स्वास्थ्यकर्मीको मन छुने अनुभुती–‘झरीमा ओत लाग्ने ठाउँसम्म पाइएन’


कोरोना संकट बिरुद्धको अभियानमा स्वास्थ्यकर्मी लडाईका बेला खटिने सैनिक जस्तै भएका छन् । न दिन नत रात भनेर बिरामीको ज्यान बचाउन लागिपरेका छन् । अनेकन दुःखका बीच यो अभियानको एउटा सदस्य भएको नाताले मलाई गर्व लागेको छ ।

हामीलाई दुःख भएर के भयो त ? आखिर बिरामीको ज्यान जो जोगिएको छ । एउटा स्वास्थ्यकर्मीका लागि यो भन्दा खुसीको कुरा अरु के नै हुन सक्छ र ?

भोक प्यास नभेर पनि हामी स्वास्थयकर्मी आफ्नो काममा सक्रियतापूर्वक खटिएका छौं । तर यस्तो खटाइमा कहिले काँही हामीप्रति गरिने व्यवहारले मन खिन्न बनाउने रहेछ । त्यस्तै अनुभुती यहाँ साटासाट गर्दैछु ।

साँचिकै मन छोयो अनि नलेखी बस्न सकिन ।

चार जना साथीहरू कार्यालयकै कामको सिलसिलामा बजारबाट झन्डै ८ किलोमिटर पश्चिम कुनै ठाउँ गएका थियौं । काम सकिए पछि फर्किने बेला बीचमै ठूलो पानी पर्या । ओत लाग्नुको बिकल्प थिएन ।

हामी ओत लाग्ने ठाउँ खोज्दै थियौं । एउटा रुख भेटायौं तर त्यति ठूलो पानीको ओत धाम्न सकेन । हामीलाई पानीबाट जोगिन मुस्किल पर्यो । त्यतिकैमा एकजना सहकर्मी पानीबाट जोगिन नजिकैको एउटा घरमा जानु भयो, घरमा पुगेपछि पानीबाट जोगिन्छु भन्ने आशा सहित ।

तर बिडम्वना हामीले सोच्दै नसोचेको कुरा भयो । त्यहाँका घरधनीले बस्न दिएनन् । घरको बरन्डा मात्र होइन छज्दामा समेत बस्न नदिएपछि हामीलाई छाँगाबाट खसेझैं महसुस भयो । जीवनको नमिठो याद बन्ने गरी चोट पर्यो ।

हामीले आफ्नो परिचय दिदा समेत उनीहरुले झन् मानेनन् । तपाईहरु गइहाल्नुहोस् भनेर फर्काइदिए । यतिसम्म गरेपछि हामीले पनि जोरजर्बजस्ती गर्ने कुरा भएन । मन दुखाउँदै त्यति ठूलो पानीमा निर्थुक्क भिज्दै फेरी ओत लाग्न रुखमा आइपुगे । त्यसबेलासम्म हामी पुरै भिजिसकेका थियौं ।


हामीसंग भएका सबैथोक भिजिसकेका थिए । त्यसरी नै हामी नमिठो याद बोकेर नेपालगन्ज आएपुग्यौं ।
त्यस घटनाले मनमा अनेक कुरा खेलिरहे ।

अरुको जीवन बचाउन फिल्डमा खटिएका प्रति गरिने यस्ता व्यवहारले रातभर निद्रा लागेन । मनमा अनेक कुरा खेलिरहे । पेशा फेर्ने की ? अह ! हुँदैन अरुको जीवन बचाउने पेशा पो यो त हो । कसरी फेर्ने ? बरु खराव मनोबृत्ती

बोकेको सोच परिवर्तन गराउन पो लाग्ने की समाज ? सायद यो बिकल्प सबैभन्दा राम्रो होला ।

कुनै समय थियो बाटोमा हिडदै गर्दा गाउँका मान्छेहरूले आफुले नदेख्दा पनि डाक्टर साब,,डाक्टर साब आउनुहोस् ,बसौ न चिया पिउँ है डाक्टर साब भन्दै सम्मान गर्दा गर्वले छाती फुलेर आउथ्यो ।

साचिकै मैले त आफ्नो धर्म मात्र निभाएको हो । ठूलै काम गरेको होइन । तर पछिल्लो समय धेरे कुरा फेरिएको छ । अनि मन खिन्न बनाउँछ । तर पनि आमनागरिकको जीवन रक्षाको दायित्व सम्झेर हौसला बुलन्द बनाइरहेको छु ।

(शाही नेपालगन्ज उपमहानगरपालिकाका कार्यरत छन् ।)

 

प्रकाशित मितिः     2:32:12 PM  |