सावधानी नअपनाएर चलाएका पसल बन्द


नेपालगन्ज ३ भदौ :  कोरोना भारइरस नियन्त्रणका लागि अनिवार्य गरिएको मास्क नलगाउने र जोर बिजोर प्रणाली उल्लंघन गर्ने १७ सयलाई बाँकेमा कारवाही गरिएको छ ।

त्यस्तै मास्क नलगाएर सन्चालन भएका पसल समेत बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोभिड १९ संकट व्यवस्थापन समिति बाँकेले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जिल्लाभरी मास्क लगाउन र जोर बिजोर प्रणाली अनुसार गाडी चलाउन अनिवार्य गरिए पनि सो को उल्लंघन बढ्दै गएपछि कारवाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी सुवास खड्काले मास्क नलगाउने र जोर विजोर अनुसार सवारी साधन नचलाउने १ हजार ६९० जनालाई कारवाही गरेर तीन लाख १९ हजार ७०० जरिवाना असुल गरिएको बताए ।

डीएसपी खड्काका अनुसार बाँकेमा हालसम्म मास्क नलगाउने ६९३ जनालाई कारवाही गरिएको छ भने जोर बिजोर उल्लंघन गर्ने ९९७ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले कारवाही शुरु गरिएपछि नेपालगञ्ज, कोहलपुर र राँझालगायतका ठाउँमा अधिकांश सर्वसाधारणले मास्क लगाउने गरेको र जोर बिजोर प्रणालीबाटै सवारी साधन चलाउन थालेको पाईएको बताए ।

उनका अनुसार स्थानीयले स्वास्थ्यसम्बन्धि सुरक्षा नअपनाई जताततै हिँड्डुल गरेको पाईएकाले मास्क नलगाउनेलाई एक सय रुपियाँ जरिवाना र जोर बिजोर अनुसार सवारी साधन नचलाउनेबाट पाँचसयदेखि हजार रुपियाँसम्म जरिवाना लिन थालिएपछि अवस्थामा सुधार आएको हो ।
यसैबीच, स्वास्थ्य सुरक्षा पालना गरेको नगरेको बारे अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयले एक टोली अहिले नेपालगञ्जमा परिचालन गरेको छ ।
सो टोलीले पसल पसलमा गएर मास्क नलगाएको वा सेनिटाइजर प्रयोग गरेको नपाएमा पसलमा तालाबन्दी गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले गत दुई दिनको अवधिमा स्वास्थ्य सुरक्षा नअपनाउने नेपालगञ्जका छवटा पसलमा तालाबन्दी गरिएको बताए ।
उनले पहिलो पटकमा एक दिनका लागि ताला लगाएर अर्को दिन खोलिने जनाउँदै दोस्रो पटक फेला परेमा सात दिनका लागि ताला लगाउने गरिएको बताए ।

प्रकाशित मितिः     ३ भाद्र २०७७, बुधबार १५:५२  |