व्यवसाय विस्तारमा आक्रमक रिलायन्स लाइफ इन्स्योरेन्स आउँदो ३ वर्षमा यस्तो हुने छ


काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आक्रमक रुपमा जीवन बीमा व्यवसाय विस्तार गरेको छ । चालु आर्थिक वर्ष ०७७/०७८ मा नाफा १६१ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ ।

रिलायनस लाइफले चालु आर्थिक वर्षमा १० करोड ८१ लाख रुपैयाँ खुदनाफा हुने अनुमान गरेको छ । २०७७ असारसम्म कम्पनीले ४ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

यस्तै आगामी आर्थिक वर्ष ०७८/०७९ मा नाफा ७७.७९ प्रतिशत बढाएर १९ करोड २२ लाख रुपैयाँ पुग्ने उसको प्रक्षेपण छ । यस्तै आर्थिक वर्ष ०७९/०८० मा ३१ करोड ५६ लाख रुपैयाँ खुदनाफा गर्ने लक्ष्य कम्पनीको छ ।

कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको प्रक्षेपित वित्तीय विवरणमा चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५ रुपैयाँ १५ पैसा, आगामी वर्ष ९ रुपैयाँ १५ पैसा र ३ वर्षमा १५ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

यस्तै कुल प्रिमियम आर्जन चालु आर्थिक वर्षमा २ अर्ब ३६ करोड ९४ लाख, आगामी वर्ष ३ अर्ब ६० करोड २६ लाख र ३ वर्षमा बढेर ५ अर्ब १९ करोड १३ लाख रुपैयाँ हुने वित्तीय विवरणमा उल्लेख छ ।

कुल बीमाशुल्क आर्जन वृद्धिदर चालु वर्षमा ६८ आगामी वर्ष ५२ र तेस्रो वर्ष ४४ प्रतिशत बढ्ने अनुमान रिलायन्सले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । योसहित कम्पनीले जीवन बीमा बजार हिस्सा क्रमशः १.८६, २.०५ र २.२२ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

विगत वर्षहरुको अनुभव र भावी अनुमानको आधारमा बार्षिक ९.२६ प्रतिशत प्रतिफल दर हुने अपेक्षा गरी लगानीमा प्रतिफल दर गणना गरिएको रिलायन्सले जनाएको छ ।


यसरी गणना गर्दा लगानी तथा कर्जाको प्रक्षेपित भारीत औषत प्रतिफल आर्थिक वर्ष ०७७/०७८, आव२०७८/०७९ र आव२०७९/०८० मा क्रमशः ८.८८, ९.४५ र ९.४६ प्रतिशत हुने अनुमान छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा १५ वटा क्षेत्रीय कार्यालय/शाखा/उप–शाखा कार्यालय थप गरी जम्मा १०३ वटा र आव ०७९/०८० सम्ममा १३३ वटा सञ्जाल पुर्याउने लक्ष्य लिएको छ ।

कम्पनीको आ.व.२०७६/०७७ मा २ अर्ब ५७ करोड रुपैयाँ लगानी पुग्ने अनुमान गरेको छ । यसलाई वृद्धि गरी आव २०७९/०८० मा १० अर्ब १२ करोड रुपैयाँ पुर्याउने भएको छ ।

२०७४ मंसिर १ गतेदेखि व्यवसायिक रुपमा जीवन बीमाको कारोबार सुरु गरेको हो । रिलायन्सको आईपीओ निष्कासनपछि चुक्तापुँजी बढेर २ अर्ब १० करोड रुपैयाँ पुग्ने छ ।

रिलायन्सले सञ्चालनको पहिलो वर्षको ८ महिनामा ८ करोड ५० लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा आएर ७५ करोड र आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । कोरोना संक्रमणका बीचमा पनि रिलायन्सको वार्षिक जीवन बीमा व्यवसाय वृद्धि ३६ प्रतिशत बढेको छ ।

 

प्रकाशित मितिः     10:39:31 AM  |