यसपालीको तीज आइसोलेसनमै बित्यो


आज तीज अर्थात हिन्दु नारीहरुको महान पर्व ।

विडम्बना कोरोना संक्रमित भएपछि म आइसोलेसनमा छु । म जस्तै धेरै महिला दिदीबहिनीहरु विभिन्न आइसोलेसनमा हुनुहुन्छ । खासै कुनै लक्षण नदेखिएपनि स्वास्थ्य र सरकारले तोकेका नियमहरुलाई पालना गरेर यो उल्लासमय दिनमा पनि चुपचाप बन्द कोठा भित्र बस्न बाध्य छु । आफ्नो कारणले अरुलाई रोग नसरोस् भन्ने हामी सबैलाई लाग्छ ।

आफुलाई सम्हालेर शान्तपुर्ण तरिकाले बसिरहेका महिला दिदीबहिनीहरु माँझ सुचना पुर्याइन्छ की नेपाली महिला दिदीबहिनीको महान चाड तीजको सु-अवसरलाई मध्यनजर गरेर दस बाह्र दिन पूरा गरिसकेका र खासै अप्ठ्यारो अवस्था नभएका सबैलाई घर पठाउने निर्णय भएको छ । त्यसपछि शान्त तलाउमा तरंगहरु उठ्छन् ।

सबैले आआफ्नो घरमा फोन गर्छन् हामी तीजको दिनमा घर आउन पाउने भयौ भन्दै। सामानहरु प्याकिङ गर्छन् । एकान्त बासमा तड्पिएका मनहरु उज्याला हुन्छन् । खुसी साटासाट गर्छन् । घर जाने समयको व्यग्र प्रतीक्षा गरिरहेका सबै जना फेरि निराश हुन्छन् ।

सबैलाई रोक्यो रे । जान नदिने भयो रे । सबै निरास हुन्छन् । कति महिला दिदीबहिनीहरुका आँखामा आँशु टिलपिल भरिएका सहजै देखिन्थे । कोही भन्दै थिए पिसिआर टेष्ट गरेको दिनलाई गन्नुपर्ने । आज त मेरो १६ दिन भयो । हो, नि मेरो पनि १२ दिन भयो। १८ दिन भयो । पिसीआर चेक गरेको दिन देखि गन्नु पर्ने होइन र ? के हो मापदण्ड ?

कोही भन्दै थिए ,बिहे गरेको २२ बर्ष भयो अहिले साल नै यो पापी कोरोनाले हामीलाई छुटायो । कोही भन्थे – जान दिनु पर्ने १२ दिन भइसक्यो न त एक चक्की औषधी खाइएको छ न कुनै उपचार छ । न कुनै स्वास्थ्यकर्मी नजिक आएका छन् । आफैले जोहो गरेर खानुपर्ने तातोपानी टिमुर बेसार त घरमै बसेर पनि त खान सक्थ्यौ नि । दिनको हजार रुपैयाँ भन्न सुनेर सुरक्षित ठाउँ खोजेर यहाँ बसियो तर पछि त कुरा अर्कै रहेछ । कोरोनाले भन्दा पनि अन्तिम दिन तिर्नुपर्ने पैसाले चिन्तित बनाएको छ । यस्तै -यस्तै कुरा हुँदै थियोे ।

म पनि निराश हुन्छु । अरुको भावनासँग यसरी खेल्न कसैलाई पनि अधिकार छैन । सत्य तथ्य नबुझेर सुचना प्रवाह किन गरिन्छन् रु यहाँ जसले जे गरे पनि हुन्छ रु कतिपयले आलोचना गर्नुभएको छ । एसी रुममा बस्नेहरु पनि के रोगी ? रमाइलो गर्न गएको सम्म पनि भन्न सक्नुभयो । बाहिर बसेर बोल्ने जो कोहीलाई के थाहा ? एसी कोठा भित्रको छट्पटी । सरकारले बनाइदिएका पालभित्र के सुरक्षित छन् महिला दिदीबहिनीहरु ? अनेक हिंसात्मक घटना , मानसिक यातना सहनु परेको छ ।


देशको अर्थतन्त्र खस्किएको छ । ब्यापार ब्यवसाय छैन । सरकारले कर असुली गर्न अषाढ मसान्तसम्ममा लकडाउन खोल्छ । बैंकले ब्याज असुली गर्छ । आफु नाङ्गो भएर पनि बैंकको ब्याज तिर्न बाध्यता छ । हामीले तिरेको कर के का लागि ? हामी यो देशका हिस्सेदार हैनौ ? अर्बौं पैसा खर्च हुन्छ तर खै कोरोना रोगीलाई सुबिधा ? ट्वाइलेट जाँदा बीसजना लाइन लाग्नुपर्ने आइसोलेसनमा बस्नुको पीडा र एसी रुमको चार्ज तिर्नुको पीडा सायद एउटै होला । आफ्नो अस्तित्व र सुरक्षाको लागि सकभर राम्रो ठाउँ खोजेर बस्छ मान्छे । धनी भएर , प्रशस्त भएर कोही बसेको छैन । यो समयमा जो कोहीलाई पनि मुस्किल परेको छ ।

साना -साना किशोरी बालिकाहरु छन् कति आमाहरु हुनुहुन्छ । कति साना नानीसँगका आमाहरु हुनुहुन्छ । सबै जना खुला चौरमा पालमुनी बस्न सक्ने अवस्थाका छन् कि छैनन् ? कति दिन पस्नुभयो सम्बन्धित निकायहरु ती आइसोलेसनमा ? यी जनताहरुले अमुल्य मत दिएर कुर्सीमा पुर्याएका जन प्रतिनिधिहरुले खै आभाष गराएको ? कि हामी पनि यही देशका नागरिक हौ । रोगसँग पनि राजनीति जोड्ने कस्तो विडम्बना छ ? राहतका पोकामा पार्टीको नाम लेखेर प्रर्दशन गरिन्छ ।

विडम्बना सरकारले प्रशासनलाई प्रशासनले स्वास्थ्यलाई एकले अर्कोलाई सिकाउँछन् । के भइरहेको छ यो ? सर्वसाधारण जनताले सही सुचना पाउँन के के गर्नुपर्ने हो ? जनताले त्यत्रो सम्मान गरेर माथि पठाएका प्रमुखहरुले बुझ्नु पर्दैन सबैको पीडा ? हिजो म जस्ता धेरै जना ब्यक्तिहरु अनविज्ञ थियौँ । आज स्वयंलाई पर्दा बल्ल यो पीडालाई अनुभुत गर्न पाएको हुँ । राष्ट्रको ढुकुटीको करोडौं रकम खर्च भएको तथ्यांक सार्वजनिक गर्दै गर्दा के साँच्चै ती संक्रमितहरुले पाए त त्यो सुबिधा ?

कहाँ खर्च हुन्छ त्यो अरब खरब ? विषय गम्भीर छ । यदि आइसोलेसनको उचित ब्यवस्थापन गर्न सकिदैन भने घरमै बस्न दिनोस् । कित पिसिआर टेष्ट नै बन्द गराउँनोस् । बरु संक्रमितको घरलाई लक गर्नुस् । स्वास्थ्यकर्मीहरुसँग सम्पर्क गर्नसक्ने वातावरण मिलाउनुस् । जीवनको माया त सबैलाई छ नि ? ठूलो र प्रभुत्व भएको ब्यक्तिका शुभचिन्तक धेरै होलान् फरक यत्ति हो । तर एक जना साधारण ब्यक्तिको पनि त आफ्नै संसार हुन्छ । ठूला बडालाई जस्तो फुलमाला लिएर उभिएको भिड नभए पनि उसको पनि त घरमा पर्खेर बस्ने बा आमा छन् । सानासाना छोराछोरी छन् । श्रीमती दिदीबहिनीहरु छन् ।

उनिहरुका लागि ती पर्खेर बस्ने परिवारहरु के भगवान भन्दा कम होलान् र ? आफुहरु हात हल्लाउँदै जाँदाखेरी झ्यालबाट हेरेर घर सम्झिंदै तीज सम्झिँदै आँशु पुछ्दै बस्नेहरु पनि त छन् । म आफु एकजना ब्यक्तिले चाड मान्न पाएन भन्ने गुनासो होइन । हुनत आज म यहाँ बसेको पुरै चौध दिन भयो । आज सुन्दैछु । चौध पूरा गरेर पन्ध्रौं दिनमा बिदा दिन मिल्ने रे । ठीक छ यो नियम सबैलाई लागुहुनु पर्दैन ? अचम्ममा पर्छु । आँशु पुछ्दै गरेका केही दिदीबहिनीहरुलाई देख्छु । सबैलाई चुपचाप देख्छु ।

आँधी आउनु अघिको सन्नाटा जस्तो । निशब्द छु । कस्तो नीति हो यो ? म यो राज्यलाई कर तिर्ने नागरिक हुँ कि होइन ? सोचिरहन्छु । आइसोलेसनको बन्द कोठाको झ्यालबाट बाहिर चिहाउँछु । सधैं झै संसार सुन्दर देख्ने आँखालले किन किन जताततै धमिलो देख्छु । तीजको दिन भएर होला , सबैभन्दा बढी त्यो जीवन साथीलाई सम्झन्छु , जो हरेक बर्ष जहाँबाट भए पनि तीजको दिन घरमा आइपुग्थे । अनि हामी सँगै बसेर तीज मनाउँथ्यौ । फेरि नयाँ जीवन सुरु भएको कल्पना गर्थ्यौ । सँगसँगै सम्झनाको एउटा लहर हुरुरुरु । मनमा आउँछ।

आमा माबुवा सँगी साथी सबैलाई सम्झिरहेको छु । आइसोलेसनमा बस्ने सबै सबै नारीहरुका हृदयले सम्झेका छन् म त एउटा पात्र मात्रै हुँ जो लेखेर ब्यक्त गर्छु ।

प्रकाशित मितिः     2:20:45 PM  |