाने गरी राख्दै आउने गरिन्थ्यो ।
यो क्रम बाटोभरि निरन्तर चलिरह्यो । अर्कोदिनको बिहानको खाना व्याङ्गखोला देखि माथिको जङ्गलमा भयो । तरकारी पकाउँदा बाटोमा जे गर्छ घिउले गर्छ भन्दै अलि धेरै घिउ हालेको देख्दा अचम्मै लाग्यो । बाटोमा हिंड्दा केही छोटा र केही लामा लर्कन हुन्थे । करिब १ घण्टाका बिचमा गरिने लर्कनको बसाइ आधा घण्टा जति हुन्थ्यो । बिच बिचको लर्कनमा घरैबाट ल्याइएका खाजा,सातुहरू खायौं । दोस्रो दिनको वास भाङाबारीको एउटा खाली घरमा भयो । तेस्रो दिन घोराही आइपुग्यौं ।
पहिलो पटक बगालेमा साइकिल देख्ने अवसर मिल्यो । डोहाहरू भित्तामा टँसाएर धित मरुन्जेल साइकिल हे¥यौं र नयाँ प्रविधिदेखि छक्क प¥यौं । त्यतिबेला बगालेनिर डोजरले बाटो खन्दै थियो । पहिलो पटक डोजर देख्दा एक आपसमा हात समातासमात गरी गज्जबले हे¥यौं । नयाँबजारको आर्मी व्यारेक निर ट्याक्टर जाँदै थियो । सबैले ट्क्टर हेर्नका लागि आवाज सुन्ने वित्तिकै डोका बिसाएर पर्खेर बस्यौं । पहिलो पटक हाट आउने नयाँ हटारुलाई ‘उछिट्ट्रे’ भनिन्थ्यो । म लगाएत केही नयाँ ‘उछिट्ट्रे’ थियौं ।
हामीलाई बेलाबेलामा उल्लु बनाइन्थ्यो । त्यहाँ पहिलो पटक गाडि देख्नेले नमस्कार गर्नु पर्छ भनेकाले ट्याक्टरलाई नमस्कार पनि ग¥यौं । चौथौ दिन घोराही बजारमा (नयाँ बजार ढोक्कलको घरमा) बस्यौं । आवश्यक सबै सरसामान पनि किन्यौं । दाङ आए पछि एक छाक भात त खानै प¥यो नि भनेर भात पकाएर खायौं । पाँचौ दिनमा विहान ४ बजेतिरै फिर्ता बाटो लाग्यौं । मैले ३ नम्बरी नुन, १ नम्बरी चिनी, केही कापी,चप्पल, सिध्रामाछा, गुड, ५ लिटर तेल, पकाउने भाँडाकुँडा आदिको मोटामोटी ३५ के.जी.जतिको भारी बोकें । त्यस दिन बिहान दुइखोलीमा दाउरा खोजखाज गरेर ढिडो पकाएर खायौं । साँझको बसाइ खुमबासमा गाइको गोठमा भयो ।
छैठौं दिनको बिहानको खाना कागपानीमा दाउरा पानीको जोहो गरेर ग¥यौं । पानी तल गहिरामा भएकाले लिन निकै लामो समय लाग्यो । साँझको बसाइ टिटिमको एउटा ओडारमा गर्ने योजना थियो तर समूहका एक जना जल्दाबल्दा सदस्य टेक बहादुर ओलीले ऋचिसम्म पुग्ने भने पछि निकै भागदौडको यात्रा गर्नु प¥यो । साँझको निकै थाकेको बेलाको दौडादौडको यात्राले मलाई निकै कष्ट दियो । म निकै पछि परें र धुरु धुरु रुन थालें । समूहकी एक सदस्य नरु ओलीले (अहिले बुहारी नाता पर्छ) मेरो ५ के. जी. को चिनी बोकेर सघाउ पु¥याए पछि केही सहज भयो । हामी ऋचिमा नपुग्दै साँझको ७ बजिसकेको थियो ।
निकै अध्याँरो भए पछि अगाडि बढ्न सकिएन । बाल्नका लागि उज्यालो पनि केही थिएन । बाटोको एक खुला चौरमा बस्ने निधो ग¥यौं । दाउरा खोज्दा भेटिने स्थिति थिएन त्यसैले काचो सल्लाका हाँगा भाचेर आगो दन्कायौं र खाना पकाएर खायौं । थाकेको बेला छिट्टै निद्रा प¥यो र । बिहान उठ्दा शरीरभरि तुषारो परेको थियो । सातौं दिनमा त्यहाँबाट विहानै ४ बजेतिर छामछामछुमछुम गर्दै हिंडेर बिहानको खाना लोसेवाङ्गमा खायौं ।
अन्य समयमाखाजा,सातुहरू खाँदै त्यस दिनको साँझको बसाइ तार्केवाङ्गको ओडारमा भएको थियो । आठौं दिनमा विहानको खाना सिस्नेरी मा भयो र त्यसदिन घरमा पुग्दा रातको करिव ९ बजेको थियो । ओल्नो डाँडाबाट ‘उज्यालौ ल्याउ’ भन्दै कराए पछि सबैका परिवारका अन्य सदस्यहरु घरघरबाट लिन आउनुभयो र हाम्रो भारी पनि बोकिदिनु भयो ।
त्यतिबेला निकै ठुलो युद्ध जितेको जस्तो अनुभव भयो । घरमा पुग्दा पहिले साइत गर्दा खाएको कलसको पानी मुखमा हाल्दै भित्र पुग्यौं । साच्ची त्यो दीन आमा, बुबा, दिदी, भाउजूहरूको मुहारमा कति चमक आएको थियो जसको बखान शब्दमा गर्न सकिदैंन । सामाजिक सञ्जालमा फेला परेको हटारुको यो फोटोले मेरो विगत झल्झलि सम्झाइदियो । यस्तो अनुभव नभएका नयाँ पुस्तालाई सङ्क्षेपमा भोगेको हटारुको अनुभव सेयर गर्न खोजेको हुँ । यस्तै हटारुको जीवन्त अनुभव गर्ने मित्रहरू को को हुनुहुन्छ त ?

 


प्रकाशित मितिः     5:13:57 PM  |