कपडाको अवैध कारोवारको श्रृखंला, २३ महिनामा नउठेको राजश्व कसरी एक महिनामै उठ्यो ?


नेपालगन्ज ९ भदौ :  मंगलवार बाँकेका प्रमुख जिल्ला अधिकारी(सिडीओ) रामबहादुर कुरुम्बाङ्गले सामाजिक सन्जालमा पोष्ट गरे–‘नेपालगन्जको आफ्नो २ बर्षको कार्यकालको २३ महिनामा कपडामा संकलन हुन नसकेको भन्सार महसुल साउनमा मात्रै ७ करोड संकलन भएको छ– भन्सार चिफ शान्तीराम निरौला ।’

सिडीओ पोष्टलाई कमेन्ट गर्नेहरुले यसअघि नेपालगन्ज नाका हुँदै कपडाको व्यापारमा अवैध हुने गरेको आशयका रुपमा बुझेका छन् । खुल्ला सीमाका कारण अवैधरुमा आयात निर्यात हुने गरेको कुरा नौंलो होइन ।

अवैध गतिविधिलाई प्रोत्साहन गर्ने गरेको घटना यसअघि पटक –पटक सार्वजनिक हुने गरेका थिए ।

क्यारियर मार्फत रुपैडियाबाट चोर नाका मात्र कहाँ हो र ? मुख्य नाकाबाटै कपडा भित्रिन्थ्यो । त्यसरी कपडा भित्रा्उने क्यारिएर कहिल्यै पक्राउ परिहाले भने पनि त्यो कपडा कुन तहसम्मका व्यवसायीको गोदाम पुग्थ्यो भन्ने कहिल्यै खुल्दैन थियो । यसरी नै अवैध धन्दाको चक्र चलिरहन्थ्यो । तर लकडाउन भएपछि अवैध गतिविधिमा आंशिकरुपमा घटेको पाइन्छ । कपडा जस्ता सामान मुख्य नाकाबाटै आउँदा भन्सार राजश्व बृद्धि भएको हो ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख  निरौलाले चुहावट नियन्त्रण भएपछि राजशव बढेको बताए । कच्चा पदार्थको आयात र चुहावट नियन्त्रण भएपछि गत साउन महिनाको राजश्व असुली पनि सन्तोषजनक भएको प्रमुख भन्सार अधिकृत शान्तीराम निरौलाले बताए । उनका अनुसार,९४ करोड लक्ष्य तोकिएकोमा रु १ अर्व ६८ करोड राजश्व संकलन भएको छ ।

यो १ सय ७७ प्रतिशत बढि हो । प्रमुख भन्सार अधिकृत निरौलाले उद्योग,कलकारखानासंग जोडिएका कच्चा पदार्थ आयात बढेको बताए । कच्चा पदार्थ आयात बढेपछि भन्सार राजश्व असुली बढेको हो ।

नाका बन्द भएका कारण अन्यत्र भन्दा मूल नाकाबाट सामाग्री आयात भएको छ ।

आईतवार जिल्लास्थित राजश्व चुहावट नियन्त्रण समितिको बैठकमा भन्सार प्रमुख निरौलाले राजश्व असुली सन्तोषजनक हुनुमा कर्मचारी, सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण भएको बताउँदै प्रशंसा गरे । बैठकले राजश्व चुहावट नियन्त्रण प्रभावकारी बनाउने निर्णय भएको छ ।

 

प्रकाशित मितिः     ९ भाद्र २०७७, मंगलवार ०८:४६  |