बाँकेका सडकमा हाईमाष्ट लाईट, प्राधिकरण भन्छ- सडक बत्तीको भुक्तानीको पनि चिन्ता गरौं


नेपालगन्ज ६ भदौ : बाँकेको नेपालगन्ज र कोहलपुरमा गरी हाईमाष्ट लाईटको संख्या ५२ वटा पुगेको छ । धेरै हाईमाष्ट जडान भइसकेका छन् भने केही बन्ने क्रममा छन् ।

स्मार्ट र रात्रीकालिन बजारलाई मध्यनजर गर्दै बाँके निर्वाचन क्षेत्र नंं. २ का संघीय सांसद मोहमद ईस्तियाक राई शहरी विकास मन्त्री भएका बेला हाईमाष्ट लाइटको टेण्डर आह्वान भएको थियो ।

जुन अहिले कार्यान्वयनको चरणमा रहेको छ ।

नेपालगन्जको जमुनाहा देखि कोहलपुरको हाईवे लगायत भित्री बाटोका चौकरचौराहमा जडान गर्ने कार्य भाइरहेको छ । शनिवार पूर्वमन्त्री राईले जमुनाहमा हाईमाष्ट लाइटको शिलान्यास गरे ।

आधुनिक शहरमा हाईमाष्ट लाईट निकै प्रभावकारी देखिन्छ । तर यसले विद्युत खपत भने बढाउँछ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले यस्तै चिन्ता व्यक्त गरेको छ । उसको चिन्ता हाईमाष्ट लाइट जोडेकोमा होइन त्यसरी राखिएका सडक बत्तीको बिल वापतको शुल्क कस्ले तिर्छ भन्नेमा रहेछ ।

प्राधिकरणको आफ्नो फेसबुकमा हाईमाष्ट लाइट शिलान्यास सम्बन्धी एउटा फोटो फोष्ट गर्दै प्राधिकरणले भनेको छ,-स्मार्ट सिटी तथा रात्रिकालीन समयमा शहर झिलमिल पार्ने काम अवश्य पनि राम्रो हो तर सडक बत्तीको बिल समेत सम्बन्धित निकायले बुझाएको भए अझ राम्रो हुने थियो की ? कारण विद्युत फ्री मा त आउँदैन नी । राज्यको सम्पत्तिलाई कुनै बहानामा दोहन गर्न मिल्दैन। तसर्थ, हामिसबै अहिलेदेखि नै यस विषयमा खबरदारी गर्नु जरुरी छ । प्राधिकरणका अनुसार सडक बत्तीको बिल स्थानीय तहले दिने गरेका छैनन् ।

प्रकाशित मितिः     ६ भाद्र २०७७, शनिबार २१:१५  |