घरजग्गा किन्दा यसरी छान्नुहोस् एजेन्ट


घरजग्गा खरिद गर्दा कुन माध्यमबाट जानु उत्तम होला – डेभलपर, रियलटर वा व्यक्ति । यसको सही निर्णय गर्न सहज हुँदैन । तपाईंले खरिद गर्न चाहेको घरजग्गा र त्यसको विक्रेता को हो, त्यसमा यो निर्भर गर्छ । ‘रियलटर’ विक्रेता भएको अवस्थामा उसको प्रतिष्ठाको पृष्ठभूमिबारे केही जाँचबुझ गरेर राम्रो देखिए उसैमार्फत अघि बढ्नु सबैभन्दा उत्तम हुन्छ । यसको एउटा कारण,घरजग्गा खरिद गर्दा त्यसको भूक्तानीसम्म पुग्नुअघिका सम्पूर्ण कानूनी प्रक्रिया र त्यो कसबाट कहाँ कसरी गराउने भन्नबारे ऊ अभ्यस्त हुन्छ, जसले तपाईंको खरिद प्रक्रिया सहज हुनेछ ।

यदि विक्रेता ‘व्यक्ति’ भएको खण्डमा कारोबारको भुक्तानीसम्म पुग्नुअघि नै ‘ड्यु डेलिजेन्स’ आदिलगायतका प्रक्रियाका लागि राम्रो वकिल ‘हायर’ गरेर सेवा लिनुपर्ने हुन्छ । तत्कालका लागि यो सब गर्नु अनावश्यक खर्च जस्तो देखिएला । तर, दीर्घकालमा यसो गर्ने निर्णय बुद्धिमानी थियो भन्ने तपाईंलाई महसुस हुनेछ ।समग्रमा घरजग्गा खरिद गर्दा पारदर्शी रूपमा विश्वसनीय सेवा दिने व्यावसायिक एजेन्टमार्फत जानु नै सबैभन्दा उचित हुन्छ ।

कस्तो ब्रोकर रोज्ने ?

प्रविधिको विकाससँगै नेपालमा पनि पछिल्ला केही वर्षयता घरजग्गा किनबेच गर्ने व्यवस्थित माध्यम थुप्रै आएका छन् । खासगरी घरजग्गा कारोबारका मुख्य केन्द्र वा शहरहरु लक्षित गर्दै इन्टेरनेट ९वेबसाइट०को माध्यमबाट आफ्नो सेवाको जानकारी गराउने रियल इस्टेट एजेन्ट वा एजेन्सीहरु अहिले थुप्रै छन् हामीकहाँ । तथापि, यीमध्ये कुनै एकलाई ‘र्यान्डमली’ छनोट नगर्नुहोस् । त्यस्तो एजेन्ट रोज्नुहोस्, जो तपाईंले लगानी गर्न खोजिरहेको एरियासँग सम्बन्धित वा राम्रो जानकार होस् ।

कसरी गर्ने ब्रोकर छनोट ?

आफूले चाहेजस्तो घरजग्गा खरिदका लागि खोज्ने प्रक्रिया सकेसम्म सहज भैदिए हुन्थ्यो वा सजिलै त्यस्तो घरजग्गा फेला परे हुन्थ्यो भन्ने सबैको आकांक्षा हुन्छ । यसमा सघाउने सबैभन्दा भरपर्दो माध्यम तपाईंले छनोट गर्ने एजेन्ट नै हो, जो बजारसँग अद्यावधिक रहन्छ । त्यसैले एजेन्टबाट सकेसम्म धेरै घरजग्गाका प्रस्ताव प्राप्त गरेर सोको मूल्यांकन तथा विश्लेषण गरेर सबैभन्दा फाइदाजनक छनोट गर्नुहोस् । यसो गर्नुअघि केही कुरामा भने विचार पुर्याउनुपर्ने हुन्छ ।


जस्तोः एजेन्टको सेवा खरिद गर्नुअघि उसको बारेमा सकेसम्म धेरै जानकारी हासिल गर्ने । कसैसँग राम्रो एजेन्टका लागि रेफरेन्स माग्नुहोस् । परिवार, साथीभाइलाई पनि उनीहरुका लागि काम गरिसकेको कुनै राम्रो एजेन्ट भए त्यो सुझाउन भन्नुहोस् ।

सरकारबाट रियल इस्टेट एजेन्सी सेवा सञ्चालनको अनुमति नै लिएको संस्था भए तपाईंको आवश्यकताअनुसार सधैं वा आवश्यक परेको बेलामा तुरुन्तै सेवा दिनका लागि ऊ तत्पर हुन्छ÷हुँदैन भन्ने बुझ्नुहोस् । तपाईंसँग भनेअनुसारका सबै प्रतिबद्धताको लिखितमा सम्झौता गरेर सेवा दिन सक्छ सक्दैन सुनिश्चित गर्नुहोस् ।

एजेन्टलाई सुरु वा पेश्कीमै पैसा नदिनुहोस् । यसमा तपाईंलाई नोक्सान हुन सक्छ, यदि उक्त एजेन्टबाट घरजग्गा खरिद वा विक्री नगर्ने हुनुभयो भने ।

कति तिर्ने एजेन्टलाई कमिशन ?

नेपालमा व्यावसायिक रियलटर ९एजेन्ट० मार्फत घरजग्गा कारोबार गर्दा उनीहरुले लिने शुल्क सामान्यतया डिल रकमको ३ देखि ५ प्रतिशतसम्म रहेको छ । ठूलो परिमाण वा रकमको घरजग्गा किनबेचमा यो ३ प्रतिशतभन्दा कम पनि हुने गरेको पाइएको छ । तर, परम्परागत दलाल ९एजेन्ट० मार्फतको कारोबारको हकमा यी दर लागू नहुन पनि सक्छन् ।

परम्परागत एजेन्टमार्फत घरजग्गा कारोबार गर्दा त्यो लिखित प्रतिबद्धतासहितको र पारदर्शी नहुने भएकाले उनीहरुले लिएको शुल्क वा उनीहरुलाई तिरेको शुल्क देखिएजस्तो वास्तविक नहुने सम्भावना नकार्न सकिँदैन । तथापि परम्परागत एजेन्टको शुल्क दर पनि अहिले औसतमा करोबार रकमको ५ प्रतिशत चलेको छ ।

प्रकाशित मितिः     10:22:28 AM  |