नरैनापुरको एक्लो बैंकका म्यानेजर


खडकप्रसाद देवकोटा : शाखा प्रबन्धक, सनराईज बैंक, नरैनापुर शाखा

बाँके(नरैनापुर)  : खडकप्रसाद देवकोटाले बैकिङ्ग ‘क्यारियर’ शुरु गरेको ९ वर्ष भयो ।

शुरुका दिनमा माइक्रो फाइनान्समा काम गरे । बैकिंग क्यारियरमा फड्को मारेपछि सनराइज बैंकमा जोडिए ।

सोही बैंकमा देवकोटा अहिले शाखा प्रबन्धकको रुपमा कार्यरत छन् । यतिबेला उनले नरैनापुर गाउँपालिकामा बैंकिङ्ग सेवा दिने एक मात्र निजी बैक सम्हालिरहेका छन् ।

भारतसंग सिमा जोडिएको र सदरमुकाम नेपालगन्जबाट टाढा रहेको नरैनापुरमा नेपाली नोट समेत चल्दैन भनिन्थ्यो कुनै बेला ।  सदरमुकामदेखि पहुँच कम भएका कारण सबै कारोवार भारतसंग गर्नुपर्दा भारु चलाउनुपर्ने नागरिकको बेग्लै बाध्यता थियो ।

सडक जस्ता पूर्वाधारको अभावमा सदरमुकामको पहुँचबाट टाढा हुनुपरेपछि त्यहाँका सर्बसाधारणलाई भारतमै सबैथोकमा निर्भर हुनुपर्ने थियो । अहिले पूर्वाधार विकासले थोरै राहत भने मिलेको छ । । त्यस्तो ठाउँमा बैंक चलाउने कुरा जो कोही बैंक कर्मचारीका लागि कम्ता चुनौतीपूर्ण काम होइन  ।

देवकोटाले त्यो चुनौती सामाना गरेरै अहिलेसम्म बैंक हाँकिरहेका छन् । सबै कार्यालय ठप्प नहुँदासम्म कोरोनाको कहरकाबीच पनि उनले सेवा दिए ।। २०७४ माघ ७ गते नरैनापुर गाउँपालिकामा पहिलो पटक निजी बैंक लिएर उनी पुगे । जिल्लाकै सबैभन्दा बिकट गाउँमा राष्ट्रियस्तरको बैंक स्थापना भएको समाचारले चर्चा पायो ।

कोहलपुर निवासी देवकोटालेले बैंक सम्हालेको करिव अढार्ई वर्ष भएको छ । स्थानीयसंग घुलमिल गरेर बैंक हाँकिरहेका छन् । सोलारबाट आएको उर्जाले बैंक चलेको छ ।

काम चलाउँन भारु नोट लगेर गए

नरैनापुरका बारेमा देवकोटा जानकार थिए । त्यहाँ व्यवहारिकरुपमा नेपाली नोट चल्दैन भन्ने थाहा थियो । राज्यको पहुँचबाट टाढा भएका नरैनापुरबासी सामू भारु नोट चलाउनु बाहेक अर्को बिकल्प पनि थिएन ।

‘त्यहाँका जनताको बाध्यता मलाई पनि आईलाग्छ भनेर खर्च चलाउन २५ सय भारु लिएर आएको थिए ।’ देवकोटाले भने . नरैनापुरमा बैंक खोल्नु भन्दा पहिले बाटो,घाटो, उर्जा र इन्टरनेटको असुविधा थियो । सबैकोे सहकार्यमा यि पूर्वाधारको जोहो भएपछि बैंक खुल्यो । गाउँकाका अध्यक्ष र कार्यकारी प्रमुखले निकै सहयोग पुर्याएको देवकोटाले अनुभव सुनाए ।

बैंक खुल्यो । सरकारी काम सबै त्यही बैंकबाट हुने भयो । तर सरकारी कामले बैंक चल्ने कुरा भएन । आमनागरिकलाई पनि बैंकको पहुँचसम्म पुर्याउनै पर्ने जिम्मेवारी थियो, देवकोटालाई ।

‘यहाँ धेरै जसो बैंकको कारोवार नेपालगन्ज कित भारतमा गर्नुपर्ने बाध्यता रहेछ । सदरमुकाम आउनका लागि पनि पुरा दिन खर्च गर्नुपर्ने बाध्यता थियो ।’ देवकोटा भन्छन्,–‘गाउँमा आएको बैंकप्रति बिश्वास कम पाए ।’

नरैनापुरमा धेरै पहिले सरकारी बैंकको शाखा थियो । संकटकालसंगै त्यो सदरमुकाम सारियो ।  बैंक सार्नुको बाध्यता अर्कै भएपनि स्थानीयमा त्यसैले बैंकप्रति अविश्वास हुनु स्वभाविक जगाएको थियो ।

 

शहरमै बित्तिय साक्षरताको अभाव छ । झन् नरैनापुर जस्ता ग्रामिणक्षेत्रमा त्यसको अवस्था कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ ।  बैंकका बारेमा बुझाउन समय लाग्नु स्वभाविक नै हो ।

यसका लागि देवकोटाले निकै मेहेनत गर्नुपर्यो ।

बैंकका बारेमा बुझाउन घरघरमा पुगेर बित्तिय साक्षरताका बारेमा जानकारी गराए । सर्बसाधारणलाई खाता खोल्न प्रेरित गरे । भाग्ने बैंक होइन भनेर बिश्वास दिलाए ।

त्यसैको परिणाम आज बैंकमा सरकारी र व्यक्तिगत गरी ५५ सय खाता खुलेका छन् । बैंकमा भिड लाग्छ । बिदेश गएकालाई पैसा पठाउन सहज भएको छ । त्यसका लागि नेपालगन्ज र भारत धाउनुपर्ने बाध्यता हटेको छ ।

नेपाली नोटको प्रयोग बढेको देवकोटाले महसुस गरेका छन् । बैंक त्यसैपनि हरेक कुरामा संवेदनशिल हुन्छन । सामान्य हस्ताक्षर मिलेन भने पनि काम अघि बढ्दैन । नरैनापुरमा त्यस्तो समस्या नआएका होइनन् । ‘त्यस्तो अवस्थामा हामी आफैले चेकमा लेखिदिन्छौ । यो काम भएन भनेर फर्काइदिएर भो त ?’– देवकोटाले भने ।

सेवाग्राही आफन्त जस्ता

सामान्यतय बैंकका शाखा प्रबन्धक नै भएपनि सेवाग्राहीलाई सहजै भेट्न मुस्किल हुन्छ । देवकोटाको कोठामा सामान्य सेवाग्राहीपनि सहजै जान सक्छन् । भेट्न सक्छन् ।

खुलेर बैंकका बारेमा कुराकानी गर्न सक्छन् । एक हजार रुपैया लिएर आफ्नो खातामा जम्मा गर्नेहरुलाई बैंकमा स्वागत गरिन्छ । एकप्रकारले सेवाग्राही आफन्तजस्तो भएको महसुस त्यहाँका बैंक कर्मचारीले गरेका छन् ।

बैंकमा चारजना कर्मचारी छन् । सबैले कुनै झर्को नमानी सेवाग्राहीको काम गरिदिन्छन् । ‘शहरमा सेवाग्राहीसंग यस्तो सामिप्यता कहाँ हुन्छ र ?’ देवकोटा भन्छन्–‘गाउँमा असाध्यै माया पाइएको छ ।’

जसले अवधी सिके

कोहलपुरमा घर भएका देवकोटालाई अवधी भाषा आउदैनथ्यो । तर नरैनापुरमा बैंक सम्हालेपछि यति मिठो अवधी बोल्छन्, स्थानीय पनि चित खान्छन् । उनी सेवाग्राहीसंग अवधीमै चल्छन् । उनी भन्छन्,–‘त्यसो गर्दा सेवाग्राहीले बैंकप्रति अपनत्व महसुस गर्नुहुन्छ ।’

अन्यत्र ठाउँमा काम गर्ने बैंकका सहकर्मीहरु बिकटमा काम गर्दा दुःख र डर लाग्दैन भनेर देवकोटालाई सोध्छन् । तर देवकाटा जागिर मात्र नभएर बैंकको पहुँच नपुगेका सेवाग्राहीलाई बैंकका बारेमा बुझाउनुलाई सेवा गरेको रुपमा पनि बुझ्छन् ।

त्यसैले उनले डर र दुःख मान्ने कुरै भएन । उनी भलन्छन्,–‘नरैनापुर मेरो देशको भुभाग हो । त्यहाँका जनता नेपाली हुन । उनीहरुको सेवा गर्न पाउनु मेरो सौभाग्य हो । कोही न कोहीले यहाँ बैंक चलाउनैपथ्र्यो । मैले चलाउन पाए गौरब गर्छु ।’

सहयोगी नरैनापुरबासी

नरैनापुरका सर्बसाधारणले आफुलाई सहयोग गरेको देवकोटाले बताए । विकासको पहुँचबाट टाडा रहेका सर्बसाधारणलाई नयाँ काम गर्दा असजिलो लाग्नु स्वभाविक हो । त्यसमा बिस्तारै अभ्यस्त भइरहेका छन् । ‘नयाँ कुरामा अभ्यस्त बनाउन कुनै झर्को नमानी हामीले सहयोग गर्नुपर्छ’ देवकोटा भन्छन ।

 

प्रकाशित मितिः     ३ भाद्र २०७७, बुधबार १८:५२  |