स्कुलको जग्गामा मनोमानीस् खेलमैदान मासेर ‘माछा पोखरी’


बुटवल : बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलार स्थित नवरत्न मावि र स्थानिय वडा कार्यालयका पदाधिकारीको मनोमानी रुपमा काम गरेको भन्दै स्थानिय बासिन्दा बिरोधमा उत्रिएका छन् । विद्यालयको क्षेत्राधिकारभित्र रहेको खेलमैदान मासेर माछा पोखरी बनाउन थालेपछि स्थानियले बिरोध गरेका हुन् ।

विद्यालयको स्वामित्वमा रहेको जग्गामा एकलौटी निर्णय गर्दै काम अघि बढाएको स्थानियवासी केशब आचार्यको दाबी छ । ‘विद्यालयको जग्गामा पोखरी खन्दा त्यसले कस्तो असर गर्छ भन्ने कुरा नसोची काम अघि बढाउनु गलत हो ।’– उनले भने । वडाबाट गरिने सबै खाले विकासमा स्थानियलाई नसमेट्नु दुखद भएको उनले बताए । पटक पटक लिखित निवेदन दिदा समेत सुनुवाई नभएको भन्दै स्थानियहरु विरोधमा नै उत्रेको उनले बताए ।

पन्चायतकालिन समयमा सिचाईका लागि भन्दै पोखरी खनाईएको सो स्थानपछि खेलमैदानका रुपमा प्रयोग हुदै आएको स्थानिय जिवकान्त काफले बताउँछन् । तत्कालिन प्रधानपन्च दुर्गादत्त ढकालको अगुवाईमा मानव निर्मित सो पोखरी खेतीपाती कम हुदै गएपछि पुरिदै गएको उनले बताए । घरबस्ती विकास हुदै गएपछि सो क्षेत्रमा पोखरीभन्दा पनि खेलमैदान आवश्यकता रहेको उनले बताए ।

विसं. २०१८ सालमा विद्यालय स्थापना गरि शैक्षिक विकासका लागि समाजसेवी महेश्वर लाकौल र चिरन्जीवि भुषालले करीब १५ विगाहाभन्दा बढी क्षेत्रफल जग्गा हस्तान्तरण गरेका थिए । विद्यालय ब्यवस्थापन समितिले विद्यालय संचालनका लागि भन्दै पटकपटक गरि जग्गा बेचेको स्थानियको आरोप छ । पोखरी खनाएसंगै स्थानिय बासिन्दाहरुको घरमा पानी पसेर बेहाल भएको स्थानिय सुदिप घिमिरेले दुखेसो गरे । स्थानिय सहमती बिना गरिएको कुनै पनि काम स्वीकार नहुने उनले बताए । विद्यालय ब्यवस्थापन समितिबाट जग्गा किनेर घर बनाएका अर्जुनप्रसाद सापकोेटाले विकासको काममा स्थानियलाई सोधखोज नै नगर्ने परिपार्टी बढेको दुखेसो गरे ।

यता विद्यालयका प्रधानाध्यापक हेमराज आचार्यले सो स्थानमा पहिले ऐतिहासिक पोखरी रहेको बताए । अग्रेजको लडाईको पालामा हथियार लुकाईएको पोखरीलाई संरक्षण अघि बढाएको उनले दाबी गरे । विद्यालयको खाली रहेको जग्गालाई सदुपयोग गरेर थोरै भएपनि आम्दानी हुने गरि काम अघि बढाएको उनले दाबी गरे ।

गुरुयोजना बनाएर अघि बढाउने तयारी रहेको उनले बताए । केही समयअघि पानी काटेर खेल्ने मैदान बनाइएको सो क्षेत्रलाई पुनः पोखरी बनाउने काम थालिएको उनले बताए । करीब ५६ जना शिक्षकहरु रहेको विद्यालयमा आम्दानी श्रोत बढाउने रुपमा नगरपालिकाबाट प्रस्ताव पेश गर्न लगाएपछि काम गरेको उनले बताए । यसवर्ष क्रमागत बजेट अन्तरगत ३ लाख जतिको काम भएको उनले बताए । एक गाउ एक पोखरीको अवधारण योजनामा पारेर विकास गर्ने योजना रहेको उनले दाबी गरे ।

यता वडा नं। १५ का वडाअध्यक्ष डम्बर बहादुर भण्डारीले भने नगरपालिकाबाट पोखरीका लागि कुनै बजेट नपरेको बताए । पुरानो पोखरी रहेको सो स्थानमा स्कुलको सिफारिस माटो निकालिएको बताए । ‘पोखरी खनाउनकै लागि भने कुनै बजेट छैन ।’– उनले भने । वर्षाको कारण अहिले सो क्षेत्रमा कुनै काम नभएको उनले बताए । स्वस्तिक श्रेष्ठ/बुटवल टुडे

प्रकाशित मितिः     ११ भाद्र २०७७, बिहीबार ०८:२८  |