वीरेन्द्रनगरमा निषेधाज्ञा ३ दिन थप


सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ गतेदेखि वीरेन्द्रनगरमा लगाएको निषेधाज्ञा ३ दिन थप गरेको छ । सोमवार बसेको कोभिड -१९ संकट व्यवस्थापन केन्द्रको बैठकले तेस्रो पटक निषेधाज्ञा तीन दिन थपेको हो ।

निषेधाज्ञा अव भदौ १२ गते राती १२ बजेसम्म हुनेछ ।
कोरोनाको संक्रमण दर बढ्दै गएको र चाडपर्वमा भीड बढी हुने भएकोले जोखिम बढ्ने भन्दै प्रशासनले भदौ १ गतेदेखि भदौ ५ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।

त्यसपछि दोस्रो पटक पुनः चार दिन थपेर भदौ ९ गतेसम्म निषेधाज्ञाको अवधि बढाइएको थियोभने सोमवार बैठक बसेर तेस्रो पटक तीन दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

यसैवीच सोमवार कर्णालीमा थप ५१ जना कोरोना संक्रमितहरु फेला परेका छन् । थप भएसँगै कर्णालीका कूल संक्रमितको संख्या दुई हजार २ सय ९५ पुगेको छ ।

सोमवार रुकुम पश्चिमका १८ जना, जाजरकोटका १५ जना, कालीकोटका ३, सुर्खेतका २, सल्यानका १ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

सोमवार १९ जना निको भएर घर फर्किएका छन् । यो सँगै कूल निको हुनेको संख्या एक हजार ९९२ जना पुगेको छ । अव कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या २९७ जना रहेको महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले बताए । कर्णालीमा ५१ हजार २४९ जनाको पिसिआर परीक्षण गरिएको छ

प्रकाशित मितिः     ८ भाद्र २०७७, सोमबार १७:३३  |