कोरोना बिरुद्धको अभियानमा ‘फिल्ड’मा खटिए कोहलपुरका मेयर रावत


बाँके १ भदौ :  बाँकेमा नेपालगन्ज पछिको दोस्रो ठूलो शहर कोहलपुरमा यतिबेला यातायात र नाका प्रवेश निषेध सहितको लकडाउन कार्यान्वयन भइरहेको छ ।

समुदायस्तरमा कोरोना संक्रमित देखिए लगत्तै सर्वपक्षिय बैठकको निर्णयका आधारमा कोहलपुर नगरपालिकाले भदौ ५ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

घोषणा भएको लकडाउन कार्यान्वयन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी मात्र होइन स्वयं मेयर लुटबहादुर(एलबी) रावत मैदानमा खटिएका छन् ।

उमेरले ७२ पुगिसकेका भए पनि मेयर रावतले सुरक्षाकर्मीका अफिसरसंगै सोमवार कोहलपुरका बिभिन्न ठाउँमा लकडाउन कार्यान्वयनको अवस्था अनुगमन गरिरहेका थिए । लकडाउन मानेर घरमै बसेकालाई धन्यवाद दिइरहेका थिए भने कार्यान्वयन नगर्नेलाई कोरोना संक्रमणको संवेदनशिलताका विषयमा सम्झाउँथे ।

‘लकडाउन रहर होइन बाध्यता हो ।’ मेयर रावत भन्दै थिए –‘कोहलपुरवासीलाई संक्रमणको थप जोखिम नहोस् भन्ने उदेश्य राखेर यसो गर्न बाध्यता भयौं ।’

नगरवासीको ज्यान जोगाउन पहिलो प्राथमिकता भएको बताउँदै मेयर रावतले सामुहिक सहयोग प्राप्त भए मात्र यो जोखिम टार्न सकिने बताउँछन् । उनी भन्छन्–‘अवस्था सामान्य भए त सबैथोक पहिलेजस्तै सामान्य भइहाल्छ । अहिलेलाई भने यो संकटबाट मुक्ति पाउन केही दिनका लागि भए पनि घरमै बसौं ।’


नेपालगन्जमा समुदायस्तरमा कोरोना संक्रमण देखियो । बैंकदेखि अधिकांस सरकारी कार्यालयका कर्मचारी संक्रमित भएपछि निषेधाज्ञा मात्र होइन शहरका केही भागमा हिडडुल गर्न समेत नपाइने गरी सिल गरियो । सेना परिचालन गरी कडाईका साथ सिल कार्यान्वयन भए पछि संक्रमितको संख्या केही घटेको भने छ । तर जनजीवन सामान्य बन्दै गएको छ ।

नेपालगन्जमा अवस्था सामान्य बन्दै जाँदा कोहलपुरमा भने संक्रमणको दर बढ्यो । जसबाट मेयर रावत लगायत कोहलपुरबासी झस्किए । रावत भन्छन्–‘समुदायस्तरमै संक्रमित देखिएपछि हामी थप सचेत र सजग हुनुपरेको हो । भोलि पछुताउने अवस्था नआओस् भनेर लकडाउन गरेका हौं ।’

मेयर रावतको अध्यक्षतामा बसेको बैठकले गरेको लकडाउनको निर्णयका विषयमा भने निजीक्षेत्रको आपत्ती रह्यो । अनिश्चित कोरोना कहरलाई अब थेग्न नसकिने भन्दै कोहलपुर उद्योग वाणिज्य संघले औपचारिकरुमै लकडाउन निर्णयको बिरोध जनायो ।

तर आईतवार संघका पदाधिकारी र रावत सहित जनप्रतिनिधिबीचको वार्ताबाट लकडाउन कार्यान्वयनको सहमति बनेपछि समस्या समाधान भएको छ ।

मेयर रावत भन्छन्–‘अर्थतन्त्र धरासायी बनेकोप्रति म पनि जानकार छु । त्यसले मलाई पनि दुःखी बनाएको छ । तर समुदायमा थप अवस्था जटिल होस् भन्नका लागि लकडाउनको बिकल्प रहेन । बिस्तारै थप बिकल्पका बारेमा सोच्छौं ।’

 

प्रकाशित मितिः     2:41:24 PM  |