दोस्रो चरणको लकडाउनले प्राधिकरणलाई दैनिक ५ करोड घाटा


काठमाडौं। कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयहरूमार्फत जारी निषेधाज्ञाको असर विद्युतको खपतमा परेको छ। दोस्रो चरणको लकडाउनसँगै देशभरको दैनिक हुने विद्युत खपत २० प्रतिशतले घटेको छ।

दोस्रो चरणको लकडाउन अघि दैनिक दुई करोड ८० लाख युनिट विद्युत खपत हुने गरेकोमा पुनः लकडाउन भएसँगै विद्युत खपत दुई करोड ३० लाख युनिटमा सीमित भएको छ।

दैनिक विद्युत खपत ५० लाख युनिटले कम भएपछि नेपाल विद्युत प्राधिकरणलाई करिब ५ करोड रुपैयाँ बराबरको घाटा भइरहेको अधिकारीहरूले बताएका छन्।


शुक्रबार देशभर २३ हजार ३७८ मेगावाट आवर विद्युतीय ऊर्जाको माग भएको थियो। उक्त माग व्यवस्थापन गर्न विद्युत प्राधिकरणका आयोजनाबाट सात हजार ८२७ मेगावाट आवर, निजी क्षेत्रका आयोजनाबाट १२ हजार ८१९ मेगावाट आवर र भारतबाट दुई हजार ७०७ मेगावाट आवर विद्युत आपूर्ति गरिएको थियो।

२५ मेगावाट आवर विद्युत आपूर्तिमा अवरोध हुँदा भारत तर्फको निकासी समेत घटेर १५० मेगावाट आवरमा सिमित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

दोस्रो चरणको लकडाउन भएसँगै धेरै विद्युत खपत हुने काठमाडौं उपत्यका सहित प्रदेश र १, २ र ५ मा रहेका औद्योगिक क्षेत्र भित्रका उद्योग धन्दा पनि बन्द भएकाले विद्युत खपत घटेको प्राधिकरणले जनाएको छ।

प्रकाशित मितिः     8:51:39 PM  |