काठमाडौं। नेपाल राष्ट्र बैंकले क्रिस्टल फाइनान्स लिमिटेडको लाइसेन्स खारेज गरेको छ। फाइनान्सलाई २०५८ फागुन ८ गते लाइसेन्स दिइएको थियो।
वित्तीय स्वास्थ्य बिग्रिएपछि नेपाल राष्ट्र बैंकले क्रिस्टल फाइनान्सलाई २०६९ असोजमा समस्याग्रस्त घोषणा गरेको थियो। खराब कर्जा बढेको र निक्षेपभन्दा बढी ऋण लगानी गरेका कारण वित्तीय अवस्था बिग्रिएपछि समस्याग्रस्त घोषणा गरिएको थियो।
यस बीचमा फाइनान्सबाट ऋण लिने, केही कर्मचारी, सञ्चालक र भ्यालुएटरलाई अदालतले कैद सजाय तोकेको थियो। कतिपय अझै जेलमा छन्।
समस्याग्रस्त हुँदा कम्पनीसँग ४९ करोड १३ लाख रुपैयाँ निक्षेप दायित्व थियो भने ८६ करोड ८० लाख रुपैयाँ ऋण उठाउनु पर्ने थियो। कम्पनीको चुक्ता पुँजी नौ करोड ४४ लाख रुपैयाँ थियो। थापाथलीमा कर्पोरेट कार्यालय रहेको कम्पनीको कुल ऋणमध्ये १५.८८ प्रतिशत उठ्न नसक्ने अवस्थामा पुगेको थियो।
कम्पनीमा कुनै सुधार नदेखिएपछि राष्ट्र बैंकले खारेज गर्ने निर्णय गरेको हो।