कोभिड नियन्त्रणका विषयमा मुख्यमन्त्री पोखरेलले सिडीओसंग छलफल गरे


नेपालगन्ज ८ भदौ : कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे सोमवार मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग एकीकृत भिडियो संवाद गरेका छन् ।

मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गर्ने कामबारे बताए  ।

एकीकृत भिडियो संवादमा मुख्यमन्त्रीले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन, पिसिआर परिक्षण र कन्ट्याक टे«सिङको काम प्रभावकारी बनाउन निर्देशन दिए । उनले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउनुपर्ने बताए ।

उनले भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न निर्देशन दिए ।


उनले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले श्रृजना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई अघि बढाउन आग्रह गरे ।

उनले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ,त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिए ।

प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत भएका काम र समस्या प्रस्तुत गर्नुभयो । साथै तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्रीलाई जानकारी गराए ।

प्रकाशित मितिः     6:45:13 PM  |