अस्ताए नेपालगन्जको जडिवुटी व्यवसायक्षेत्रका अगुवा यूनुस हल्वाई


नेपालगन्ज २ असोज :  नेपालगन्जमा जडिबुटी व्यवसायको जग बसाल्ने मध्येका एक पुराना व्यवसायी हाजी मोहमद यूनुस हल्वाईको निधन भएको छ ।

नेपालगन्ज–५ निवासी ६२ वर्षिय हल्वाईको निधनले व्यवसायीक क्षेत्रका अगुवा व्यक्ति गुमाएको नेपालगन्ज उद्योग वाणिज्य संघ र नेपाल जडिबुटी व्यवसायी संघले जनाएको छ ।

यूनुस जडिबुटी व्यवसायी संघका उपाध्यक्ष थिए भने नेपालगन्ज उद्योग वाणिज्य संघका साधारण सदस्य थिए । उनी लामो समयदेखि जडिबुटी व्यवसायमा संलग्न थिए । यसअघि उनले कोषाध्यक्षको समेत जिम्मेवार सम्हालिसकेका थिए ।

पाको उमेरसम्म पनि उनको व्यवसायीक सक्रियता थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले संयुक्तरुपमा बिज्ञप्ती प्रकाशित गरी शोक व्यक्त गरेका छन् ।


नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष एवं प्रदेश सांसद मोहमद याकुव अन्सारीले जडिबुटी व्यवसायमा हल्वाईले महत्वपूर्ण भूमिका निभाएको स्मरण गरे । त्यस्तै सामाजिक अगुवा एवं नेकपाका केन्द्रीय सदस्य मोहमद हारुनले व्यवसायीक र सामाजिक क्षेत्रका अगुवाको निधनले स्तब्ध बनाएको बताए ।

निमोनियाको समस्या भएपछि हल्वाईलाई नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । तर सोमवार राती नै उनको निधन भयो । मंगलवार धार्मिक बिधि अनुसारको उनको अन्त्येष्टि गरिएको छ ।

 

प्रकाशित मितिः     7:53:07 PM  |