विराटनगरको नोबेल शिक्षण अस्पतालको इमरजेन्सी विभागमा कार्यरत् प्यारामेडिक्ससहित ५५ नर्सले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले मंगलबार राजीनामा बुझाएको अस्पताल प्रशासनले स्वीकारेको छ।
व्यवस्थापनले आफ्नो सुरक्षाको भरपर्दो ग्यारेन्टी नगरेको गुनासो गर्दै आएका नर्सहरूले सामूहिक राजीनामा दिएका हुन्।
उनीहरूले कोरोना संक्रमणको जोखिम उच्च हुँदै आएको भन्दै सरकारले जारी गरेको हेल्थ प्रोटोकलअनुसार मात्र काममा खटाउन माग राख्दै आएका थिए।
तर, अस्पतालले उक्त प्रोटोकल पालना नगरी काममा लगाएका कारण राजीनामा दिन बाध्य भएको एक नर्सले बताइन्।
उनका अनुसार इमरजेन्सी विभागमा कार्यरत् धेरै नर्स अहिले कोरोना संक्रमित भएका छन्। उनीहरू विराटनगरमा कोठा भाडामा लिएर बसिरहेका छन्।
यस्तो बेला अस्पतालले सेल्फ आइसोलेसन बनाएर संक्रमित स्वास्थ्यकर्मीलाई राख्न सरकारले निर्देशन दिए पनि अस्पताल प्रशासनले त्यसो नगरेको उनीहरूको भनाइ छ।
राजीनामा दिएकी एक नर्सले भनिन्, ‘डेरामा बस्ने संक्रमित नर्सहरूलाई घरबेटीले नआउनु भनेपछि साथीकोमा झुटो बोलेर बसिरहेका छन्।’
उनले सरकाले जोखिम भत्ता उपलब्ध गराउनु भने पनि नोबेल प्रशासनले त्यसको कुनै सुनुवाइ नगरेको उनले बताइन्।
नर्सहरूले खाइपाइ आएको न्यूनतम् पारिश्रमिक समेत नदिएको गुनासो उनले गरिन्। भनिन्, ‘एक त नियमित तलब नै दिइएको छैन। झन् अहिले कोरानाको जोखिम ज्यान बाजी थापरेर काम गर्दा समेत जोखिम भत्ता नदिने। त्यसैले, काम छाड्ने बाध्यात्मक अवस्था आइलाग्यो।’
माग सम्बोधन नभए काममा नफर्किने उनीहरूको तयारी छ। अन्यन्तै न्यून पारिश्रमिकमा काम गरिरहेका नर्सहरूले यसअघि श्रमशोषण गरेको गुनासो गर्दै आएका थिए। तर, बोले जागिर जाने त्रासले भित्रभित्रै पिल्सिएर स्वास्थयकर्मीले काम गरिरहेको उनीहरूको भनाइ छ।
नोबेल व्यवस्थापनले भने स्वास्थ्यकर्मीको राजीनामा स्वीकृत गर्ने तयारी गरेको छ। अस्पताल प्रबन्धक नारायण दाहालले उनीहरूको राजीनामा स्वीकृत गर्ने तयारी गरिएको जानकारी दिए।
साथै, दाहालले व्यवस्थापनले चार हजारसम्म जोखिम भत्ता दिने तयारी गर्दासमेत उनीहरू आफ्नो मागबाट पछि नहटी कामै छाडेकोले कर्मचारीले गैरजिम्मेवारी प्रस्तुत गरेको आरोप लगाए। उनले व्यवस्थापनले कुनै पनि कर्मचारी र स्वास्थ्यकर्मीको श्रम शोषण नगरेको बताए।