नेपालगन्ज ९ भदौ : बाँकेमा कोभिड–१९ विरुद्धको अभियानमा ‘फ्रन्टलाइन’ मा खटिदै आएका दुई जना चिकित्सकलाई कोरोना संक्रमण भएको छ ।
बरिष्ठ फिजिसियन डा. सांकेत रिसाल र डा. राजन पाण्डेलाई संक्रमण भएपछि आइसोलेसनमा बसेका छन् ।
दुवै जनाले सार्वजनिकरुपमै आफुलाई संक्रमण भएको र स्वास्थ्य अवस्थामा सामान्य रहेको जानकारी दिएका छन् । यि दुबै चिकित्सक सहित भेरीमा सोमवार अन्य दुई जना कर्मचारीमा कोरोना देखिएको थियो ।
भेरी अस्पतालका बरिष्ठ चिकित्सक रहेका दुबै जनाले बाँकेमा कोरोना बिरुद्धको अभियानमा रणनीति बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । डा. रिसाल कोरोना उपचारको फोकल पर्सन नै थिए ।
संक्रमण भएपछि मंगलवार बिहान डा. पाण्डेले सामाजिक सन्जालमा लेखे–‘ कोभिड–१९ को बिरामीहरुको उपचारमा रहदाँ म पनि यसबाट अछुतो रहन सकिन । मसँग गत एक हप्ताभित्र सम्पर्कमा आउनुहुने सम्पुर्ण ब्यक्तिहरुले कोभिड–१९ जाँचगर्नु होला । म स्वस्थ्य लाभ पछि प्लास्मा डोनेट गर्ने छु । मेरो ब्लड ग्रुप ए पोजिटिभ हो ।’